News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आगामी टी-२० विश्वकपका लागि राम्रो तयारी भएको बताएका छन्।
- रोहितले सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई मिस गर्ने र बलिङ कन्सलट्यान्टमा इयान हार्भेको नियुक्ति भएको बताए।
- टी-२० विश्वकप फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुँदैछ र नेपाली टोलीले अभ्यास खेल खेल्नेछ।
३ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आगामी टी-२० विश्वकपका लागि राम्रो तयारी भएको बताएका छन् । शनिबार बिदाइ कार्यक्रमपछि कुरा गर्दै उनले बिल्डअप राम्रो भएको बताएका हुन् ।
‘बिल्डअप राम्रो छ । हामी उत्साहित छौं, टिम पनि सन्तुलित छ’ कप्तान रोहितले भने, ‘पछिल्लो एक हप्ता एक्स्ट्राटेक ओभलमा तयारी गरेका थियौं । मुम्बईको पिच कन्डिशनसँग मिल्ने भएर राम्रो तयारी भएको छ। ब्याटिङ, बलिङ फिल्डिङ सबै पक्षमा राम्रो तयारी गरिरहेका छौं ।’
गत संस्करण अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपाल मात्र नभएर सबै टिमलाई कठिन अवस्था भएको तर यसपटक भारतमा राम्रो कन्डिशन हुने उनले बताए । ‘अघिल्लोपटक सबै टिमलाई कठिन देखिएको थियो । विकेट च्यालेन्जिङ थियो । भारतमा राम्रो हुन्छ पिच र कन्डिशन’ कप्तान रोहितले भने ।
यसअघि नेपाली टिमको सहायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल थिए । अब भने उनी सहायक प्रशिक्षकका रूपमा छैनन् । रोहितले ज्ञानेन्द्रको प्रशिक्षण मिस गर्ने बताए । ‘ज्ञानेन्द्र दाईलाई मिस गर्नेछौं । दाईले अनुभव शेयर गर्नुहुन्थ्यो धेरै फाइदा हुने गरेको थियो, उहाँलाई धन्यवाद अनि शुभकामना भन्न चाहन्छु’ रोहितले भने ।
नेपाली टोलीको बलिङ कन्सलट्यान्टमा अस्ट्रेलियाका इयान हार्भे नियुक्त भएका छन् । उनको आगमनले बलिङमा धेरै मद्दत पुग्ने रोहितले बताए ।
टी-२० विश्वकप आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपाली टोलीले विश्वकपअघि श्रीलंका र भारतमा गएर अभ्यास पनि खेल्नेछ । श्रीलंका ए सँग अनि मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग नेपाली टोलीले अभ्यास खेल खेल्नेछ ।
कप्तान रोहितले यसपटक उल्लेख्य संख्यामा दर्शकहरू मुम्बईमा पुग्ने विश्वास व्यक्त गरे । ‘भारतमा छ, नजिक पनि छ । दर्शक धेरै आउनुहुन्छ जस्तो लाग्छ, अघिल्लो दुई विश्वकपमा आएको भन्दा पनि धेरै संख्या हुन्छ जस्तो लागेको छ’ उनले भने ।
यद्यपी सरकारले घोषणा गरेको पुरस्कार पाउन ढिलाइ भएकोप्रति रोहितले गुनासो समेत गरे । ‘हाम्रो अधिकारको कुरा चाहिँ पाउनुपर्छ । सरकारले दिनुपर्ने पुरस्कार रकम चाँडै पाउन पाए धेरैलाई मोटिभेट पनि हुन्थ्यो’ रोहितले भने ।
प्रतिक्रिया 4