News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अटोमोबाइल्स एसोसिएसनले सन् २०२६ को पहिलो 'एक्सप्लोर द ट्रयाक' कार्यक्रम मद्रास इन्टरनेशनल रेसिङ सर्किटमा सुरु गरेको छ।
- नेपाली टोलीमा ११ उत्कृष्ट राइडर र दुई अफिसियलहरू छन्, जसलाई मोटर स्पोर्ट्स नेपाल क्लबले व्यवस्थापन गरेको छ।
- रेसिङमा इन्टरनेशनल मोटरसाइकल फेडेरेसन र मद्रास मोटर स्पोर्ट्स क्लबको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ।
२५ पुस, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गतको सन् २०२६ को पहिलो कार्यक्रम शुक्रबारदेखि मद्रास इन्टरनेशनल रेसिङ सर्किटमा शुरू भएको छ ।
मद्रास मोटर स्पोर्ट्स क्लबको विश्व स्तरीय रेसिङ सर्किटमा आफ्नो सीप देखाउन झण्डै एक दर्जन नेपाली राइडर बिहिबार साँझ चेन्नई पुगेको नासा नेपालले जनाएको छ ।
नेपाल रोड रेसिङ च्याम्पियनसिपका विजेतासहित नेपालका उत्कृष्ट ११ राइडर र दुई अफिसियल सहितको टोली चेन्नई गएको हो । नेपाली टोलीको व्यवस्थापन मोटर स्पोर्ट्स नेपाल क्लबले गरेको छ ।
सन् १९५२ मा दक्षिण भारतको मद्रास (हालको चेन्नई) सहरमा स्थापना गरिएको मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) को रेसिङ ट्रयाकमा ‘एमएमएफसी नेपाल टिभीएस रेसिङ’ रेस नामको इभेण्ट सुरु भएको छ ।
जसअन्तर्गत शुक्रबार ओरिन्टेसनको कार्यक्रम रहेको छ भने शनिबार प्राक्टिस तथा आईतबार फाइनल रेस आयोजना हुने नासा नेपालले जनाएको छ । उक्त इभेन्टमा डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरू सहभागी रहेका छन् ।
उनीहरूलाई इन्टरनेशनल मोटरसाइकल फेडेरेसन (एफआईएम) र मद्रास मोटर स्पोट्र्स क्लबको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
नेपाली राइडरहरूमा श्रीहरि पौडेल, राजकुमार कार्की, दिलिप दनुवार, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाई, अभिनव राज मल्ल जस्ता नेशनल र नोभिस क्याटागोरीका विजेताहरु यस टीम मा रहेका छन् । त्यस्तै, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल समेत गरी ११ राइडर तथा मोटर स्पोट्र्स नेपाल क्लबका निर्देशक विनोद तण्डुकार टिम मेनेजर र बागमति प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियल को रुपमा रहेकी छन् ।

जहाँ नेपाली राइडरहरूले रेसिङ् र सुरक्षा सम्बन्धी सिप, ज्ञान र अभ्याससँगं प्रतिस्पर्धामा समेत आफूलाई उतार्नेछन् । जसको नतिजा आईतबार सार्वजनिक हुनेछ ।
केही वर्ष अघिबाट शुरू गरिएको एक्प्लोर द ट्रयाक कार्यक्रमलाई अन्तर्राष्ट्रिय महासंघहरूबाट उच्च प्रशंसा गरिदै आएको छ । तर नेपालमा प्रोपर ट्रयाक नभएको अवस्थामा समेत नेपाली खेलाडीको क्षमता र आत्मविश्वास वृद्धिमा सहयोग पुर्याइरहेका छन् ।
यही पुष १० गते चितवनमा सम्पन्न नासा नेपालको एघारौँ साधारणसभाले समेत एक्प्लोर द ट्रयाक अन्तर्गत यस वर्ष ३ टिम लाई विश्वस्तरीय ट्रयाकमा सहभागी गराउने योजना पास गरेको छ ।
भारतीय मोटर स्पोट्र्स फेडेरेसन (एफएमएसीआई) नेशनल मोटरसाइकल रेसिङ् च्याम्पियनशिप अन्तर्गत जनवरी ८ देखि ११ सम्म होण्डा इन्डिया ट्यालेन्ट कप, पेट्रोनास टिभीएस इन्डिया वान मेक च्याम्पियनसिप कै दौरान ‘एमएमएफसी नेपाल टिभीएस रेसिङ’ रेस समेत आयोजना भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको रेसिङ नभएको हुँदा चेन्नईको भईरहेको यस ईभेन्टलाई नासा नेपालले राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको नासा नेपालले जनाएको छ ।
गत अक्टोबर ९ तारिखमा थाइल्याण्डको चिङ्गमाइमा सम्पन्न एफआईए एशिया प्यासीफिक कङ्ग्रेसका दौरान फेडेरेसन अफ मोटर स्पोट्र्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) का बोर्ड सदस्य तथा मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) का निर्देशक विक्की चान्धोक र नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली राईडरहरूको लागि चेन्नईमा रेसिङ सम्बन्धि सम्झौता गरेका थिए ।

प्रतिक्रिया 4