+
+
Shares

परिवर्तनको गतिमा हराउँदै गएको मानवीय जीवन

हाम्रो जीवन बाहिरबाट उज्यालो देखिन्छ, तर भित्र कतै मौन अँध्यारो फैलिँदै गएको अनुभूति हुन्छ । आधुनिकताको चमकभित्र कतै मानवीय आत्मा हराउँदैछ कि भन्ने प्रश्नले मनलाई लगातार घोचिरहन्छ ।

दिनेश अधिकारी (नयाँघरे) दिनेश अधिकारी (नयाँघरे)
२०८२ माघ ५ गते १४:१३

संसार निरन्तर बदलिँदैछ। समय कहिल्यै एकै ठाउँमा उभिँदैन, यो नरन्तर बगिरहने नदी हो। परिवर्तन उसका छाल हुन् । कहिले शान्त त कहिले उग्र। परिवर्तन आफैँमा कुनै नयाँ कुरा होइन, तर पछिल्ला केही दशकयता त्यसको गति यति तीव्र भएको छ कि मानिससँग त्यसलाई आत्मसात गर्ने फुर्सदसमेत छैन।

प्रविधिले जीवनलाई अकल्पनीय रूपमा सहज बनाइदिएको छ। संसार आज औँलाको टुप्पोमा अटाएको छ । दूरी खुम्चिएको छ । समय बचत भएको छ र अवसरहरू ढोकैमा आइपुगेका छन् ।

तर, यही सहजताको मूल्य हामीले के गुमाएर तिरिरहेका छौँ? हामीसँग सुविधा थपिएको छ, तर संवेदना घटेको छ। हामी छिटो हिँड्न सिकेका छौँ, तर गहिराइमा पुग्न बिर्सिएका छौँ। हाम्रो जीवन बाहिरबाट उज्यालो देखिन्छ, तर भित्र कतै मौन अँध्यारो फैलिँदै गएको अनुभूति हुन्छ। आधुनिकताको चमकभित्र कतै मानवीय आत्मा हराउँदैछ कि भन्ने प्रश्नले मनलाई लगातार घोचिरहन्छ।

आजको समाज ऐनाजस्तै छ । बाहिरबाट हेर्दा सुन्दर, पूर्ण र चम्किलो तर त्यो ऐनाभित्र पस्दा देखिने दृश्य फरक छ। हामी आधुनिक बनेका छौँ, तर आत्मीय बन्ने कला बिर्सिँदैछौँ। हामीसँग शब्दहरू धेरै छन् तर संवाद कम छ। के हामी सही दिशातर्फ अघि बढिरहेका छौँ?कि केवल चमकको पछि लागेर आफ्नै उज्यालो गुमाउँदैछौँ?

विगत र गाउँको जीवनलाइ हेर्दा जहाँ मानिस केवल मानिस नै थियो । गाउँ केवल भौगोलिक संरचना मात्र थिएन, त्यो जीवन बुझ्ने एउटा दर्शन थियो। त्यहाँ बिहान घामसँगै जीवन ब्यूँझिन्थ्यो र साँझ चुल्होको धुवाँसँगै थकान बिसाउँथ्यो। समय घडीले होइन, प्रकृतिले नापिन्थ्यो। घरहरू झुपडी र साधारणथिएतर ती झुपडीभित्र बस्ने मनहरू विशाल थिए।

माटोले लिपिएको आँगनमा हिँड्दा खुट्टाले मात्र होइन, मनले पनि माटोलाई छुन्थ्यो। चुल्लोको आगोले पेट मात्र होइन, सम्बन्ध पनि तताउँथ्यो। धुवाँको गन्धले घरको अस्तित्व सम्झाउँथ्यो। जीवन देखावटी थिएन, जीवन स्वाभाविक थियोजसरी बग्छ, त्यसरी नै स्वीकार गरिएको।

त्यहाँ छिमेकी अपरिचित थिएनन् दु:ख पर्दा ढोका ढकढक्याउनुपर्दैनथ्यो, आँखा जुधेपछि नै साथ पाइन्थ्यो। एउटा घरको पीडा सिङ्गो गाउँको पीडा बन्थ्यो। सुख पनि एक्लै मनाइँदैनथ्यो, किनकि खुशी बाँड्दा मात्र खुशी बढ्छ भन्ने बुझाइ थियो। सम्मान पैसाले होइन, व्यवहार र मनले कमाइन्थ्यो।

गाउँका सपनाहरू पनि सादा थिए। कसैले महल बनाउने कल्पना गर्दैनथ्यो। सपना त आफ्नै माटोमा पसिना बगाएर अन्न फलाउने, परिवारलाई भोकै नराख्ने, र इमानदारीपूर्वक बाँच्ने हुन्थ्यो। खेतबारी नै व्यायामशाला थिए, श्रम नै औषधि थियो, र पसिना नै जीवनको गहना।

संसार जित्नु भनेको महल बनाउनु होइन। झुपडीभित्र बसेर पनि मन जित्न सक्नु नै साँचो जित हो। महलको चमक क्षणिक हुन्छ, तर झुपडीको उज्यालो स्थायी।

पहिले छोराछोरी काम गर्न सहर जाँदा पनि फर्कने बाटो खुला हुन्थ्यो। आमा घरको पिँढीमा बसेर पारी डाँडासम्मको जाने र फर्कने बाटो हेरिरहन्थिन् । आँखामा आँसु टल्किन्थ्यो, तर मनमा भरोसाको दीप बलिरहेको हुन्थ्यो । छोराछोरी फर्किन्छन् र यही आँगन फेरि उसको हाँसोले भरिनेछ भनेर । आज त्यो पिँढी उस्तै छ, तर बाटो असाध्यै लामो भएको छ।

अब छोराछोरी सहरमा मात्र होइन, समुद्रपारि जान्छन् । आमाले आँसु मनभित्रै थुनेर विदाइ दिनुपरेको छ। सुख र सम्पत्ति कमाउने नाममा अपनत्वसँग दूरी बढाइएको छ। विदाइका क्षणमा आमाको मन भारी हुन्छ।

फोनको पर्दामा देखिने अनुहारले आमाको काखको न्यानोपन दिन सक्दैन। भिडियो कलले बाबुको हातको स्पर्श, गाउँको हावा र माटोको सुवास बोकेर ल्याउन सक्दैन। सहर र विदेशमा कमाइएका पैसाले पक्की घर त बनाउँछ, तर त्यो घरको आँगनमा खेल्ने पाइला र गुञ्जिने हाँसो फर्काउन सक्दैन। यही मौनता आज धेरै आमाबुवाको छातीभित्र थुनिएको छ।

सहर टाढाबाट हेर्दा सपनाजस्तै देखिन्छ। अग्ला भवन, रंगीन बत्ती, फराकिला सडक, सबै कुरा आकर्षक । विदेश त झन् भविष्यको सुनौलो ढोका नै हो भनेर भनिन्छ। तर नजिक गएपछि थाहा हुन्छ, त्यो चमकभित्र छायाँ कति धेरै छ भनेर ।

सहरमा मानिसको भीड छ, तर मनहरू एक्ला छन् पैसा छ, तर समय छैन। सुविधा छ, तर शान्ति छैन। विदेशमा जीवन व्यवस्थित छ, तर आत्मीयता दुर्लभ। त्यहाँ मानिसलाई उसको श्रमले चिनिन्छ, भावनाले होइन।हामी सहर र विदेशलाई समाधान ठान्छौँ, तर समस्या त हाम्रो दृष्टिकोणमै छ। जहाँ भए पनि, यदि मन अशान्त छ भने, त्यो स्थान कहिल्यै स्वर्ग बन्न सक्दैन। चमकले आँखालाई तान्छ, तर आत्मालाई सन्तुष्ट पार्न सक्दैन।

सफलता भनेको सहर पुग्नु वा विदेश उड्नु मात्र होइन। सफलता भनेको जिम्मेवार, इमानदार र संवेदनशील मानिस बन्नु हो। जहाँ रहेर पनि समाजका लागि केही गर्न सक्नु नै साँचो उपलब्धि हो।

युवालाई सोध्न मन लाग्छ, तिमीले कमाएको पैसाले आमाको आँसु पुछ्न सक्छ? बाबाको एक्लोपन मेट्न सक्छ? यदि सक्दैन भने, त्यस सफलताको अर्थ पुन: सोचिनु आवश्यक छ।

यो लेखको उद्देश्य विदेश वा प्रविधिको विरोध गर्नु होइन। विकास आवश्यक छ, परिवर्तन अपरिहार्य छ। तर विकास सन्तुलित हुनुपर्छजहाँ सुविधा र संवेदना दुवै सँगै हिँडून् । गाउँलाई कमजोरी होइन, सम्भावनाको केन्द्रका रूपमा हेर्नुपर्छ। प्रविधिसम्बन्ध तोड्ने होइन, जोड्ने प्रयोग गर्नुपर्छ । कमाउने दौडसँगै बाँड्ने संस्कार पनि जोगाउनुपर्छ।

संसार जित्नु भनेको महल बनाउनु होइन। झुपडीभित्र बसेर पनि मन जित्न सक्नु नै साँचो जित हो। महलको चमक क्षणिक हुन्छ, तर झुपडीको उज्यालो स्थायी। यदि हामीले त्यो उज्यालो जोगाउन सक्यौँ भने, विकासले मानवता गुमाउने छैन।

प्रविधि अपनाऔँ, तर मानवता नबिर्सौँ । महल बनाऔँ, तर झुपडीले सिकाएको माया, सन्तोष र आत्मीयता कहिल्यै नछोडौँ। किनकि अन्तत: मानिसले खोज्ने कुरा सुविधा होइन—शान्ति हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?