२९ पुस, नारायणगढ (चितवन) । खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् ।
विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी उनले भनिन्, ‘थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।’
ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छन् । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय छन् । चार-पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले
खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, ‘पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।’
सानैदेखि पेन्टिङप्रति रुचि राख्ने चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गरिन् । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् ।
‘आर्ट भनेको प्यासन हो’, उनले भनिन्, ‘यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।’ यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छन् ।
सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छन् । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ ।
चौधरीले भनिन्, ‘खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।’ सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ ।
खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।
प्रतिक्रिया 4