+
+
WC Series
Nepal Women
0/0 (0.0)
VS
Netherlands Women
0/0
Shares
प्रतिनिधि सभा निर्वाचन २०८२ :

पर्वतमा अर्जुन-पदमको तेस्रो भेट : सत्ताबाट फालिएका साझेदारलाई तेस्रो व्यक्तिको डर

२०५६, २०६४ र २०७० को चुनाव जिते पनि पछिल्ला दुई चुनाव हारेका कांग्रेसका अर्जुन अब नतिजा उल्ट्याउने रणनीतिमा छन् । एमालेका पदम भने लगातार तेस्रो जित निकाल्दै ह्याट्रिक गर्ने दाउमा छन् । तर, यी दुवैलाई नयाँ दल र नयाँ उम्मेदवारको चुनौति छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ माघ ८ गते ७:४८

८ माघ, पोखरा । पर्वतमा २०७९ मंसिरमा भएको चुनावका प्रमुख प्रतिस्पर्धी अनुहार नै यसपटक पनि नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिस्पर्धी छन् । उही पार्टी, उही झण्डा र चुनाव चिह्न बाकेर मत माग्न उस्तै बोली, उस्तै तामझाम गर्ने उही अनुहार छन् । तर, परिस्थिति, चुनावी माहोल र दलका एजेण्डाहरु बदलिएका छन् ।

२०५६ सालदेखि चुनाव लड्दै आएका कांग्रेस नेता जोशी शेरबहादुर देउवा कमिटीका केन्द्रीय सदस्य हुन्, तर जेनजी आन्दोलनपछि गगन थापातिर लागे । उनी विशेष महाधिवेशनको पक्षमा मात्रै खुलेनन्, ‘क्याम्प’ परिवर्तन गरी टिकट हात पारेर निर्वाचन क्षेत्र छिरेका छन् ।

पर्वतबाट राजनीतिमा छलाङ मारेका एमाले नेता पदम गिरी अध्यक्ष केपी शर्मा ओलीलाई रिझाएर तेस्रो पटक पनि टिकट हात पार्दै मैदानमा होमिएका छन् ।

कांग्रेस–एमालेका यसअघिकै प्रतिस्पर्धीलाई मात्र हेरेर आगामी चुनावी नतिजाको आँकलन गर्ने अवस्था अहिले पर्वतमा छैन । फागुन २१ गते हुने निर्वाचन पर्वतमा रोचक हुनेवाला छ ।

‘नतिजा जे पनि आउन सक्छ’

पुराना होस् या नयाँ कुनै पनि दलका पदाधिकारी वा ठूला नेता प्रतिस्पर्धामा त छैनन् तर ठूला नेता र तिनको बिरासत अनि निकट सम्बन्धले प्राप्त टिकट बोकेर मैदानमा होमिएकाहरु भने छन् ।

अर्जुन–पदमको पार्टी कांग्रेस–एमालेलाई पालैपालो साथ लिँदै प्रधानमन्त्री बनेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा काम गरेका मनहरी तिमिल्सिना पर्वतको इतिहास बदल्ने होडसहित पहिलोपटक निर्वाचनमा होमिएका छन् ।

लामो समय इजरायलमा श्रम गरेर पोखरामा होटललगायत व्यवसाय गरिरहेका सागर भुसाल अब यी तीन वटै पुराना पार्टीलाई विस्थापित गर्नुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएर भोट माग्दै बस्ती पसेका छन् ।

२०७० सालबाटै संसदीय चुनाव बहिस्कार गर्दै भूमिगत भएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कृष्णबहादुर विक पनि शान्तिपूर्ण राजनीतिमा यही व्यवस्था ठिक रहेको निश्कर्ष निकालेर भोट मागिरहेका छन् । यस्ता थुप्रै पार्टीका र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

राप्रपाका दुर्गाबहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भीमलाल न्यौपाने, उज्यालो नेपाल पार्टीका यमबहादुर चोचांगी पुन लगायत पनि भोट मागिरहेका भेटिन्छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेका अनुसार पर्वतमा १३ वटा राजनीतिक दलका १३ जना र ४ जना स्वतन्त्र उम्मेदवार गरी १७ जना अहिले चुनावी प्रतिस्पर्धामा छन् ।

मनोनयन दर्ता गरेर उम्मेदवार गाउँ–शहर छिरिसक्दा पनि पुरानो अंकगणित र अहिलेको परिस्थिति हेरेर सम्मावित परिणाम भन्न सक्ने अवस्था छैन । निर्वाचनमा होमिएका दलकै नेता–कार्यकर्तालेसमेत भनिरहेका छन्, ‘नतिजा जे पनि आउन सक्छ ।’

अर्जुन र पदमबीच तेस्रोपटक प्रतिस्पर्धा

नेपाली कम्युनिस्ट पार्टी, रास्वपासहित नयाँ दलका नयाँ अनुहार त छँदैछन् तर मानिसहरुको चर्चा र बहसको केन्द्रमा अर्जुन र पदम छन् । अर्जुन र पदमलाई चासोका साथ हेरिनुको कारण ती दुई चिरपरिचित अनुहार तेस्रो पटक प्रतिस्पर्धा छन् । एमालेका पदम तेस्रो पटक पनि जित निकाल्दै ह्याट्रिक गर्न चाहन्छन् भने ३ वटा चुनाव जितेर पछिल्ला दुई चुनावमा हार बेहोरेका कांग्रेसका अर्जुन यसपटक परिणाम बदल्न चाहन्छन् ।

नयाँ अनुहार र एजेण्डाको खोजी भइरहेका बेला पार्टीको महाधिवेशनपछि आफूहरुले नै परिवर्तनको मुद्दा बोक्ने भन्दै अर्जुनले क्याम्प परिवर्तन गरेर अनि पदमले अध्यक्ष ओलीलाई रिझाएरका टिकट हात पारेका थिए ।

जेननी आन्दोलनपछि विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान चल्दा अर्जुनले भने हस्ताक्षर गरेका थिएनन् । तर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान नै गरेपछि अर्जुन पनि त्यतै खुले । विशेष महाधिवेशनले शेरबहादुर देउवा समूहलाई पाखा पार्दै गगनलाई सभापति बनायो । उनै अर्जुन, गगनको हस्ताक्षरसहितको टिकट बोकेर रुपान्तरण र परिवर्तनको एजेण्डासहित छैठौं पटक चुनावी मैदानमा होमिएका छन् ।

२०५६ सालको संसदीय निर्वाचनमा पहिलो पटक जितेका नेपाली कांग्रेसका अर्जुन जोशीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘ह्याट्रिक’ गरेका थिए । त्यसयताका चुनावमा भने एमालेका पदम गिरीको उदय भयो र अर्जुनले हार बेहोर्दै आएका छन् ।

जन्मजात कांग्रेस परिवारमा जन्मिएका अर्जुन सांसदमा ह्याट्रिक मारे पनि मन्त्री हुन पाएनन् । उता पदमले दोस्रो पटक चुनाव जिते पनि स्वास्थ्य र कानुन गरी दुई पटक फुल मन्त्री हुने पर्वतको पहिलो व्यक्तिको रुपमा नाम लेखाए ।

आलोचना मुक्त छैनन् अर्जुन–पदम

कांग्रेसका पुराना नेता अमृत जोशीका छोराहरु अर्जुनसँगै अन्य पनि राजनीतिमै छन् । भाइ युवराजलाई जिल्ला सभापति बनाएको, बजेटमा एकलौटी गरेको आरोप पनि उनीमाथि लाग्यो ।

१३ औं महाधिवेशनमा कोइराला समूहबाट देउवा क्याम्पमा पुगेर केन्द्रीय समितिमा मनोनीत भएका जोशी १४ औं महाधिवेशनमा कांग्रेसको गण्डकी प्रदेश सभापतिमा भने पराजित भए । २०७४ सालमा एमाले–माओवादीसहितको नेकपा गठबन्धनबाट गिरीसँग हारेका जोशी २०७९ मा माओवादी, एकीकृत समाजवादीलगायत ५ दलीय समर्थन हुँदा पनि जित्न सकेनन् ।

तर, यसपटक गगनहरुको हिम्मतबाट उनै जोशी जित निकाल्ने होडसहित चुनावमा होमिएका हुन् । जोशीका कारण अरुको अवसर खोसिएको, फरक विचार राख्नेलाई अगाडि बढ्न नदिएको आरोप उनीमाथि छ । तर, जोशीले आफूले चुनाव जित्ने दाबी गर्छन् ।

एमालेका पदम गण्डकीको भूगोलबाट छोटो समयमा छलाङ मार्ने नेता हुन् । कांग्रेसको दबदबा भएको इतिहासमात्रै भत्काएनन्, २ पटक सांसद जितेर प्रमुख सचेतक र दुई पटक मन्त्री बनेर इतिहाससमेत रचे । एमालेभित्र अरु अग्रज नेतालाई पछि पार्दै तीव्र गतिमा अवसर पोल्टामा पारेका पदमले यसपटक पनि ओलीको विश्वासपात्र बनेर टिकट ल्याएका छन् र ह्याट्रिक मारेर अर्को इतिहार रच्ने दाउसमेत हेरिरहेका छन् ।

तर पदममाथि पर्वतमा एमाले पार्टी निर्माण गरेका पुराना नेतालाई सकाउन लागेको आरोप भने लाग्ने गरेको छ । २०७४ सालमा चुनाव जितेर संसद छिरेपछि ओलीले संसद विघटन गर्दा उनको बचाउमा खरो उभिएर पदमले ओलीलाई रिझाए र २०७९ को टिकट हात पार्दै चुनाव जितेर मन्त्रीसमेत बने ।

जेनजी आन्दोलनपछिको परिस्थितिमा एमालेभित्र पनि रुपान्तरण र परिवर्तनको खोजी हुँदा उनी ओलीकै पक्षमा उभिए । अघिल्लो महाधिवेशनबाटै केन्द्रीय सदस्य बनेका पदम यसपटक सचिवको आकांक्षी थिए । तर, ओलीले सचिवमा पदमकासमेत नेता गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीलाई सचिवमा समेटे । पदमलाई केन्द्रीय सदस्यमै ल्याए भने आगामी चुनावको टिकटसमेत दिए ।

जेनजी आन्दोलनले रुपान्तरण र परिवर्तन खोजेको एजेण्डाअनुसार महाधिवेशन गरे पनि एमालेले त्यो पर्वतनलाई नस्वीकार्दा पदममाथि पनि आक्रोशहरु छन् । पार्टीले परिवर्तन खोज्दा र त्यति धेरैको ज्यान जाँदा पनि दु:ख व्यक्तसमेत नगर्ने र ओलीकै वकालत गरेको भन्दै उनीसँग पनि मतदाता रुष्ट छन् ।

सत्ताबाट फालिएका साझेदारलाई तेस्रो व्यक्तिको डर

२०४७ मा अखिल पाँचौंमा संगठित भएका पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हुँदै राजनीतिमा फड्को मारेका थिए गिरीले । २०६७ सालमा पर्वत एमालेको अध्यक्ष बनेका गिरी यो चुनाव आफ्नै राजनीतिक जीवनका निम्ति पनि एउटा परीक्षा भएको बताउँछन् र यो चुनावमा आफू पास हुने उनको दाबी छ ।

अर्जुन र पदम तेस्रो पटक प्रतिस्पर्धामात्रै गर्दै छैनन्, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ताबाट फालिएका साझेदार दलका नेता पनि हुन् । जसका कारण उनीहरुलाई एकअर्काको डरमात्रै छैन, कतै आफूहरु दुवै जनालाई असान्दर्भिक बनाइदिने कोही तेस्रो पो आउने हो कि भन्ने चिन्ता  पनि छ ।

तर, नतिजा जे आए पनि स्वीकार्ने उनीहरुले बताएका छन् । त्यसैले उम्मेदवारी दर्तापछि अंगालो मारेर उनीहरु चुनावी अभियानमा बस्ती पसेका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?