१९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेका हुन् ।
फिलिपिन्सको ब्युरो अफ इमिग्रेशन (बीआई) ले उनलाई नियन्त्रणमा लिइएको विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट जारी डिफ्युजन जारी भएको थियो । नेपाल प्रहरीको समेत अनुरोधपछि पाठकलाई नियन्त्रणमा लिइएको फिलिपिन्सको इमिग्रेशनले विज्ञप्तिमार्फत जनाएको छ ।
पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी इमिग्रेशनले गराएको छ । उनीमाथि निष्कासन (डिपोर्टेसन) प्रक्रिया सुरु गरिएको पनि बताइएको छ ।
पत्र र भिडियो सन्देशमार्फत उच्च पदस्थमाथि धम्की दिएको खुलेपछि प्रहरीले पाठकमाथि अनुसन्धान अघि बढाएको थियो ।
पाठक भने यसअघि चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस (क्रिमिलन रेकर्ड सिस्टम) जाँच गर्दा चार वटा कसुरमा मुद्दा चलेको खुलेको थियो ।
पाठकमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर) देखि ठगी तथा आपराधकि विश्वास, आपराधिक लाभसम्मको मुद्दा चलेको भेटिएको थियो ।
प्रतिक्रिया 4