+
+
Shares
राष्ट्रिय भूकम्प सुरक्षा दिवस :

भूकम्पसम्बन्धी जान्नैपर्ने ८ जिज्ञासा र जवाफ

नेपालका ८० प्रतिशतभन्दा बढी भवनहरू भूकम्प प्रतिरोधी छैनन्। त्यसैले पश्चिमा मुलुकको जस्तो ‘टेबलमुनि लुक्ने’ नियम सबै अवस्थामा लागू नहुन सक्छ।

डा. शिव सुवेदी डा. शिव सुवेदी
२०८२ माघ २ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै भूकम्पसम्बन्धी ज्ञान र चेतना फैलाउने प्रयास गर्छ।
  • नेपालमा भूकम्पको मुख्य कारण इन्डियन र तिब्बती प्लेटको घर्षण हो, जसलाई वैज्ञानिक भाषामा 'मेन हिमालयन थ्रस्ट' भनिन्छ।
  • २०७२ सालको गोरखा भूकम्पले ठूलो भूकम्प जुनसुकै बेला र ठाउँमा आउन सक्ने र भूकम्प पूर्व-चेतावनी प्रणाली आवश्यक हुने देखायो।

हरेक वर्ष माघ २ गते नेपाल सरकारले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँछ। यसको मुख्य उद्देश्य भूकम्पसम्बन्धी ज्ञान र चेतना जनस्तरमा पुर्‍याउनु हो। निश्चित स्थानमा गरिने यस्ता कार्यक्रमले केही हजार मानिस मात्र लाभान्वित होलान्, तर वैज्ञानिकहरूको अध्ययनले देखाएअनुसार नेपालमा ८ म्याग्निच्युडभन्दा ठूलो भूकम्प आउने हो भने हाम्रो कल्पनाबाहिरको क्षति हुन सक्छ।

आज पनि नेपालका कुनै स्कुल, कलेज वा विश्वविद्यालयमा भूकम्पबारे विशेष अध्ययन अध्यापन हुँदैन। नेपालमा भएका थोरै संख्याका भूकम्पविद्हरू पनि विदेशमा पढेर फर्किएका हुन्। धेरै जनतालाई भूकम्पबारे बुझ्न, तयारी गर्न र भविष्यमा हुन सक्ने मानवीय जोखिम न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने हेतुले यहाँ धेरै सोधिने प्रश्न र तिनका वैज्ञानिक कारणहरू उल्लेख गरिएको छ।

. नेपालमा भूकम्प जानुको कारण के हो?

आजभन्दा ७ करोड वर्षअघि हालको नेपाल रहेको स्थानमा इन्डियन प्लेट र युरासियन प्लेटको बीचमा समुद्र थियो। इन्डियन प्लेट हरेक वर्ष निश्चित गतिले उत्तरतिर सर्दै आउँदा करिब ५ करोड वर्षअघि युरासियन प्लेटसँग ठोकियो। यसरी दुई प्लेट ठोकिँदा माथिल्लो भागका चट्टानहरू खुम्चिएर सगरमाथाजस्ता हिमालहरू बने भने गहिराइमा इन्डियन प्लेट युरासियन प्लेटमुनि घुस्रिन थाल्यो।

हिमालयको साथसाथै अर्को सानो प्लेट पनि उत्तरतिर बन्यो, जसलाई हामी तिब्बती प्लेट भन्छौँ। नेपालको जमिनमुनि इन्डियन प्लेट र तिब्बती प्लेटको घर्षण बिन्दु छ, जुन भूकम्पको प्रमुख स्रोत हो। वैज्ञानिक भाषामा यसलाई ‘मेन हिमालयन थ्रस्ट’ भनिन्छ। नेपालमा जाने सबैजसो भूकम्पको मुख्य कारण यिनै दुई प्लेटको घर्षण हो।

. के कारणले टेक्टोनिक प्लेटहरू सर्छन्?

टेक्टोनिक प्लेटहरूको चाल भौतिक विज्ञानको ताप प्रसारणको सिद्धान्तअनुसार हुने गर्दछ। जहाँ बढी तापक्रम (कम घनत्व) भएका परमाणुहरू माथि आउन खोज्छन् भने कम तापक्रम (बढी घनत्व) भएका परमाणुहरू तल जान खोज्छन्। उदाहरणका लागि, कुनै भाँडोमा पानी तताउँदा तातो पानी तलबाट माथि आउँछ र माथिको चिसो पानी तल जान्छ।

पृथ्वीको केन्द्रको तापक्रम करिब ६,००० डिग्री सेल्सियस छ भने सतहको तापक्रम करिब २०–३० डिग्री सेल्सियस मात्र छ। यो तापक्रमको ठूलो भिन्नता टेक्टोनिक प्लेटको गतिको लागि पर्याप्त छ। प्लेट सर्ने प्रक्रिया अत्यन्तै सुस्त हुन्छ तर यो लाखौँ वर्षदेखि निरन्तर भइरहेको छ। यही प्रक्रियाबाट पृथ्वीको सतहको वर्तमान स्वरूप बनेको हो।

. गोरखा भूकम्पले हामीलाई के सिकायो?

२०७२ सालको गोरखा भूकम्प भूकम्पविद्हरूका लागि अपेक्षित क्षेत्रमा थिएन; उनीहरूले देशको पश्चिमी भागमा ठूलो भूकम्पको अपेक्षा गरिरहेका थिए। यसले के सिकायो भने ठूलो भूकम्प जुनसुकै बेला र कतै पनि आउन सक्छ।

सामान्यतया भूकम्पको सबैभन्दा ठूलो पराकम्पन मुख्य कम्पनभन्दा एक युनिट कम म्याग्निच्युडको हुने गर्छ, तर गोरखा भूकम्प (७.८/७.९) पछि ७.३ को शक्तिशाली कम्पन आयो। अध्ययनहरूले यो पराकम्पन मात्र नभई मुख्य भूकम्पको ऊर्जा स्थानान्तरणले गर्दा उत्पन्न भएको अर्को नयाँ भूकम्प थियो भन्ने देखाए। यसले कुनै एक ठाउँमा सञ्चित शक्ति अर्को क्षेत्रमा सरेर नयाँ विपद् निम्त्याउन सक्छ भन्ने पाठ सिकायो।

साथै, भूकम्प प्रतिरोधी संरचनाको अभावले क्षति उल्लेख्य बढाउने रहेछ भन्ने पनि स्पष्ट भयो। यसले नेपालमा ‘भूकम्प पूर्व-चेतावनी प्रणाली’ को आवश्यकतालाई पनि पुष्टि गर्‍यो।

. भूकम्पको म्याग्निच्युड तीव्रतामा के फरक ?

म्याग्निच्युड भूकम्प जाँदा जमिनमुनिबाट कति ऊर्जा निस्कियो भन्ने मापन हो। यो एउटा स्थिर संख्या हुन्छ। म्याग्निच्युडमा एक युनिटको वृद्धि हुनु भनेको ऊर्जा ३२ गुणा बढ्नु हो। उदाहरणका लागि, ७ म्याग्निच्युडको भूकम्पभन्दा ८ म्याग्निच्युडको भूकम्प ३२ गुणा बढी शक्तिशाली हुन्छ।

तीव्रता भनेको कुनै निश्चित स्थानमा महसुस गरिएको कम्पन र त्यसले पारेको प्रभावको मापन हो। एउटै भूकम्पको तीव्रता स्थानअनुसार फरक-फरक हुन्छ। यो म्याग्निच्युड, केन्द्रविन्दुदेखिको दूरी र स्थानीय जमिनको बनावटमा निर्भर गर्दछ।

. किन भूकम्पको भविष्यवाणी गर्न सकिँदैन ?

विज्ञानले आजसम्म भूकम्पको ठ्याक्कै भविष्यवाणी (मिति, समय र स्थान) गर्न सकेको छैन। भूकम्प अचानक हुने प्रक्रिया हो र पृथ्वीको गहिराइमा सञ्चित शक्तिलाई ठ्याक्कै मापन गर्ने प्रविधि अझै विकसित भइसकेको छैन। ‘आगामी केही समयभित्र यति म्याग्निच्युडको भूकम्प जान सक्छ’ भन्नु वैज्ञानिक अनुमान वा जोखिम विश्लेषण हो, तर तोकेरै भविष्यवाणी गर्नु सम्भव छैन।

. के भूकम्प तेर्सो ठाडो मात्र हुन्छन् ?

भूकम्पमा दुवै प्रकारका तरंगहरू हुन्छन्। सुरुमा आइपुग्ने ‘पी-वेभ’ ले जमिनलाई तल-माथि हल्लाउँछ भने त्यसपछि आउने ‘एस-वेभ’ले दायाँ-बायाँ हल्लाउँछ। त्यसपछि सतहमा फैलिने ‘सर्फेस वेभ’ हरू आउँछन्। तसर्थ, कुनै भूकम्प ठाडो मात्रै वा तेर्सो मात्रै भन्ने हुँदैन। केन्द्रविन्दुको नजिक हुँदा सबै तरंगहरू सँगसँगै जस्तो लाग्ने हुनाले अनुभव फरक हुन सक्छ।

. भूकम्प आउँदा अग्ला घर मात्र भत्किने हुन् ?

यो घरको उचाइ र भूकम्पीय तरंगको आवृत्तिमा निर्भर गर्दछ। होचा भवनहरू उच्च आवृत्तिका तरंगले बढी हल्लिन्छन् भने अग्ला भवनहरू कम आवृत्तिका तरंगले बढी प्रभावित हुन्छन्। २०७२ सालको भूकम्पमा काठमाडौँका अग्ला अपार्टमेन्टहरूमा क्षति पुग्यो भने काठमाडौँ बाहिरका होचा घरहरू पनि उत्तिकै भत्किए।

सारमा, घर अग्लो वा होचो हुनुभन्दा पनि त्यो भूकम्प प्रतिरोधी छ कि छैन भन्ने कुरा मुख्य हो। भवन निर्माण आचारसंहिता पालना नगरेका जुनसुकै उचाइका भवन जोखिमपूर्ण हुन्छन्।

. भूकम्प जाँदै गर्दा के गर्ने ?

  • नेपालका ८० प्रतिशतभन्दा बढी भवनहरू भूकम्प प्रतिरोधी छैनन्। त्यसैले पश्चिमा मुलुकको जस्तो ‘टेबलमुनि लुक्ने’ नियम सबै अवस्थामा लागू नहुन सक्छ।
  • बाहिर हुनुहुन्छ भने घर, रुख, बिजुलीको पोल वा भत्किन सक्ने संरचनाबाट टाढा खुल्ला ठाउँमा बस्नुहोस्।
  • भुईँतलामा हुनुहुन्छ भने यदि भवन भूकम्प प्रतिरोधी छैन भने जति सक्दो छिटो सुरक्षित तरिकाले बाहिर खुल्ला ठाउँमा निस्किनुहोस्।
  • माथिल्लो तलामा हुनुहुन्छ भने बाहिर निस्किन सम्भव छैन भने बलियो पिल्लर, ढोकाको फ्रेम वा टेबलमुनि ओत लाग्नुहोस्। कम्पन रोकिएपछि मात्र बाहिर निस्किनुहोस्।
  • संयमता अपनाउनुहोस् । हतारमा झ्याल वा छतबाट हाम फाल्ने काम नगर्नुहोस्। बाहिर निस्किँदा टाउको जोगाउन हात वा कुनै चिजको प्रयोग गर्नुहोस्।

(लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा कार्यरत भूकम्पविद् हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?