+
+
Shares

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पा सिमेन्ट इन्डस्ट्रिजले प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।
  • प्रभावित स्थानीयले माघ ९ देखि माघ २५ सम्म र वैदेशिक रोजगारमा रहेका पुस ३० देखि माघ ९ सम्म आवेदन दिन सक्नेछन्।
  • कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर सर्वसाधारणमा पनि निष्कासन गर्नेछ।

२५ पुस, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले शुक्रबारदेखि पहिलो चरणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रभावितका रुपमा उद्योग रहेको क्षेत्र नवलपरासी पश्चिम, खानी रहेको क्षेत्र पाल्पा, रुपन्देहीस्थित देवदह नगरपालिकाका स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलाएको हो ।

प्रभावित क्षेत्रका स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारमा रहेकालाई ५ लाख ६२ हजार ५ सय कित्ता सेयर खुलेको हो । दुवै पक्षले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

प्रभावित स्थानीयले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले छिटोमा पुस ३० गतेसम्म र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै प्रभावित स्थानीयले नबिल बैंकका तानसेन शाखा, बर्दघाट, गैंडाकोट शाखाबाट आवेदन दिन सक्नेछन् । प्रभु बैंकका पाल्पा शाखा, बर्दघाट शाखा, परासी शाखा, बेलतारी शाखा तथा सिद्धार्थ बैंकका पाल्पा शाखा, बर्दघाट शाखा र परासी शाखाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा यो सेयर निष्कासन गरेलगत्तै सर्वसाधारणका लागि खुलाउने छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ । अंकित मूल्य १ सयकै दरमा कम्पनीले आईपीओ जारी गर्नेछ । अंकित मूल्य १ सयमा सेयर जारी गर्ने यो नै एक मात्रै सिमेन्ट कम्पनी हो । हाल बजारमा ४ वटा सिमेन्ट कम्पनी सूचीकृत छन् ।

कस्तो छ कम्पनी ?

तानसेन ब्रान्डमा ओपीसी, पीपीसी तथा पीएससी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको यो कम्पनीले भारतमा निर्यात समेत गर्ने गरेको छ । दैनिक १ हजार ८ सय टन क्लिंकर र २ हजार २ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । नवलपरासीको सुनवलमा फ्याक्ट्री सञ्चालनमा छ ।

नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योग ।

कम्पनीको वित्तीय स्थिति मध्यम छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै २०८०/८१ मा ६ करोड ९८ लाख, २०७९/८० मा ३ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै २०८१/८२ मा वार्षिक प्रतिसेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ । कम्पनीको बिक्री आम्दानी तथा वित्तीय लागतले नाफालाई प्रभाव पार्दै आएको देखिन्छ ।

२०८१/८२ मा ४ अर्ब ११ करोड बिक्री आम्दानी गरेको कम्पनीले अघिल्ला चार वर्ष २०८०/८१ मा ४ अर्ब २२ करोड, २०७९/८० मा ४ अर्ब १२ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो । पछिल्लो समय बैंकको ब्याजदर घट्दा वित्तीय लागत घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा यस्तो लागत ५५ करोड ८४ लाख छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ६९ करोड ५२ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८१/८२ अन्त्यसम्म लामो अवधिको ऋण ५ अर्ब ६६ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ (पुनर्मूल्यांकन कोषबाहेक) ११९ रुपैयाँ छ । पुनर्मूल्यांकनसहित १३५ रुपैयाँ छ । १ अर्ब ७ करोड रुपैयाँ जगेडा कोषमा रहेको कम्पनीले जनाएको छ ।

साधारण लगानी फिर्ता अवधि ६ वर्ष ८ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता अवधि ९ वर्ष १२ महिना छ । कम्पनीमा २० प्रतिशत सेयर सर्वसाधारण समूहको रहनेछ भने ८० प्रतिशत संस्थापक समूहको छ ।

कम्पनीका अध्यक्ष राजेशकुमार अग्रवाल हुन् । उनले ३६.१२ प्रतिशत सेयर स्वामित्व लिएका छन् । त्यस्तै अर्का संस्थापक विष्णुकुमार अग्रवालले पनि ३६.१२ प्रतिशत स्वामित्व लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?