News Summary
Generated by OK AI. Editorially reviewed.- एलन मस्कको एक्स एआईले सुरु गरेको ग्रोकीपिडिया नामको एआई-आधारित इन्साइक्लोपिडियालाई च्याटजीपीटीले इन्टरनेट सर्चमा प्रयोग गरिरहेको खुलासा भएको छ।
एक्सका मालिक एलन मस्क र च्याटजीपीटीको मातृ कम्पनी ओपन एआईका सीईओ स्याम अल्टम्यानबीचको खिचातानी र वाकयुद्ध लामो समयदेखि चल्दै आएको छ । तर प्रविधि जगतमा सम्बन्ध र प्रतिस्पर्धा अनि द्वेष र मित्रता सधैं स्थिर हुँदैन । कुनै समयका कट्टर प्रतिद्वन्द्वी कुनबेला सहयोगी बन्दछन् र को, कहाँ काम लाग्छ भन्नै सकिँदैन।
गत वर्ष मस्कको एआई स्टार्टअप कम्पनी एक्स एआईले विकिपिडियालाई चुनौती दिनका लागि ग्रोकीपीडिया नामको एआई-आधारित इन्साइक्लोपिडिया सुरु गरेको थियो। अहिले च्याटजीपीटीले इन्टरनेट सर्चमा मस्कको त्यही ग्रोकीपीडियाको प्रयोग गरिरहेको खुलासा भएको छ।
यसले मस्क र अल्टम्यानबीच गहिरो मतभेद रहे पनि एलन मस्कको प्लेटफर्म नै च्याटजीपीटीलाई थप सशक्त र प्रभावशाली बनाउने श्रोतको रुपमा प्रयोग भइरहेको देखिएको छ।
बेलायती पत्रिका द गार्जियनले हालै प्रकाशित गरेको रिपोर्टअनुसार च्याट जीपीटीको सबैभन्दा उन्नत मोडेलको रूपमा रहेको ‘GPT 5.2’ ले प्रश्नहरुको उत्तर दिनका लागि अधिकांश बेला ग्रोकीपिडियाकै सहारा लिने गरेको देखिएको छ ।
एक परीक्षणका क्रममा करिब एक दर्जन प्रश्नको उत्तर दिँदा च्याटजीपीटीले ९ पटक ग्रोकीपीडियालाई स्रोतका रूपमा प्रयोग गरेको थियो। यी प्रश्नहरू इरानको राजनीतिक संरचना, त्यहाँको अर्धसैनिक बल बासिज फोर्सको तलब, तथा ठूला संस्थाहरूको स्वामित्वजस्ता जटिल विषयसँग सम्बन्धित थिए । यसबाहेक बेलायती इतिहासकार सर रिचर्ड इभान्सजस्ता विषयमा समेत च्याटजीपीटीले विकिपिडियाको सट्टा मस्कको एआईमा आधारित इन्साइक्लोपिडियामा भरोसा गरेको देखियो।
किन विवादित छ ग्रोकिपिडिया ?
च्याटजीपीटीको पछिल्लो दृष्टान्तले ग्रोकिपिडियालाई एआई प्रणालीहरूले प्रयोग गरिरहेको देखाए पनि ग्रोकिपिडिया विवादबाट मुक्त छैन । सुरुदेखि नै यसले विकिपिडियाको सामग्री जस्ताको तस्तै नक्कल गरेको आरोप खेप्दै आएको छ । सबैभन्दा गम्भीर प्रश्न यसको निष्पक्षतामाथि उठाइएको छ ।
आलोचकहरूका अनुसार ग्रोकिपिडियाले एलन मस्कका व्यक्तिगत धारणा र दक्षिणपन्थी विचारधारालाई बढावा दिन्छ । विगतमा यसमाथि जलवायु परिवर्तन, अमेरिकामा ट्रम्प समर्थकले संसद भवनमाथि गरेको आक्रमण अर्थात ‘६ जनवरी’ घटना र समलैंगिक विवाहजस्ता संवेदनशील विषयमा भ्रामक जानकारी फैलाएको आरोप पनि लाग्ने गरेको छ।
विकिपिडियाभन्दा फरक संरचना
विकिपिडिया र ग्रोकिपिडियाको कार्यशैलीमा व्यापक भिन्नता रहेको छ । विकिपिडिया एक खुला र लोकतान्त्रिक प्लेटफर्म हो जहाँ प्रयोगकर्ताले प्रत्यक्षरूपमा सामग्री सम्पादन गर्न सक्छन् । यसविपरीत ग्रोकिपिडिया भने पूर्णरूपमा एआईद्वारा सञ्चालित छ । यहाँ प्रयोगकर्ताले पृष्ठपोषणमार्फत सुझाव दिन त सक्छन् तर त्यसलाई स्वीकार्ने नस्वीकार्ने अन्तिम निर्णय एआई प्रणालीले नै गर्छ ।
रिपोर्टअनुसार च्याटजीपीटीले गलत जानकारीको जोखिम बढी भएका विवादित विषयमा ग्रोकिपिडियालाई उद्धृत नगरे पनि कम परिचित विषयमा भने सोही प्लेटफर्मका सामग्री प्रयोग गरेको छ।
च्याटजीपीटी मात्र होइन ‘क्लाउड’ पनि उस्तै
रोचक पक्ष के छ भने एलन मस्कको ग्रोकिपिडियालाई प्रयोग गर्नेमा केवल ओपनएआई मात्र छैन । एन्थ्रोपिकले विकास गरेको एआई मोडेल ‘क्लाउड’ ले पनि पेट्रोलियम उत्पादनदेखि स्कटिश बियर जस्ता विषयमा ग्रोकिपिडियाबाटै जानकारी संकलन गरेको पाइएको छ।
उता ओपनएआईका प्रवक्ताले चाहिँ च्याटजीपीटीको सर्च प्रणालीले इन्टरनेटमा उपलब्ध विभिन्न सार्वजनिक स्रोत र दृष्टिकोणहरू समेट्ने प्रयास गर्ने तर गलत जानकारी प्रयोगकर्तासम्म नपुगोस् भन्नका लागि ‘सेफ्टी फिल्टर’ को प्रयोग गर्ने गरिएको दाबी गरेका छन्। साथै च्याटजीपीटीले आफूले उद्धृत गरेका श्रोतलाई पारदर्शी रूपमा उल्लेख गर्ने गरेको पनि उनको भनाइ छ ।
एजेन्सी
प्रतिक्रिया 4