+
+
Shares

दक्षिणएशियाको ‘स्टोरीटेलर’ : मार्क टली

बंगलादेश स्वतन्त्रताको लडाइँ मैदानमा राइफलको मात्र होइन, रेडियोमा मार्क टलीको आवाजले पनि लडिएको थियो । टलीको हिन्दी र अंग्रेजी रिपोर्टिङ यति सन्तुलित र तथ्यपरक हुन्थ्यो कि बंगलादेशका गाउँ–गाउँमा बीबीसीलाई अन्तिम सत्य मानिन्थ्यो ।

निमा काफ्ले निमा काफ्ले
२०८२ माघ १३ गते १०:२९

यदि कसैले मेरो २० वर्षको पत्रकारिता यात्राको प्रेरणा को हो भनेर सोध्यो भने, मेरो दिमागमा धेरै नामहरू आउँछन् । विशेषगरी टेलिभिजन पत्रकारिताको मेरा यी दुई दशकका दौरानमा समय, परिस्थिति र फरक–फरक माध्यमसँगै भेटिएका अनेकौं व्यक्तित्वले मेरो मिडियाको पेशागत विकासमा आ–आफ्नै विशिष्ट स्थान ओगटेका छन् । तर ती सबै अनुभवका सूचीहरू पल्टाउँदै जाँदा एउटा नाम भने सधैं उच्च सम्मानका साथ शीर्ष स्थानमा रहन्छ र कहिल्यै विस्मृत हुँदैन । त्यो नाम हो– मार्क टली ।

मैले मार्क टलीलाई कहिल्यै भेटिनँ, तर उनको दृष्टि र पत्रकारिताले मेरो जीवनलाई सधैं प्रेरित गर्‍यो । यो कुरा बुझ्न थोरै पछाडि फर्किनुपर्छ । मेरो बाल्यकाल सुदूरपश्चिमको महेन्द्रनगरमा बित्यो । ९० को दशकमा टेलिभिजनको प्रभाव निकै सीमित थियो, तर दूरदर्शनले मेरो भिजुअल एस्थेटिक र टेलिभिजनप्रतिको प्रेम निर्माण गरिदियो ।

त्यतिबेला विश्वभर ‘सीएनएन इफेक्ट’ ले समाचार हेर्ने तरिका नै बदल्दै थियो । समाचार अब रियल टाइम र भिजुअल हुन थालेको थियो । तर म भने विश्वको एउटा सानो कुना, महेन्द्रनगरमा बसेर त्यही पर्दाभित्रको संसारलाई नजिकबाट चिन्न र आफैं त्यसमा प्रवेश गर्ने सपना देख्दैथिएँ ।

त्यो समयमा टेलिभिजनमा मेरा आइकन ल्यारी किङ र ओप्रा विन्फ्रे थिए । ल्यारी किङको प्रश्न सोध्ने शैली र ओप्राको टिभीको इमोशनल हुकको सिग्नेचर स्टाइल प्रेरणाको स्रोत बनेको थियो ।

त्यस बेलादेखि म स्पष्ट थिएँ– म सत्य खोज्ने र मानवीय कथा सुनाउने पत्रकार बन्नेछु । मेरो पत्रकारिताको सुरुआती यात्रा सुदूरपश्चिमको महेन्द्रनगरमा नै बित्यो । त्यहाँको रेडियो स्टेशनको स्टुडियोमा पहिलो पटक माइकमा बोल्दा मैले महसुस गरें, शब्दको शक्ति वास्तवमै अनन्त हुन्छ । लाइभ कार्यक्रममा बोल्दा होस् या पत्रिकामा समाचार लेख्दा; मानिसको जीवन, पीडा र आशाको कथालाई शब्दमा समेट्दा म अचम्मको ऊर्जा महसुस गर्थें । रिपोर्टिङ गर्नु, घटनाको पृष्ठभूमि बुझ्नु र सत्य खोज्नु मेरो दैनिकी भयो ।

मेरो इच्छा थियो ठूलो मञ्चमा पुग्ने, जहाँ कथाहरू दृश्य र आवाज दुवै माध्यमबाट पाठक र दर्शकसम्म पुग्छन् । यही उद्देश्यका साथ काठमाडौंको प्रवेशसँगै मैले टेलिभिजन पत्रकारितामा आफ्नो औपचारिक यात्रा शुरु गरें । विभिन्न टिभीमा कार्यक्रम सञ्चालन गरें, प्रत्यक्ष प्रसारणको चुनौतीलाई सामना गर्दै जिम्मेवारीका साथ भिजुअल स्टोरीटेलिङमा आफ्नो शैली बनाउँदै गएँ ।

आमसञ्चारमा स्नातकोत्तर गर्नुअघि म एक विशेष मिडिया कोर्सका लागि पाकिस्तान पुगेको थिएँ । त्यहीं इन्ष्टिच्युटमा पढ्दै गर्दा मैले त्यहींको सेरोफेरोमा एउटा पुस्तक हेरेको थिएँ, ‘अमृतसर : मिसेज गान्धी लास्ट ब्याटल’ ।

त्यो पुस्तक मेरो बौद्धिक चेतनाको प्रस्थानबिन्दु बन्यो । पानाहरू पल्टिंदै जाँदा मैले मार्क टलीलाई एक लेखक वा बीबीसीका पूर्व दक्षिणएशिया प्रमुखका रूपमा मात्र होइन, बरु समयको एउटा कठोर र इमानदार स्टोरीटेलरका रूपमा चिन्न थालें ।

अध्ययनका क्रममा बंगलादेशका सहपाठीले बेला–बेला सुनाएका टलीका किस्साहरू झनै रोचक लाग्थे । सन् १९७१ को बंगलादेश स्वतन्त्रता संग्रामको प्रसंग म अझै सम्झन्छु । सहपाठीका अनुसार बंगलादेश स्वतन्त्रताको लडाइँ मैदानमा राइफलको मात्र होइन, रेडियोमा मार्क टलीको आवाजले पनि लडिएको थियो ।

उनले पत्रकारितालाई केवल सूचना प्रवाहको माध्यम मानेनन्, संस्कृतिको अनुवाद माने । दक्षिणएशियाको राजनीति, धर्म, इतिहास र भावनासँग गाँसिएको हुन्छ भन्ने उनले बुझेका थिए, त्यसैले उनका रिपोर्टहरू समाचार मात्र होइन, समाजका दर्पण पनि थिए

टलीको हिन्दी र अंग्रेजी रिपोर्टिङ यति सन्तुलित र तथ्यपरक हुन्थ्यो कि बंगलादेशका गाउँ गाउँमा बीबीसीलाई अन्तिम सत्य मानिन्थ्यो । तात्कालिक अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र हेनरी किसिन्जर रणनीतिक रूपमा पाकिस्तानको पक्षमा उभिएका थिए । तर, टलीको रिपोर्टिङले अमेरिकी जनता र प्रेसले आफ्नै सरकारको नीति विरुद्ध विद्रोह सुरु गरे ।

दक्षिणएशियाको एउटा कुनामा भइरहेको युद्ध, लन्डनबाट बोल्ने एउटा आवाजका कारण वासिङ्टनको ‘ह्वाइट हाउस’ भित्र गम्भीर बहसको विषय बन्यो ।

ती सबै कुरा सुनेपछि मैले ‘अमृतसर : मिसेज गान्धीज लास्ट ब्याटल’ पूरै पढें । आज पनि यो मेरो प्रिय पुस्तक मध्येको एक हो । यो पुस्तकको पृष्ठभूमि सन् १९८४ को जून महिना हो । पञ्जाबको शिख धर्मको सर्वाेच्च आस्थाको केन्द्र स्वर्ण मन्दिर (हरिमंदिर साहिब) भित्र अलग ‘खालिस्तान’ को माग गर्दै जरनैल सिंह भिंडरावालेको नेतृत्वमा सशस्त्र विद्रोहीहरूले मोर्चाबन्दीको घटना यसभित्र छ ।

बाहिर भारतीय सेनाको कडा र कठोर घेराबन्दी थियो । ठिक त्यही बेला, बीबीसीका लागि ‘ग्राउन्ड जिरो’ बाट रिपोर्टिङ गर्दै मार्क टली अमृतसर पुगेका थिए । इन्दिरा गान्धी सरकारले भिंडरावाले र उनका सशस्त्र समर्थकहरूलाई नियन्त्रणमा लिन सैन्य हस्तक्षेपको निर्णय त गर्‍यो, तर टलीका अनुसार, सरकारले यो निर्णयको राजनीतिक, धार्मिक र भावनात्मक परिणामलाई गम्भीर रूपमा कम आकलन गरेको थियो ।

सेनाको योजना थियो– अकाल तख्त (शिखहरूको सर्वाेच्च राजनीतिक पीठ) लाई क्षति नपुर्‍याई विद्रोहीहरूलाई नियन्त्रणमा लिनु । तर मन्दिरभित्रको प्रतिरोध अनुमानभन्दा धेरै कडा, संगठित र रणनीतिक थियो । अन्तत: लोकतन्त्रको रक्षा गर्ने सेनाले आफ्नै देशको पवित्र धार्मिक स्थलभित्र ट्यांक र भारी हतियार प्रयोग गर्नु पर्‍यो । अमृतसरमा कडा कर्फ्यु लगाइएको थियो । विदेशी पत्रकारलाई शहरबाट बाहिर निकालिएको थियो । राज्यले एउटा पूर्ण ब्ल्याकआउट सिर्जना गरेर सूचनाको सम्पूर्ण प्रवाहलाई बन्द गरेको थियो । तर त्यो मौनताभित्र पनि टली भने मौन बसेनन् ।

आफ्ना भूमिगत र विश्वसनीय स्रोतहरू प्रयोग गर्दै उनले मन्दिरभित्र भइरहेको रक्तपात र विनाशको विवरण सङ्कलन गरिरहे । टलीले यस सैन्य कारबाहीलाई स्पष्ट र कठोर शब्दमा इन्दिरा गान्धीको अन्तिम लडाइँ भने । किनकि, यही घटनाको चार महिनापछि ‘अपरेशन ब्लु स्टार’को प्रतिशोधस्वरुप इन्दिरा गान्धी आफ्नै सुरक्षाकर्मीबाट मारिइन् ।

मार्क टली इमानदार पत्रकार थिए । उनको रिपोर्टिङ शैली अरूभन्दा भिन्न थियो । सन् १९८४ को भोपाल ग्यास त्रासदीलाई संसारले एउटा प्राविधिक औद्योगिक दुर्घटनाको नाम दिएर बिर्सन खोज्दा टलीले त्यसभित्र लुकेको राज्य र कर्पाेरेट लापरवाहीको नाङ्गो अनुहार विश्वसामु ल्याइदिए । पत्रकारिता किन भयो र मूल्य कसले चुकायो भन्ने प्रश्न सोध्ने साहस र पीडितको पक्षमा उभिने एउटा अविचलित नैतिक अडान बन्यो टलीका लागि ।

मलाई पनि मार्क टलीको समाचारलाई हेर्ने फरक एङ्गल अति मन पर्दथ्यो । सन् १९९१ मा राजीव गान्धीको हत्या हुँदा विश्वका धेरै मिडियाले सनसनीखोज घटनाको रूपमा रिपोर्ट गरे, तर टलीले त्यसलाई दक्षिणएशियाको एउटा बृहत्तर भू–राजनीतिक खेलको दु:खद् परिणामका रूपमा प्रस्तुत गरे ।

धेरै मिडिया गान्धीको हत्या र त्यहाँको बीभत्स दृश्यमा अल्झिए, तर टलीले त्यो विस्फोट गराउने बारुदको स्रोत खोजे । उनले यो हत्यालाई इन्डो–श्रीलंका सम्झौता (१९८७) र भारतीय शान्ति सेनाको असफलतासँग जोडेर एउटा ऐतिहासिक सन्दर्भ दिए ।

सन् १९९२ डिसेम्बर ६, अयोध्यामा बाबरी मस्जिद विध्वंस हुँदा टलीले पत्रकारिताको चरम परीक्षण भोगे । अयोध्यामा उग्र भीडले टलीलाई मृत्युदण्ड देउ भन्दै नारा लगाउँदा उनी एउटा कोठामा थुनिएका थिए ।

मार्क टलीको व्यक्तित्वको मिथ धेरै छन् । सन् १९९३ मा बीबीसीका तत्कालीन महानिर्देशक जोन बिर्टले समाचार कक्षमा कर्पाेरेट नियम मार्फत नियन्त्रण लागू गर्न खोज्दा उनले जुन विद्रोह गरे, त्यो विश्व पत्रकारिताको इतिहासमा एक नैतिक क्रान्ति थियो ।

लाइभ कार्यक्रममै महानिर्देशकको खुला आलोचना गर्दै उनले आफ्नो राजीनामा मार्फत देखाइदिए, संस्थाको शक्ति, स्रोत र पद जतिसुकै विशाल किन नहोस् एउटा पत्रकारको सत्य विवेक र नैतिक दायित्व त्योभन्दा धेरै माथि हुन्छ ।

टलीको भौतिक उपस्थितिको अन्त्यसँगै दक्षिण एशियाली पत्रकारिताको एउटा स्वर्णिम र शानदार अध्यायमा फुल स्टप लागेको छ । उनी प्रसिद्ध पत्रकार वा बेस्टसेलर लेखक मात्र थिएनन्, एउटा जीवित संस्था थिए, एउटा नैतिक कम्पास थिए, जसमा; न्यानोपन र गहिरो मानवीय करुणाको अद्भुत संगम थियो ।

२५ जनवरी २०२६ मार्क टलीको भौतिक शरीर विदासँगै दक्षिण एशियाली पत्रकारिताको त्यो शानदार, बौद्धिक र नैतिक युगमा औपचारिक पूर्णविराम लागेको छ । हाम्रो समयमा पत्रकारिता अक्सर करिअर र टीआरपीको साँघुरो घेरामा कैद हुन पुगेको छ

उनी प्यारासुट जर्नालिज्म (अचानक ओर्लेर रिपोर्टिङ गर्ने) का विरोधी थिए । उनी स्थानीय माटोमा घुलमिल भएर, मानिसको आँखामा आँखा जुधाएर सत्य खोज्नुपर्नेमा विश्वास राख्थे । आजको फास्ट फुड पत्रकारिताको युगमा टलीको त्यो धैर्य र गहिरो सहानुभूतिपूर्ण विश्लेषण तथा बुझाइको खडेरी स्पष्ट देखिन्छ ।

टलीका पुस्तकहरू– “नो फुल स्टप इन इण्डिया”, “इण्डिया इन स्लो मोशन”, “द हार्ट अफ इण्डिया” पढ्दा स्पष्ट हुन्छ उनी दक्षिण एशियाको आत्मा बुझ्ने एक दार्शनिक थिए । उनले सत्ताका कोरिडोरभन्दा टाढा रहेका सीमान्तकृत र सल्बर्टन समुदायका संवेदना र कथालाई सधैं आफ्नो पत्रकारिताको केन्द्रमा राखे ।

मार्क टली र नेपालको सम्बन्ध पनि लामो छ । विशेषगरी ओशो तपोवनका स्वामी अरुणले स्मरण गरे झैं, सन् १९९१ (२०४८ साल) को आम निर्वाचनपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टाराई (किसुनजी) र टलीबीचको त्यो ऐतिहासिक संवाद आज पनि लोकतन्त्रको उत्कृष्ट भाष्य मानिन्छ ।

बहालवाला प्रधानमन्त्रीकै अवस्थामा काठमाडौं १ बाट पराजित भएपछि जब बीबीसीका लागि टलीले किसुनजीलाई सोधे, तपाइँ आफैं प्रधानमन्त्री, तपाईंले नै गराएको चुनाव तर तपार्इं आफैं नै हार्नुभयो, यसलाई कसरी हेर्नुहुन्छ ? तब आफ्नो चिरपरिचित विट्टी शैलीमा किसुनजीले भनेका थिए— यो नै त निष्पक्ष चुनावको सबैभन्दा ठूलो प्रमाण हो, यदि मैले धाँधली गरेको भए म कसरी हार्ने थिए र ?

सत्ताको शिखरमा बसेर पनि पराजयलाई यसरी उत्सवका रूपमा स्वीकार गर्नु किसुनजीको लोकतान्त्रिक निष्ठा र सन्त व्यक्तित्वको उच्चतम उदाहरण थियो । टलीले आफ्नो लेखमा किसुनजीलाई ‘नेपालको गान्धी’ भन्नुको अर्थ यही थियो ।

दक्षिण एशियाको माटोमा अझै पनि यस्ता सन्त राजनीतिज्ञ जीवित छन्, जसले हारमा पनि लोकतन्त्रको जित देख्छन्, टलीका लेखमा यी भनाइहरू देख्न सकिन्थ्यो । विदेशी भए तापनि मार्क टलीले भारत र दक्षिणएशियाको समाज, संस्कृति र राजनीतिक जटिलतालाई गहिरो रूपमा बुझ्न खोजे । उनले भाषा सिके, स्थानीय जीवनमा घुलमिल भए र सांस्कृतिक संवेदनशीलतालाई आत्मसात् गरे । यही सहानुभूतिपूर्ण दृष्टिकोण आजको राजनीतिक विश्लेषण र मिडियामा दुर्लभ छ । टली सत्ताप्रति आलोचनात्मक थिए, तर कहिल्यै क्रूर भएनन् ।

टलीले हिंसा, दंगा, विद्रोह र राजनीतिक संकटका बीच पनि मानवताको धागो छोडेनन् । उनका अनुसार पत्रकारको काम सत्य बोल्नु हो, तर कसैको गरिमालाई भत्काउनु हैन । आज सामाजिक सञ्जाल र डिजिटल मिडियाको युगमा, जहाँ अफवाह र घृणा छिटो फैलिन्छ, यो दृष्टिकोण अझै मूल्यवान् छ ।

२५ जनवरी २०२६ मार्क टलीको भौतिक शरीर विदासँगै दक्षिण एशियाली पत्रकारिताको त्यो शानदार, बौद्धिक र नैतिक युगमा औपचारिक पूर्णविराम लागेको छ । हाम्रो समयमा पत्रकारिता अक्सर करिअर र टीआरपीको साँघुरो घेरामा कैद हुन पुगेको छ ।

नेपाल जस्तो बहुसांस्कृतिक देशमा पत्रकारिता अझै धेरै हदसम्म सतही विश्लेषणमै सीमित छ । तर टलीले पत्रकारितालाई एउटा मानवीय सेवा र सत्यको अनवरत खोजीको रूपमा परिभाषित गरे, आजको विभाजित र इको चेम्बरमा बाँडिएको मिडिया जगतका लागि टली एउटा जीवन्त पाठशाला हुन्, जसले निष्पक्षताको कठिन तपस्या कसरी गरिन्छ भन्ने सिकाएर गए ।

उनले पत्रकारितालाई केवल सूचना प्रवाहको माध्यम मानेनन्, संस्कृतिको अनुवाद माने । दक्षिणएशियाको राजनीति, धर्म, इतिहास र भावनासँग गाँसिएको हुन्छ भन्ने उनले बुझेका थिए, त्यसैले उनका रिपोर्टहरू समाचार मात्र होइन, समाजका दर्पण पनि थिए ।

आज पत्रकारिता विश्वासको संकट र दिशाहीनताको मोडमा उभिएको छ । मार्क टलीको पत्रकारिताले शान्त र गहिरो सन्देश दिन्छ– पत्रकारिता पदर्शन होइन, जिम्मेवारी पनि हो । आज उनी भौतिक रूपमा हामी माझ नभए पनि उनको अडानले हामीलाई सधैं झक्झकाइरहनेछ कि एउटा पत्रकारको पहिलो र अन्तिम ‘वफादारी’ मात्र सत्यप्रति हुनुपर्दछ ।

आज दक्षिण एशियाली पत्रकारिता शोकमा छ । मार्क टलीको भौतिक आवाज रेडियोमा सुनिने छैन, तर उनका शब्द, पुस्तक र दृष्टिकोण सदैव जीवित रहनेछन् । मार्क टली, तपाईंले भनेको यो वाक्य लिएर म यो पेशामा उभिएको छु, ‘सत्य बोल्ने साहस नै पत्रकारिताको अन्तिम र एक मात्र सार्थकता हो’ ।

अलविदा सर मार्क !

लेखक
निमा काफ्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?