News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले आयोजना गर्ने राष्ट्रिय लिग फुटबलमा मोफसलबाट लालिगुराँस एसोसिएसन पहिलो पटक सहभागी हुँदैछ।
- पोखरा एभेन्जर्सले लालिगुराँसलाई विदेशी खेलाडी भित्र्याउन र टिम बलियो बनाउन सहयोग गर्नेछ।
- लालिगुराँसले माघ १ गते जावलाखेल युथ क्लबसँग पहिलो खेल खेल्दै स्थानिय खेलाडीलाई प्राथमिकता दिएको छ।
३० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित राष्ट्रिय लिग फुटबलमा मोफसलबाट प्रतिनिधित्व गर्न लागेको लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सले साथ दिएको छ ।
एन्फाको आयोजनामा यही पुस ३० गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा कूल १७ क्लब सहभागि छन् । जसमा कास्की जिल्लाको लालिगुराँस एसोसिएसनसँगै मोफसलका तीन क्लब छन् ।
लालिगुराँसले प्रेसिडेन्ट कपको च्याम्पियनको हैसियतमा राष्ट्रिय लिग खेल्दैछ । पहिलो पटक राष्ट्रिय लिगका सहभागि हुन लागेको लालिगुराँस उत्साहित छ । लालिगुराँससँगै चार क्लब एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।
पोखरा एभेन्जर्स र लालिगुरासँ दुवै एकै क्षेत्रको क्लब भएकोले फरक खेल भएपनि सहकार्य गरेको हो ।
पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली हो । पोखराले एनपीएलको पहिलो र दोस्रो दुवै संस्करणमा बलियो उपस्थिती जनाएको थियो ।
एनपीएल क्रिकेटमा समग्र गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्दै ग्रासरुट देखि नै क्रिकेटको विकासमा लागेको पोखरा एभेन्जर्सले फुटबल खेलको अर्को क्लब लालिगुराँस एसोसिएसनलाई पनि सहयोग गर्न लागेको हो ।
फरक खेल भएतापनि एकै क्षेत्रको क्लब भएकोले एकले अर्कोलाई सहयोग गर्नुपर्ने र सँग सँगै अगाडि बढ्नुपर्ने लक्ष्यका साथ सहकार्य गरेको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए । ‘हामी दुवै क्लब गण्डकी प्रदेश भित्रका हौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग मार्फत नेपालको क्रिकेट विकासमा योगदान दिइरहेको छ । लालिगुराँस एसोसिएसन पनि यही क्षेत्रको भएकोले हामीले सहयोग गरेका हौँ’ उनले भने, ‘हामीले क्रस स्पोर्ट्स कल्सर विकास गर्ने लक्ष्य अनुसार यो कदम चालिएको हो । ’
सहकार्य अनुसार लालिगुराँस एसोसिएसनले जर्सीको पछाडी भागमा जर्सी नम्बर मुनी पोखरा एभेन्जर्स लेखेर जर्सी लगाउने छ । पोखरा एभेन्जर्सले विशेषगरी विदेशी खेलाडीहरु भित्र्याउन र बलियो टिम निर्माण गर्न सहयोग गर्ने अध्यक्ष त्रिपाठीले जानकारी दिए ।
यस्तै लालिगुराँसलाई अहिले सुरुवाती सहयोग गरेको र आगामी दिनमा योजनाबद्ध तरिकाले अघि बढ्ने अध्यक्ष त्रिपाठीले जानकारी दिए । ‘दुई खेलबीचको सहकार्यको सुरुवात भएको छ र यसलाई दिर्घकालिन रणनैतिक रुपमा लालिगुराँसलाई सहयोग गर्दै अब फुटबलमा विकासमा पनि पोखरा एभेन्जर्सले आगामी दिनमा केही नयाँ गर्ने सोच बनाइरहेको छ ।’
लालिगुराँस एसोसिएसनका अध्यक्ष डम्बर गुरुङले पोखरा एभेन्जर्सको सहयोगले क्लबलाई धेरै मोटिभेट गरेको बताए । उनले मोफसलका क्लबहरुका लागि ३ महिना राजधानीमा गएर खेल्न कठिन हुने अवस्थामा यो साथले केही राहत हुने बताए ।
‘पहिलो पटक राष्ट्रिय लिग खेल्न पोखराबाट आएका हौँ । यसमा पोखराको टिम भयो सुबोध दाई पनि पोखराकै हुनुभएकोले सहयोग गर्नुभाछ । यसले टिमलाई एकदम मोटिभेट भाछ । सबै खेलाडीहरु हर्षित पनि भाछन् । क्लब पनि खुशी छन्,’ गुरुङले भने, ‘सबै जना मोटिभेट छन् । दाईजस्तो खेललाई माया गर्ने व्यक्ति पाछौँ ।उहाँहरुले खेललाई माया गर्नुभाछ । भविष्यमा पनि जोडिन सक्छौँ भन्नुभाछ ।’
लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा आफ्नो पहिलो खेल माघ १ गते ललितपुरको ए डिभिजन क्लब जावलाखेल युथ क्लब विरुद्ध खेल्दैछ । राष्ट्रिय लिग मार्फत लालिगुराँसले पनि राजधानीमा आएर शीर्ष श्रेणीको क्लबहरुसँग खेल्दै आफ्नो दरिलो उपस्थिती जनाउँदैछ ।
लालिगुराँसले पनि राष्ट्रिय लिग फुटबलमा स्थानिय खेलाडीहरुलाई नै बढी प्राथमिकता दिएको छ ।
यसअघि लिग खेलेको अनुभव भएका भिषण गुरुङ सँगै उमेर समूहमा राम थापा र लक्षु थापा मगरलाई टिममा समावेश गरेको लालिगुराँसले स्थानिय युवा खेलाडीहरुलाई नै अवसर दिन लागेको छ ।
यस्तै लालिगुराँसले राष्ट्रिय लिगका लागि तान्जानिया, टोगो र उज्वेकिस्तानका खेलाडीहरु अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । लालिगुराँस टिमले पोखरामा रहेर तीन साता तयारी गरेर काठमाडौं आइसकेको छ । टिममा सिनियर र जुनियर खेलाडीहरुको मिश्रण रहेकोले राम्रो प्रदर्शनको अपेक्षा छ ।
लालिगुराँसको मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ छन् । श्रेष्ठले राष्ट्रिय टिममा योहान कालिनको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् भने ए डिभिजन लिगका विभिन्न क्लबहरुमा पनि प्रशिक्षण सम्हालिसकेको अनुभव छ । अनुभवी प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा लालिगुरासँसले राष्ट्रिय लिगमा पनि राम्रो प्रदर्शन गर्दै मोफसलको क्लबको प्रतिष्ठा कायम राख्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4