News Summary
Generated by OK AI. Editorially reviewed.- डेनमार्कमा एउटा शुक्रकीट दाताले १९७ बच्चाको पिता बनेको र ती बच्चामा क्यान्सरसँग सम्बन्धित आनुवंशिक म्युटेसन भेटिएको छ।
- डेनमार्कको शुक्रकीट उद्योगले १४ देशका ६७ क्लिनिकमार्फत शुक्रकीट निर्यात गर्दै आएको छ ।
- युरोपेली संघका अधिकारीहरूले शुक्रकीट निर्यातको निगरानी गर्न अन्तर्राष्ट्रिय दर्ता नियामक संस्था स्थापना गर्न माग गरेका छन्।
विश्वको सबैभन्दा खुसी र सुन्दर देशहरूमध्ये एक मानिने डेनमार्क पछिल्लो समय एउटा फरक तथा अनौठो कारणले चर्चामा छ । डेनमार्क यस्तो देश हो जहाँ जन्मिने प्रत्येक १00 बच्चामध्ये एउटा बच्चा शुक्रकीट दानमार्फत जन्मिन्छ ।
करिब ६० लाख जनसंख्या भएको यो स्क्यान्डिनेभियाली देश विश्वभर शुक्रकीट निर्यात गर्ने शक्तिकेन्द्रका रूपमा पनि चिनिन्छ । तर पछिल्लो समय त्यहाँ उक्त शुक्रकीट उद्योगलाई लिएर धेरै प्रश्न उठ्न थालेका छन् । यस उद्योगका अँध्यारा पक्षहरू पनि बाहिर आउन थालेका छन् ।
डेनमार्कले धेरै देशहरूमा शुक्रकीट आपूर्ति गर्छ । विश्वभरका महिलाहरू डेनमार्कका गोरो छाला, सुनकेश्रा कपाल तथा निलो आँखा भएका युवकको शुक्रकीटको खोजीमा रहने गर्छन् । यस्ता नर्डिक मानव नश्ललाई भाइकिङ वंश भनिन्छ । त्यही चाहनाको फाइदा उठाउँदै डेनमार्कको शुक्रकीट उद्योगले संसारभर ‘भाइकिङ स्पर्म’ निर्यात गर्छ ताकि सुन्दर र स्वस्थ बच्चा (भाइकिङ बेबी) जन्मिउन् ।
तर डेनिस शुक्रकीट उद्योगको अँध्यारो पक्ष तब उजागर भयो जब एकजना डोनर १९७ बच्चाको पिता बनेको खुलासा भयो । अझ ती बच्चाहरूमा क्यान्सरसँग सम्बन्धित म्युटेसन रहेको तथ्य पनि सार्वजनिक भयो।
हालै सार्वजनिक भएको एउटा अनुसन्धान प्रतिवेदनले डेनमार्कको शुक्रकीट उद्योगको अँध्यारो सत्य उजागर गरेको छ । प्रतिवेदनमा भनिएको छ- एउटै दाताको शुक्रकीटबाट १४ देशका ६७ क्लिनिकमार्फत कम्तीमा १९७ बच्चा जन्मिएका छन् । ती सबै बच्चामा एउटा आनुवंशिक म्युटेसन भेटिएको छ, जुन एक घातक क्यान्सरसँग सम्बन्धित छ। तीमध्ये केही बच्चाको मृत्यु समेत भइसकेको छ ।
ती पुरुषले सन् २००५ मा शुक्रकीटको दान सुरु गरेका थिए र १७ वर्षसम्म निरन्तर जारी राखेका थिए । उनको शुक्रकीटबाट जन्मिएका जुन बच्चामा उक्त जिन म्युटेसन सरेको छ उनीहरूलाई भविष्यमा क्यान्सरको उच्च जोखिम रहेको र निरन्तर चिकित्सकीय निगरानी आवश्यक भएको रिपोर्टमा उल्लेख छ ।
स्मरण रहोस् युरोपको शुक्रकीट दानको बजार करिब १ अर्ब ३० करोड युरोको रहेको छ । जुन सन् २०३३ सम्म २ अर्ब ३० करोड युरो पुग्ने अनुमान गरिएको छ । डेनमार्क विश्वकै सबैभन्दा ठूलो शुक्रकीट निर्यातकर्ता हो । डेनमार्कमै रहेको क्रायोस इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो स्पर्म बैंक मानिन्छ जहाँबाट १०० भन्दा बढी देशमा शुक्रकीट निर्यात गरिन्छ । शुक्रकीटको करिब आधा मिलिमिटरको सानो सीसीको मूल्य १०० देखि १०० युरोसम्म पर्छ ।
नेदरल्यान्ड र बेल्जियमजस्ता देशहरूमा स्पर्म डोनेसनमार्फत जन्मिने करिब ६० प्रतिशत बच्चाका जैविक पिता डेनिस हुने गर्छन् ।
तर क्यान्सरसँग जोडिएको पछिल्लो घटना सार्वजनिक भएपछि युरोपेली संघका अधिकारीहरूले शुक्रकीट निर्यातको निगरानी गर्न अन्तर्राष्ट्रिय दर्ता नियामक संस्था स्थापना गर्न माग गरेका छन् ।
(एजेन्सी)
प्रतिक्रिया 4