+
+
Shares

हिमाचलमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

सिद्ध कुमाखका वडाध्यक्षको दाबी- आगलागीमा ९ जना नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १२:४८
प्रतीकात्मक तस्वीर

२९ पुस, काठमाडौं । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विस्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी प्रकाश मल्लका अनुसार उक्त घटनामा केही नेपाली पनि परेको भन्ने सूचना आफूले पाएको र यसबारेमा भारतीय प्रहरीसँग समन्वयमा भइरहेको छ ।

आगलागीका उक्त घटनामा ३ जनाको शव फेला परेको छ भने अन्य ६ जना बेपत्ता छन् । घटनामा केही नेपाली र बिहारका मानिस परेको हुन सक्ने आशंका भारतीय अधिकारीहरूको छ ।

भारतस्थित नेपाली अधिकारीले घटनामा नेपाली पनि परेको हुन सक्ने बताइरहँदा सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का अध्यक्ष मेकबहादुर बुढाथोकीले आफ्नो पालिकाका नागरिक आगलागीको घटनामा परेको बताएका छन् ।

उनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो वडाका दुई परिवारका गरी ९ जनाको मृत्यु भइसकेको दाबी गरेका छन् ।

घटनास्थलबाट मृतकका आफन्तले यसबारे आफूहरूलाई मंगलबार बिहान खबर गरेको बताए ।

वडाध्यक्ष बुढाथोकीले घटनाप्रति दुःख व्यक्त गर्दै वडामा शोक विदा समेत दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घटनाबारे आफूहरूले सूचना पाएको र यसबारेमा सत्यतथ्य जानकारी लिन मृतकको घरमा प्रहरी टोली पुगेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?