News Summary
Generated by OK AI. Editorially reviewed.- चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई द्विपक्षीय सम्बन्ध सुधारका लागि आफू सकारात्मक रहेको बताए।
- प्रधानमन्त्री कार्नीले चीनसँगको राम्रो सम्बन्धले विश्वव्यापी शासन प्रणाली सुधारमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
- चीन र क्यानडाबीच भन्सार शुल्क मुद्दा अझै अड्किएको छ र यसले दुई देशको व्यापारमा प्रभाव पारेको छ।
२ माघ, बेइजिङ । विश्वव्यापी स्तरमा देखा परिरहेका नयाँ चुनौतीहरूको पृष्ठभूमिमा चीन र क्यानडाका शीर्ष नेताहरूले वर्षौंदेखि तनावग्रस्त रहँदै आएको द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता शुक्रबार व्यक्त गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन भ्रमणमा रहेका क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै सम्बन्ध सुधारका लागि आफू सकारात्मक र इच्छुक रहेको बताए । उनले दक्षिण कोरियामा आयोजित क्षेत्रीय आर्थिक सम्मेलनको साइडलाइनमा गत अक्टोबरमा भएको प्रारम्भिक भेटपछि दुई देशबीच सहयोग पुनःस्थापना तथा पुनःसञ्चालनका विषयमा निरन्तर संवाद भइरहेको जानकारी दिए ।
‘गत वर्ष भएको हाम्रो भेटले चीन–क्यानडा सम्बन्धलाई सुधारको दिशामा नयाँ अध्यायतर्फ उन्मुख गराएको भन्न सकिन्छ’, राष्ट्रपति सी जिनपिङले भने ।
आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो क्यानडाली प्रधानमन्त्री बनेका कार्नीले चीनसँगको राम्रो सम्बन्धले हाल ‘गहिरो दबाबमा’ रहेको विश्वव्यापी शासन प्रणालीलाई सुधार गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले नयाँ विश्वव्यापी यथार्थअनुसार अनुकूल हुने सम्बन्ध विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि, ऊर्जा र वित्तीय क्षेत्रमा सहकार्य विस्तारका लागि आह्वान गरे।
प्रधानमन्त्री कार्नीले उल्लेख गरेका ती नयाँ यथार्थहरू मुख्यतः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तथाकथित ‘अमेरिका–पहिलो’ नीतिसँग जोडिएका छन् । ट्रम्पद्वारा लगाइएका भन्सार शुल्कहरूले क्यानडा र चीन दुवैको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ ।
बेइजिङमा रहँदा धेरै प्रमुख चिनियाँ कम्पनीहरूसँग भेटघाट गर्नुभएका कार्नीले आफ्नो भ्रमणअघि नै ‘विश्वव्यापी व्यापार अवरोधको समय’ मा अमेरिकामाथिको निर्भरता घटाउँदै वैकल्पिक अर्थतन्त्र निर्माणमा क्यानडा केन्द्रित रहेको बताएका थिए ।
यद्यपि, चीन र क्यानडाबीच एकअर्कामाथि लगाइएका भन्सार शुल्कका विषयमा यस भेटघाटपछि कुनै ठोस घोषणा गरिएको छैन । यो विषय अझै पनि द्विपक्षीय सम्बन्धमा अड्किएको प्रमुख मुद्दाका रूपमा रहेको छ ।
प्रधानमन्त्री कार्नीका पूर्ववर्ती पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यकालमा क्यानडाले अमेरिकाको नीतिलाई पछ्याउँदै चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा १०० प्रतिशत तथा स्टिल र एल्युमिनियममा २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।
त्यसको प्रतिकारस्वरूप चीनले क्यानडाबाट आयात हुने क्यानोला तेल र खाद्य पदार्थमा १०० प्रतिशत तथा सुँगुरको मासु र समुद्री खानामा २५ प्रतिशत शुल्क लगाएको छ । साथै, गत अगस्टमा क्यानोलाको बिउमा थप ७५.८ प्रतिशत कर लगाइएको थियो ।
उद्योग समूहका अनुसार यी आयात करहरूले क्यानडाली क्यानोलाका लागि चिनियाँ बजारलाई लगभग पूर्ण रूपमा बन्द गरिदिएको छ ।
विश्लेषकहरूका अनुसार क्यानडाजस्ता अमेरिकी सहयोगी राष्ट्रहरूमाथि राष्ट्रपति ट्रम्पले अपनाइरहेका दबाबको रणनीतिले ती देशहरूलाई अमेरिकासँग कम मेल खाने स्वतन्त्र विदेश नीति अवलम्बन गर्न प्रेरित गर्न सक्ने चीनको अपेक्षा रहेको छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपतिले क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने सुझावसमेत सार्वजनिक रूपमा दिइसकेका छन्, जसले उत्तर अमेरिकी राजनीति र कूटनीतिमा थप बहस सिर्जना गरेको छ । एपी
प्रतिक्रिया 4