News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको पुरुष र महिला फुटसल टोली पहिलो पटक साफ फुटसल च्याम्पियनसिपमा जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा प्रतिस्पर्धा गर्नेछन्।
- पुरुष फुटसल टिमका प्रशिक्षक अनिल बहादुर गुरुङले नेपालले राम्रो नतिजा ल्याउने र इतिहास रच्ने लक्ष्य राखेको बताए।
- महिला फुटसल टिमका प्रशिक्षक विक्रम महर्जनले चुनौती स्वीकारेर राष्ट्रका लागि खेल्नुपर्ने र साफ फुटसलमा राम्रो प्रदर्शन गर्ने बताए।
२६ पुस, काठमाडौं । नेपालको फुटबल टोलीले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । पुरुष टोली एक पटक फाइनल पुग्नु नै ठूलो उपलब्धि बनेको छ भने महिला टोली बारम्बार फाइनल पुग्दा पनि सधैं उपविजेतामै सीमित हुँदै आएको छ ।
साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको पुरुष र महिला दुवै टोलीको लक्ष्य अझै कायम छ ।
यसै बेला दक्षिण एसियाली फुटबल महासंघ अर्थात साफले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गर्दैछ, थाइल्यान्डमा । त्यसमा नेपालको फुटसल टिमले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने र सकेसम्म उपाधि नै जित्ने लक्ष्य राखेको छ ।
पहिलो पटक हुन लागेको साफ फुटसल अनि त्यो पनि दक्षिण एसिया बाहिर । यसले सहभागी टिमलाई उत्साहित बनाएको छ नै महिला र पुरुषको प्रतियोगिता पनि एकै साथ हुँदा खेलाडीहरू पनि उत्साहित छन् ।
थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सात वटै राष्ट्रका पुरुष र महिला दुवै टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जनवरी १३ देखि २६ सम्म प्रतियोगिता हुँदैछ । महिला र पुरुषको खेलहरू एक दिन बिराएर हुनेछ । यस्तोमा हरेक टिमले एक दिन आराम पाउनेछन् र प्रशिक्षणका लागि समय पनि पाउनेछन् ।
सिंगल राउण्ड रोविनका आधारमा सञ्चालन हुने महिला र पुरुष दुवैतर्फ सहभागि टिमले एक आपसमा गरी ६-६ खेल खेल्नेछन् ।
लिग चरणको खेलपछि धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछन् ।
महिलातर्फ नेपालले जनवरी १३ मै पहिलो खेल श्रीलंकासँग खेल्नेछ । यस्तै पुरुषतर्फ भने नेपालले पहिलो खेल जनवरी १६ मा श्रीलंकासँग नै खेल्नेछ ।
च्याम्पियन बन्ने लक्ष्य
फुटबल टोलीले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न नसकिरहेको अवस्थामा फुटसलको महिला र पुरुष दुवै टोली पहिलो पटक हुन लागेको साफ फुटसल च्याम्पियनसिपमा ऐतिहासिक नतिजा ल्याउने लक्ष्यसहित थाइल्यान्ड जाँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाल टोलीलाई बिदाइ गर्दै राम्रो प्रदर्शन गर्न र इतिहास रच्न शुभकामना दिएको छ ।
पुरुष फुटसल टिमका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङले पहिलो पटक हुन लागेको प्रतियोगिता खेल्न सबै उत्साहित रहेको र राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । ‘पहिलो पटक हुन लागेको भएर सबै जना मोटिभेटे छन् । त्यहाँ नतिजा राम्रो ल्यायौं भने नेपालमा फुटसलमा नयाँ माहोल सिर्जना गर्छ । हामी राम्रो नतिजा ल्याउनेमा आशावादी पनि छौं’ शुक्रबार बिदाइमा गुरुङले भने ।

बिदाइ समारोहमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले पनि साफ फुटसल च्याम्पियन पहिलो पटक हुन लागेको र नेपाल च्याम्पियन बन्ने सम्भावना रहेको र बताए ।
प्रशिक्षक गुरुङले फुटसलमा भारत भन्दा नेपाल वरियतामा माथि रहेको र सबै उस्तै टिम रहेको बताए । ‘फुटसलको वरियतामा भारत भन्दा हामी माथि छौं । सबैको पृष्ठभूमी फुटबल नै छ । माल्दिभ्स, बंगलादेश र भारत नै मुख्य प्रतिस्पर्धी हो’ उनले भने ।
फिफा फुटसल वरियतामा पुरुषतर्फ माल्दिभ्स सबैभन्दा अगाडि १०९औं वरियतामा छ भने नेपाल ११४औं स्थानमा छ भने भारत १३३औं स्थानमा छ । यस्तै पाकिस्तान १३८औं र बंगलादेश १३९औं स्थानमा छ । भुटान र श्रीलंका वरियतामा छैन ।
नेपाल र थाइल्यान्डमा फुटसल खेल्ने फिल्ड देखि मौसम नै फरक रहेकोले त्यसमा केही चुनौती हुन सक्ने प्रशिक्षक गुरुङले बताए । ‘फरक पार्छ यहाँ जाडो महिना छ । उता ३०-३२ डिग्री हुन्छ । चुनौती भएपनि त्यसमा अवसर पनि छ ।’
एक दिन बिराएर खेल हुने भएकोले प्रशिक्षण गर्ने अवसर पाउने र खेलमा पनि खेलाडी सब्सिच्युट गर्दै खेल्न पाउने भएकोले त्यो राम्रो पक्ष रहेको उनले बताए ।
यसैगरी पुरुषतर्फका कप्तान विजय श्रेष्ठले यस पटक जिम्मेवारी थपिएको र नयाँ खेलाडीहरू पनि राम्रो रहेको बताए । ‘पहिलो पटक कप्तानको रुपमा छु । जिम्मेवारी थपिएको छ । नयाँ खेलाडीहरू पनि राम्रै छन्’ विजयले भने ।
यसअघि पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसल खेल्दै आएको थियो । तर पछिल्लो पटक भने एन्फाकै कमजोरीका कारण नेपालले एएफसी फुटसल च्याम्पियनसिप छनोट नखेल्दा एएफसीले जरिवाना नै लगाएको थियो ।

यसपटक प्रशिक्षक र खेलाडी सबैले राम्रो तयारी गरेको र च्याम्पियनसिपका लागि तयार रहेको कप्तान श्रेष्ठले बताए । ‘पुरानोबाट २-३ जना खेलाडी नेसनल फुटबल टिममा गयो । यस पटक नयाँ खेलाडीहरू छन् । यस प्रतियोगिताका लागि हामी तयार छौं’ उनले भने ।
पहिलो पटक हुन लागेको भएर उत्साहसँगै चुनौती पनि रहेको श्रेष्ठ बताउँछन् । तर यस प्रतियोगितामा राम्रो गर्न सके भविष्यमा राम्रो हुने उनको बुझाई छ । ‘चुनौती हुन्छ । नेपालमा कमै गेमहरू हुन्छ । अहिले नतिजा ल्याउन सक्यो भने यसले राम्रो हुन्छ पछि’ उनको भनाइ छ ।
महिलाको पहिलो फुटसल प्रतियोगिता
नेपालमा पछिल्लो समय फुटसलको क्रेज बढ्दै गएपनि महिलाको प्रतियोगिता धेरै हुन सकेको छैन । त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटसल टोली पहिलो पटक सहभागी हुँदैछ ।
दक्षिण एसियामा पनि महिला फुटसलको विकासका लागि भन्दै साफले पहिलो संस्करणमै पुरुष जस्तै महिलाको पनि सबै ७ टिमलाई नै सहभागी हुने माहोल बनाएको छ । जसले गर्दा सबै टिमले एकै साथ फुटसलमा आफ्नो यात्रा सुरु गर्न सकोस् भने साफको उदेश्य रहेको छ ।
नेपाली महिला फुटसल टिम पनि धेरै उत्साहित छन् । टोलीको प्रशिक्षकमा छन् एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी विक्रम महर्जन । उनले उमेर समूहमा नेपालका लागि धेरै खेल खेले । तर चोटका कारण त्यसलाई निरन्तरता दिन सकेनन् ।
हाल उनी सामु एउटा राम्रो अवसर आएको छ । पहिलो पटक हुन लागेको साफ महिला फुटबसलमा नेपाललाई च्याम्पियन बनाएर इतिहास रच्ने ।
‘यो जिम्मेवारी पाउँदा खुशी लागेको छ । युवाकालमा धेरै गरें । इन्जुरी हुँदै आफैँ उपचार गरें । अठोट लिएर यो ठाउँसम्म आएको छु’ विक्रम महर्जनले भने ।

महिला फुटसलको सुरुमा ट्रेनिङ केही गाह्रो भएपनि सबैले केही दिनपछि इन्जोए गरेर ट्रेनिङ गरेकोले अहिले राम्रो टिम बनेको महर्जनले बताए । ‘सुरुमा ट्रेनिङमा गाह्रो भएको थियो । तर त्यसपछि इन्जोएका साथ ट्रेनिङ गर्न थालें । अहिले फुटसलकै रुल अनुसार खेल्न सक्ने भएका छन्’ उनले भने ।
उनले चुनौती भएपनि त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने र राष्ट्रका लागि खेल्नुपर्ने बताए । ‘चुनौतीलाई स्वीकार गरेर नै अघि बढ्नुपर्छ । मैले बहिनीहरूलाई भन्दै आएको छु एकदमै मिहिनेत गर्नुपर्छ । राष्ट्रलाई सम्झेर मोटिभेट हुनुस् भनें । सबैका लागि यो नौलो हो’ उनले भने ।
महिला फुटसल टिममा फुटबल खेलेकै खेलाडीहरूको वर्चस्व छ । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका अनिता केसी, विमला चौधरी र सन्यास लिइसकेकी दीपा राई देखि अहिले उमेर समूहमा खेलिरहेका युवा खेलाडीहरू समावेश छन् । उनीहरूबाट नेपालले साफ फुटसल च्याम्पियनसिपमा राम्रो नतिजाको अपेक्षा राखेको छ ।
थाइल्यान्डमा प्रतियोगिता खेलेर आएपछि यसले नेपालमा राम्रो सन्देश दिने प्रशिक्षक महर्जन बताउँछन् । ‘उता खेलेर आएपछि यता आउने नयाँ खेलाडीका लागि पनि सिक्ने अवसर हुनेछ । यसले सकारात्मक सन्देश नै दिन्छ जस्तो लाग्छ । अहिले टोलटोलमा फुटसल विकास भएको छ’ उनले भने, ‘विशेषगरी महिलाहरूलाई अझ उत्साह हुन्छ । फुटसल खेल्नु स्वास्थयका लागि पनि राम्रो हुन्छ।’
फिफा फुसटल वरियता अनुसार महिलातर्फ दक्षिण एसियालमा बंगलादेश ४४औं र भारत ८६औं स्थानमा छ । नेपाल लगायत बाँकी राष्ट्र भने फुटसलको वरियतामा समावेश छैन ।
प्रतिक्रिया 4