News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन निरज तामाङ ६-अन्डर ६४ को स्कोरमा शीर्षस्थानमा छन् ।
- टंक बहादुर कार्की र बलभद्र राई ३-अन्डर ६७ को स्कोरसहित संयुक्त दोस्रो स्थानमा रहेका छन् ।
- प्रतियोगितामा ३० व्यावसायिक र २२ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
३० पुस, धरान । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा छन्।
१८ होलको समाप्तीमा निरजले टंक बहादुर कार्की र बलभद्र राईमाथि ३ स्ट्रोकको अग्रता बनाएका छन् । ३-अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् ।
१-अन्डर ६९ को स्कोरमा दुई पुर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटी तथा दुई एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्मा संयुक्त रुपमा चौथो स्थानमा छन् ।
यस्तै इभन-पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तीमा संयुक्त रुपमा आठौं स्थानमा रहेका छन् ।
धरान गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन निरजले सानदार सुरूवात गर्ने क्रममा दोस्रो होलमा बोगी प्रहार गरे। यसपछि भने तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलतामा फ्रन्ट नाइन ३-अन्डर ३३ खेले । यसपछि १२औं, १३औं, १६औं र १८औं होलमा एक-एक सट बचाए। १५औं होलमा बोगी खेप्दै ब्याक नाइन ३-अन्डर ३१ मा सकाए ।
टंकले भने फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गर्ने क्रममा दोस्रो होलमा एक सेट खेर फाले। आठौं र नवौं होलमा लगातार दुई बर्डी प्रहार गरे। यसपछि १४औं र १८औं होलमा एक-एक सट बचाएका उनले ब्याक नाइन बोगीरहित २-अन्डर ३२ खेले ।
धरानका भेट्रान प्रो बलभद्रले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो र सातौं होलको बर्डीले २-अन्डर ३४ को नतिजा निकाले। १०औं होलमा बोगी प्रहार गर्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए ।
एमेच्योरतर्फ राहुल र प्रकृत १-अन्डर ६९ सहित संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । राम तामाङ १-ओभर ७१ सहित तेस्रो स्थानमा रहे ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष १८ स्थान सम्म रहने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका छन् ।
३६ होलको खेलपछि कट लागु हुनेछ। जसअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोहि कटमा पर्ने एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन् ।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन्। जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ । नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4