२९ पुस, हेटौंडा । काठमाडौं–हेटौंडा जोड्ने छोटोमार्गबाट सवारीसाधन चलाउने १२ जना चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध सेवन गरेर सवारी चलाएको आरोपमा मंगलबार १२ जना चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
छोटोमार्ग (हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु)अन्तर्गत् भीमफेदी बजारमा १ सय १४ जना सवारी चालकको पिसाबबाट लागूऔषध सेवन गरे/नगरेको स्वास्थ्य परीक्षण गर्दा १२ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक सन्त श्रेष्ठकाअनुसार ७ जना टाटासुमोका चालक, ३ जना इभी भ्यानका चालक र २ जना मालबाहक साना सवारीका चालकले लागूऔषध सेवन गरेको भेटिएको हो ।
‘उनीहरुले के सेवन गरेको भनेर सबै खुलाएका छैनन । प्रायले गाँजा, कोरेक्सहरु सेवन गरेको हुन्छन् ।’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
१२ जना चालकमध्ये १० जना यात्रुबाहक सवारी चलाउने चालक रहनुले छोटोमार्गबाट चल्ने साना सवारीमाथि सुरक्षित यात्रामा प्रश्न खडा भएको छ । गत पुस २० गते मात्रै भीमफेदी गाउँपालिका–६ जुरिखेतको मोडबाट काठमाडौबाट हेटौंडा आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटासुमो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको थियो । ३ जना घाइते उपचाररत छन ।
घुमाउरो र साँघुरा सडकमा सवारी दुर्घटना बढेपछि मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, ईप्रका भिमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय र सवारी यान्त्रिक परिक्षण कार्यालय हेटौंडाले संयुक्त सवारी र चालकको परीक्षण गरेका थिए । भिमफेदी अस्पतालका चिकित्सक प्रबिण पाठकसहितको टोलीले चालकहरुको पिसाब परीक्षण गरेका हुन् ।
लापसे (लागूपदार्थ सेवन) परीक्षणको नतिजाले सडक सुरक्षामा गम्भीर चिन्ता देखिएको प्रहरी निरीक्षक श्रेष्ठ बताउँछन् । उनकाअनुसार केहि दिनअघि काठमाडौंतर्फ भएको लापसे परीक्षणमा पनि चालकहरुको रिपोर्ट पोजेटिभ देखिएको थियो । यसअघि हेटौंडा बजार क्षेत्रमा लापसे परीक्षण गरिँदै आए पनि छोटोमार्गमा गुड्ने सवारीका चालकमाथि पहिलो पटक भीमफेदीमा परीक्षण गरिएको उनको भनाइ छ ।
छोटोमार्ग भएर दैनिक १ हजार ५ सयदेखि २ हजारको संख्यामा सवारी काठमाडौं–हेटौंडा आवतजावत गरिरहेको इप्रका भीमफेदीले जनाएको छ । जसमध्ये अधिकांश यात्रुबाहक साना सवारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनकाअनुसार अनुमानित दैनिक १५ हजार देखि २० हजार यात्रु छोटोमार्ग भएर आवतजावत गर्ने गरेका छन् । तराईको सर्लाही, रौतहट, बारा, पर्सादेखिको साना सवारी पनि छोटोमार्ग भएर चल्ने गर्दछन् ।
प्रतिक्रिया 4