+
+
Shares

स्पेनको ‘बुलफाइट’ बिर्साउने तारुकाको गोरु जुधाइ

पशु अधिकारकर्मीको विरोध

नुवाकोटको तारुकामा १३ हल गोरुको घम्साघम्सी हेर्न सयौँको ओइरो लाग्यो । खेतीपातीमा ट्रयाक्टर भित्रिए पनि माघेसंक्रान्तिको ‘सान’ जोगाउन यहाँका किसानले वर्षभरि खोले खुवाएर पालेका साँढे मैदानमा उतारेका छन् ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८२ माघ २ गते ९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित तारुकामा माघेसंक्रान्तिमा १३ हल गोरु जुधाइ मेला आयोजना गरिएको छ।
  • यो गोरु जुधाइ मेला २०० वर्षदेखि चल्दै आएको सांस्कृतिक परम्परा हो र लिच्छविकालदेखि यसको प्रमाण भेटिएको छ।
  • मेलामा विजेता गोरुधनीलाई १० हजार र हार्ने गोरुलाई ५ हजार रुपैयाँ पुरस्कार दिइन्छ । पशु अधिकारकर्मीहरूले भने यस प्रतियोगिताको विरोध गरेका छन्।

२ माघ, नुवाकोट । माघ १ गते पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशभरि थियो । घिउ, चाकु, तरुलजस्ता मीठामीठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित तारुकामा भने जिब्रोको स्वाद फेर्ने परम्परामा मात्र सीमित रहेन ।

यहाँ मौलिक शैली र संस्कृति बनिसकेको ‘गोरु जुधाइ मेला’ले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको ‘बुलफाइट’लाई समेत बिर्साउने गरी छुट्टै आकर्षण थपिदियो ।

सयौँ वर्षदेखि परिकारहरूको स्वादसँगै धुमधाम शैलीमा मनाइने गोरु जुधाइ मेला तारुकावासीको  पहिचान र संस्कृति बनिसकेको छ । सयौँ दर्शकका माझ यस वर्षको ‘बुलफाइट’ उत्सवमा १३ हल गोरु जुधाइएको छ ।

फराकिलो बारीको पाटोमा गाउँका अजङ्गका साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगिता २०० वर्षअघिदेखि चल्दै आएको स्थानीयहरू बताउँछन् । यो गोरु जुधाइ पर्व कुनै लहड वा आफूखुसी सुरु गरिएको नभई ऐतिहासिक महत्वको रहेको संस्कृतिविद् र इतिहासकारहरू बताउँछन् ।

इतिहासकार दिनेशराज पन्तका अनुसार नुवाकोटको शिलालेखमा उल्लेखित प्रमाणअनुसार यहाँ लिच्छविकालदेखि नै गोरु जुधाइको प्रचलन रहिआएको छ ।

स्थानीय कथाअनुसार १८८६ सालमा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह हाल गोरुजात्रा हुने स्थान (तारुका–५, चन्दनीस्थित मामाघर) आउँदा भान्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा सुरु गरेका थिए ।

उक्त दिन माघेसंक्रान्ति परेकाले त्यसै समयदेखि यो परम्पराको थालनी भएको स्थानीय बुढापाकाहरूको धारणा छ, जसलाई अहिलेको पुस्ताले पनि आफ्नो पहिचान मानेर निरन्तरता दिइरहेको छ ।

यो परम्परा अन्तत: वरपरका गाउँलेहरूका लागिसमेत मनोरञ्जनको माध्यम र ‘खेल जात्रा’का रूपमा स्थापित भएको छ । यसलाई हेर्न धादिङ, काठमाडौं, चितवन लगायतका जिल्लाबाट दर्शकहरूको ओइरो लाग्ने गर्छ ।

दशैं–तिहारजस्ता चाडपर्वमा घर नफर्कनेहरू पनि माघेसंक्रान्तिमा साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने गर्छन् । आफन्त तथा साथीभाइसँग भेटघाट र मेलमिलाप गर्ने अवसरका रूपमा समेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्त्व दिने मेला व्यवस्थापन समितिका अध्यक्ष सूर्यमान श्रेष्ठ बताउँछन्  । डेढ दशकअघिसम्म गाउँमै सीमित यो पर्वले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउन थालेको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ गोरु जुधाइको परम्परालाई अझ विकसित गर्दै आन्तरिक र खेल पर्यटनका रूपमा राज्यकै प्रयासमा विकास गर्नुपर्ने बताउँछन् । यस मौलिक पर्वलाई नेपाली पहिचानका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

गोरु पाल्ने तारुकेलीको अनौठो शैली

काठमाडौँमा बढ्दो राजनीतिक द्वन्द्वलाई यहाँको साँढे जुधाइसँग दाँज्न खप्पिस दर्शकहरूको भीडले तारुकाको नाङ्गो पाखा रङ्गीन बनेको थियो । ‘सिंहदरबारका साँढेहरूको जुधाइभन्दा त यो साँढे जुधाइ हेर्न पो मजा आउँछ,’ मैदानमा गोरु भिडिरहँदा उत्साहित दर्शकहरू व्यङ्ग्य गर्दै हाँसिरहेका देखिन्थे ।

गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता नाम गरेका साँढेहरू मैदानमा उत्रिन्छन् । त्यसका लागि एक महिनाअघि नै रिहर्सल गरिन्छ र सबैले आफ्ना बलवान् गोरु देखाउन ल्याउँछन् ।

कुन साँढे कुनसँग जुधाउने भन्ने कुरा उमेर र आकार (साइज) का आधारमा निर्क्यौल गरिन्छ । छरितो ज्यान र पुटुस्स परेको जुरो भएका गोरुहरूलाई जुध्नका लागि विशेष छनौट गरिन्छ । पोहोर साल जुधेर स्वाद थाहा पाइसकेका साँढेको हुँकार त झन् हेर्न लायक हुन्छ ।

धुलो उडाउँदै बडेमानका साँढेहरू जुध्दा दर्शकहरूको ताली र हुटिङले माहोल थप रोमाञ्चक बन्छ । जुधेका दुईमध्ये जुन गोरु पहिला भाग्छ, उसैले हारेको र अर्को पक्षले जितेको ठहरिन्छ ।

यस प्रतियोगितामा मोटा र बलिया बहरहरू कहिलेकाहीँ लगातार एक घण्टासम्म भिड्ने गर्छन् । विजेता गोरुधनीलाई १० हजार र हार्नेलाई पनि प्रोत्साहनस्वरूप ५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

आफू खोले खाएर गोरुलाई पोषिलो आहार

स्थानीय किसानहरू आफू रुखोसुखो खाएर भए पनि गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले र मकैजस्ता पोसिला एवं प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । वडा नं. ३ का कृषक रोशन अधिकारीले आफ्नो चिल्लो साँढे देखाउँदै भने, ‘आफूले खोले खाएर भए पनि यसलाई माघेसंक्रान्तिमा जुधाउनकै लागि मीठो–मसिनु खुवाएर पालेको हुँ ।’ माघेसंक्रान्तिको हारजितलाई उनीहरू आफ्नो इज्जत र प्रतिष्ठासँग जोडेर हेर्ने गर्छन् ।

स्थानीय मदन श्रेष्ठका अनुसार उनका जिजुबुबाकै पालादेखि यो परम्परा सुरु भएको हो र उनी आफैँ पनि विगत ३५ वर्षदेखि निरन्तर सहभागी भइरहेका छन् । ‘जयपृथ्वीबहादुर सिंहलाई रमाइलो गराउन मेरो जिजुबुबाले पहिलोपटक गोरु भिडाउन सुरु गर्नुभएको थियो,’ श्रेष्ठ भन्छन्, ‘पछि यो परम्परा र प्रतियोगिताकै रूपमा विकास भयो । मेरो हजुरबुबा र बुबाले सम्हाल्दै आएको यो बिँडो अहिले मैले थामिरहेको छु ।’

हिजोआज खेतीपातीमा ट्रयाक्टरको प्रयोग बढ्दो छ, तर यहाँका कृषकहरू वर्षमा एक दिन माघेसंक्रान्तिमा जुधाउनकै लागि सौखका रूपमा गोरु पाल्छन् ।

तारुकामा हुने गोरुजात्रा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरञ्जनको उत्कृष्ट गन्तव्य बन्न सक्ने गाउँपालिका अध्यक्ष अधिकारीको दाबी छ । स्थानीय तह गठन भएपछि यसको प्रवर्द्धनमा विशेष ध्यान दिइएको उनले बताए ।

पशु अधिकारकर्मीको विरोध

सञ्चार माध्यमहरूले प्राथमिकता दिन थालेपछि यो जात्रामा दर्शकको रौनक बढेको छ । खेल पर्यटनका रूपमा विकास हुँदै गरेको यो पर्व नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन, मकवानपुर र काठमाडौँवासीका लागि अनिवार्य गन्तव्य जस्तै बनेको छ ।

पशु अधिकारकर्मीहरूले पनि मनोरञ्जनका लागि अबोध पशुहरूलाई जुधाउने परम्पराको विरोध गर्ने गरेका छन् ।

पहिले अव्यवस्थित रूपमा हुने जुधाइलाई अहिले व्यवस्थित बनाइएको स्थानीय नेता राजेन्द्र न्यौपाने बताउँछन् । यस मेलालाई हरेक वर्ष नेपाल पर्यटन बोर्ड र तारकेश्वर गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?