News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनको नेतृत्वप्रति सलाम भनेका छन्।
- नेपाली कांग्रेसको विशेष महाधिवेशन थापा शर्माको अगुवाइमा बहुमत प्रतिनिधिको उपस्थितिमा आइतबारदेखि सुरु भएको छ।
- एमाले नेता टंक कार्कीले कांग्रेसको विशेष महाधिवेशनलाई समयानुकुल परिवर्तनको रूपमा अर्थ्याएका छन्।
२७ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सलाम भनेका छन् ।
आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने संस्थापनको निर्णयविरुद्ध विशेष महाधिवेशनको नेतृत्व गरेका थापा र शर्माप्रति सम्मान व्यक्त गर्दै भट्टराईले सलाम भनेका हुन् ।
‘हामीले बोल्यौं, केही गर्यौं, तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो, सलाम मित्रहरू’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
कांग्रेसको संस्थापन पक्षको धेराबन्दीका बाबजुद थापा शर्माको अगुवाइमा महाधिवेशनका बहुमत प्रतिनिधिको उपस्थितिमा आइतबारबाट कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ ।
जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएका थापाको यो अगुवाइको चौतर्फी प्रशंसा भइरहेको छ ।
भट्टराईले पनि जेनजी आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाएका थिए । एमालेले यहीबीच महाधिवेशन गरे पनि केपी ओली नै निर्वाचित भएका छन् ।
एमाले नेता टंक कार्कीले कांग्रेसको विशेष महाधिवेशनलाई समयानुकुल परिवर्तनको रूपमा अर्थ्याएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कांग्रेसले कम्तीमा समयको पदचाप महसुस गर्यो । संरचनात्मक सुधार मात्रै किन नहोस् । पुँजीवादीहरू सामन्तवादीभन्दा प्रगतिशील हुन्छन् भनेर त्यसै भनिएको होइन । समयको चाप नबुझ्नेहरू जडभरत नै हुन् ।’
प्रतिक्रिया 4