News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि विभागले १ माघदेखि साताभरि ‘कृषि जैविक विविधता सप्ताह’ मनाउने तयारी गरेको छ।
- काठमाडौं भृकुटीमण्डपमा ‘कृषि जैविक विविधता एवं कृषि मेला’ आयोजना हुनेछ, जहाँ ८० भन्दा बढी स्टल रहनेछन्।
- नेपालमा करिब ४० प्रतिशत कृषि प्रजाति लोप हुने अवस्थामा पुगेका छन्, जसले खाद्य सुरक्षा र गरिब समुदायको जीविकोपार्जनमा जोखिम बढाएको छ।
२९ पुस, काठमाडौं । ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नारासाथ यस वर्षको चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८२’ मनाइने भएको छ ।
कृषि विभागले १ माघमा विशेष उत्सव सहित पहिलो साताभरि नै ‘कृषि जैविक विविधता सप्ताह’ का रूपमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेको हो ।
दिवस अवसर पारेर बिहीबार काठमाडौं भृकुटीमण्डपस्थित बगैँचा परिसरमा ‘कृषि जैविक विविधता एवं कृषि मेला’ आयोजना हुनेछ । विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार मेलामा ८० भन्दा बढी व्यावसायिक स्टल रहनेछन् ।
मेलामा विशेषगरी रैथाने वस्तु प्रदर्शनलाई प्राथमिकता दिइने छ । स्टलमा रैथाने खानाका परिकार र परम्परागत प्रविधि राखिने महानिर्देशक सन्जेलले जानकारी दिए । बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने मेलामा १० देखि १५ हजार सर्वसाधारणले अवलोकन गर्ने र करिब ३० देखि ५० लाख रुपैयाँ बराबर कारोबार हुने अपेक्षा गरिएको छ ।
महानिर्देशक सन्जेलले संघ, प्रदेश र स्थानीय तहसहित सरकारी तथा गैरसरकारी संस्था र निजी क्षेत्रलाई समेत परिचालन गरी दिवस मनाउने निर्णय भएको बताए ।
दिवस मनाउनुको मुख्य उद्देश्य जनमानसमा कृषि जैविक विविधताको महत्त्वबारे चेतना जगाइ यसको दिगो संरक्षण र उपयोगमा टेवा पुर्याउनु रहेको छ । साथै, तीनै तहका सरकारका विकास नीति तथा कार्यक्रममा कृषि जैविक विविधताका सवाल मूलप्रवाहीकरण गर्ने र रैथाने बाली तथा वस्तुको मूल्य शृङ्खला विकास गर्ने विषयलाई विभागले विशेष प्राथमिकतामा राखेको छ ।
जैविक विविधतामा जोखिम : ४० प्रतिशत प्रजाति लोप हुने अवस्थामा
जैविक विविधतामा विश्वको ४९औं स्थानमा पर्ने नेपालमा करिब २४ हजार जीवित प्रजाति छन्, जसमा कृषि क्षेत्रको योगदान एक तिहाइ छ । तर, पछिल्लो समय जलवायु परिवर्तन र आधुनिक खेती प्रणालीको नकारात्मक प्रभावका कारण नेपालका कृषि आनुवंशिक स्रोत (बाली, पशुपन्छी, मत्स्य आदि) संकटमा परेका छन् ।
तथ्यांक अनुसार करिब ४० प्रतिशत प्रजाति लोप भइसकेको वा लोप हुने अवस्थामा पुगेका छन् । यसले खाद्य सुरक्षा र गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जनमा जोखिम बढाएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
नेपालको संविधानले नै जैविक स्रोत संरक्षण र दिगो उपयोगलाई उच्च प्राथमिकता दिएको छ । सोही अनुरूप मन्त्रिपरिषद्को २७ भदौ २०७९ को निर्णय अनुसार हरेक वर्ष १ माघलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउन थालिएको हो ।
हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय जीन बैंकले ‘पर–स्थानीय संरक्षण’ विधि र कृषि विभाग अन्तर्गत केन्द्रले ‘स्व–स्थानीय संरक्षण’ का विधिमार्फत रैथाने बाली संरक्षण तथा प्रवर्द्धन गरिरहेका छन् ।
प्रतिक्रिया 4