+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्समा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतस्थित ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सको अध्यक्षमा ट्राभल व्यवसायी बिराज भट्ट सर्वसम्मत चयन भएका छन्।
  • संस्थाले बेलायत–नेपाल व्यापार वृद्धिका लागि निरन्तर पहल गर्ने र दोहोरो कर प्रणाली हटाउन लबी गर्ने योजना बनाएको छ।
  • कार्यवाहक राजदूत विपिन दुवाडीले सन् २०१९ मा कुल व्यापार ६०९ मिलियन पाउन्ड रहेको र नेपालमा लगानीका लागि पहल भइरहेको जानकारी दिनुभयो।

१२ माघ, लन्डन । बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्स’ (बीएनसीसी) मा नयाँ नेतृत्व चयन भएको छ।

लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी बिराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो। भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए।

साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स, अन्जनी फुँयाल, प्रकाश ढुङ्गाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, वीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल चयन भएका छन्। संस्थाको सीईओमा स्टिभ बक्ले चुनिएका छन्।

बीएनसीसीका संरक्षक एवं कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै निवर्तमान कार्यसमितिको सफल कार्यकालप्रति कृतज्ञता व्यक्त गरे। उनले बेलायत र नेपालबीच आयात र निर्यात गरी २५० मिलियन पाउन्ड व्यापार भएको तथ्याङ्क पेश गर्दै एक दशकयता सन् २०१९ मा कुल व्यापार ६०९ मिलियन पाउन्ड रहेको जानकारी दिए।

उनका अनुसार, सन् २०१५ मा बेलायत–नेपाल व्यापार ३०० मिलियन पाउन्डभन्दा बढी थियो। तर, पछिल्ला वर्षहरूमा यो ३०० मिलियन पाउन्डभन्दा कम छ। कार्यवाहक राजदूत दुवाडीले गत वर्ष सन् २०२५ को ६ महिनामा यूकेबाट नेपालतर्फको निर्यात ६८ मिलियन पाउन्ड र आयात १८२ मिलियन पाउन्ड रहेको तथ्याङ्क समेत प्रस्तुत गरे।

उनले वैदेशिक लगानीका लागि नेपाल उचित गन्तव्य भएको बताउँदै दूतावासले बीएनसीसीसँग सहकार्य गरी नेपालमा लगानीका लागि पहल गरिरहेको उल्लेख गरे। बेलायतस्थित नेपाली डायस्पोराले व्यापार तथा लगानीमार्फत देशको समृद्धिमा योगदान दिनु कर्तव्य हुने समेत उनले बताए।

नवनिर्वाचित अध्यक्ष बिराज भट्टले संस्थाले बेलायतमा रहेका नेपाली व्यवसायीहरूलाई थप समेट्दै नेपालमा लगानी वृद्धिका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आउँदो अक्टोबर २०२६ मा नेपालमा ‘ट्रेड मिसन’ लैजाने योजना रहेको बताउँदै संस्थाले दोहोरो कर प्रणाली हटाउने सम्बन्धमा निरन्तर ‘लबी’ गर्ने पनि जानकारी दिए।

उनले बीएनसीसीले विगत र भविष्यमा पनि नेपाल सरकार, लन्डनस्थित नेपाली दूतावास, बेलायती विदेश मन्त्रालय (एफसीडीओ) लगायतका निकायसँग निरन्तर सहकार्य गरी नेपाल र नेपाली व्यवसायीको हितका लागि काम गर्ने बताए।

निवर्तमान अध्यक्ष डा. कपिल रिजालले एक–अर्का व्यवसायीलाई सहयोग गर्नु महत्त्वपूर्ण भएकाले त्यसैका लागि बीएनसीसी सक्रिय रहेको बताए। सन् १९९६ मा स्थापित यस संस्थाले बेलायत–नेपाल व्यापार, पर्यटन प्रवर्द्धन एवं लगानी अभिवृद्धिका लागि निरन्तर कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?