अमेरिकाको कोलोराडोको ब्रुमफिल्ड सिटी र नेपालको ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र ब्रुमफिल सिटी मेयर गाइलिन क्याट्रिवटाले सोमबार भगिनी सम्बन्ध कायम सुरुवातबारे हस्ताक्षर गरेका छन् ।
ब्रुमफिल्ड सिटी काउन्सिल चेम्बर्समा कला सांस्कृतिक र प्रविधी आदान–प्रदान, आपसी सहयोग, सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइ दुवै सिटीका मेयरहरूले साझेदारीको पत्रमा हस्ताक्षर गरेका हुन् ।
ब्रुमफिल्ड नगरकी प्रमुख ग्यूलिन कास्त्रियोटाले ललितपुर महानगरसँग भगिनी सम्बन्ध स्थापित भएकोमा खुशी व्यक्त गरिन् ।
‘यो हाम्रा लागि खुशीको कुरा हो,’ उनले भनिन्, ‘भगिनी सम्बन्धले ब्रुमफिल्ड र ललितपुरलाई मात्र जोडेको छैन् । यसले नेपाल र अमेरिकालाई पनि जोडेको छ ।’
ललितपुर नगरपालिकाका प्रमुख महर्जनले ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गरेकोमा ब्रुमफिल्डकी प्रमुख कास्त्रियोटालाई धन्यवाद दिए ।
महर्जनले ललितपुरसँग भगिनी सम्बन्ध कायम हुने ब्रुमफिल्ड तेस्रो नगर भएको बताए । यसअघि रुस र कोरियाका नगरसँग भगिनी सम्बन्ध कायम भएको महर्जनले जानकारी दिए ।
कार्यक्रममा ब्रुमफिल सिटीका पदाधिकारी, ललितपुर महानगरपालिका जनप्रतिनिधि लगायत सहभागी थिए ।
कार्यक्रमको सुरुमा ललितपुर महानगरको वस्तुस्थिति झल्किने डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।
ब्रुमफिलको ललितपुर समेत विश्वका २ वटा सिटीहरूसँग भगिनी सम्बन्ध स्थापित भएको छ ।
यसअघि ब्रुमफिलले जापान स्थित यूईडीए शहरसँग सम्बन्ध भएको थियो ।
ललितपुरको भने, ब्रुमफिल समेत विश्वका ३ सिटीहरू कोरीयाको छेयरेन र रुसको युलान उडेसँग भगिनी सम्बन्ध स्थापना भएको छ ।
हस्ताक्षर कार्यक्रम पछि दुवै सिटीका मेयरहरूले एक आपसमा दुवै सिटीको झण्डा र उपहारहरू साटासाट गरेका थिए ।
प्रतिक्रिया 4