३ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।
रुपन्देही–२ बाट चुनाव लड्दै आएका पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका हुन् । च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पौडेलको निर्वाचन क्षेत्र सार्नुपर्ने आवश्यकता परेको तर्क गरेका थिए ।
‘पहिलेको ठाउँमा उहाँलाई गाह्रो हुने भयो । त्यही भएर माथि लानुपर्ने भयो,’ अध्यक्ष ओलीले भनेका थिए । पाल्पा–२, बाट गत चुनावमा ठाकुर गैरेले चुनाव जितेका थिए ।
तर पौडेलले निर्वाचन क्षेत्र फेर्दा गैरेको टिकट भने खोसिएको छ ।
‘यस्तो निर्णय गर्दा ठाकुर गैरेलाई अन्याय मात्र हुँदैन, लुम्बिनीमा एमाले कमजोर रहेको सन्देश पनि जान्छ,’ केही पदाधिकारीको असहमति थियो ।
तर विष्णु पौडेल आफैले यो क्षेत्रमा जान चाहेपछि प्रस्ताव बमोजिमको निर्णय भयो । बैठकले सचिव भानुभक्त ढकालको निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने निर्णय गरेको छ ।
यसअघि मोरङ–३ बाट चुनाव लड्दै आएका ढकाललाई तेह्रथुमको टिकट दिइएको हो । अर्का सचिव राजन भट्टराईले पनि काठमाडौं–४ बाट चुनाव नलड्ने निर्णय सुनाएको बैठक स्रोतले जनायो ।
प्रतिक्रिया 4