+
+
Shares

काठमाडौं-१० मा कांग्रेस-एमालेले नयाँलाई अवसर दिँदा रास्वपाले दोहोर्‍यायो

गत निर्वाचनमा यस क्षेत्रमा तेस्रो स्थानको मत प्राप्त गर्ने प्रदीप विष्टलाई रास्वपाले उम्मेदवार बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १६:४९

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं–१० मा लगातार तीनपटक निर्वाचित व्यक्ति उम्मेदवार नहुने निर्णय लिएपछि नयाँ अनुहारले अवसर पाएका छन् । २०७० सालदेखि निरन्तर जितेको स्थानमा यसपटक उम्मेदवार नहुने निर्णय कांग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीले लिएका थिए ।

पूर्व सांसद केसीको स्थानमा कांग्रेसले हिमाल कार्कीलाई अघि बढाएको छ । विघटित प्रतिनिधि सभाको दोस्रो दल नेकपा एमालेबाट पनि यसपटक नयाँ अनुहार नै अवसर पाएका छन् ।

एमालेबाट मजदुर नेता बिनोद श्रेष्ठ उम्मेदवार बनेका छन् । कांग्रेसका कार्की र एमालेका श्रेष्ठ प्रतिनिधि सभाका लागि पहिलोपटक चुनावी प्रतिस्पर्धी हुन् । कांग्रेसका उम्मेदवार कार्कीले २०५४ सालमा वडाध्यक्षका लागि प्रतिस्पर्धा गरेर निर्वाचित भएयता उम्मेदवार हुन पाएका थिएनन् ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) बाट काठमाडौं–१० मा नयाँ अनुहार अघि सार्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने पूरानै अनुहार दोहोर्‍याएको छ । गत निर्वाचनमा यस क्षेत्रमा तेस्रो स्थानको मत प्राप्त गर्ने प्रदीप विष्टलाई रास्वपाले उम्मेदवार बनाएको छ । विष्ट रास्वपाका काठमाडौं जिल्ला सभापति समेत हुन् । तत्कालीन माओवादी केन्द्रबाट अञ्जना विशंखे प्रतिस्पर्धा गरेको यस क्षेत्रमा हालको नेकपाले रुपा महर्जनलाई उम्मेदवार बनाएको छ । त्यसबेला विशंखेले चौथो स्थानको मत (५२६५ ) प्राप्त गरेकी थिइन् ।

विगतका निर्वाचनको तुलना गर्दा यस क्षेत्रमा कांग्रेस पहिलो शक्ति हो । यस क्षेत्रमा पर्ने जम्मा २९ वडा मध्ये २१ वटामा कांग्रेस वडाध्यक्ष उम्मेदवारले जितेका छन् । काठमाडौँ १० मा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा पर्दछन् । कीर्तिपुर,  चन्द्रागिरी  र दक्षिणकाली नगरपालिकामा कांग्रेसले जितेको छ । कीर्तिपुर नगरपालिकामा भएको उपचुनावमा समेत कांग्रेसले जितेको थियो ।

२०६४ पछि भएका सबै निर्वाचनमा यो क्षेत्र कांग्रेसको पक्षमा देखिँदै आएको छ । २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितेका थिए । त्यसयता निरन्तर कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले जित्दै आएका थिए । २०७०, २०७४ र २०७९ सालमा केसी निर्वाचित भए । दोस्रो संविधान सभाको निर्वाचनमा दोहोर्‍याएर उठेका प्रचण्डलाई कांग्रेसका केसीले पराजित गरेका थिए । दोस्रोपटक काठमाडौं–१० बाट प्रचण्ड उठ्दा उनी तेस्रो स्थानमा खुम्चिए । दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसका केसीले २० हजार ३९२ मत ल्याएर जिते । दोस्रो स्थानमा एमालेका सुरेन्द्र मानन्धरले १३ हजार ६१५ मत पाएका थिए भने प्रचण्डको पक्षमा १२ हजार ८५२ मत आएको थियो ।

२०७४ सालमा एमाले र माओवादी मिलेर चुनावी प्रतिस्पर्धा गर्दा समेत केसीलाई हराउन सकेनन् । तत्कालीन माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई केसीले पराजित गरेका थिए । केसीको पक्षमा २४ हजार १९० मत खस्दा माओवादी केन्द्रका शाक्य २१ हजार ९०७ मत सहित दोस्रो भए ।

तेस्रोपटक केसीले गत निर्वाचनमा जिते । केसीले १४ हजार ४६३ मत ल्याई निर्वाचित हुँदा दोस्रो स्थानको मत एमालेका हिमेश केसीले ११ हजार ७९१ पाएका थिए । तेस्रो स्थानको मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ८ हजार ७३९ मत पाएका थिए । गत निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतको आधारमा यस क्षेत्रमा कांग्रेस पहिलो, रास्वपा दोस्रो, एमाले तेस्रो शक्ति हुन् ।

तीनपटक लगातार जितेका केसी नउठ्ने भएसँगै उनी निकटका व्यक्ति हिमाल कार्कीले यहाँ कांग्रेसबाट टिकट पाएका छन् । विशेष महाधिवेशन पक्षमा खुलेका केसीको चाहना अनुसार उनका ‘विश्वासपात्र’ कार्कीलाई टिकट प्रदान गरिएको कांग्रेसभित्र चर्चा हुने गरेको छ । कीर्तिपुर नगरपालिकाको उपचुनावमा मेयर पदको उम्मेदवारको आकांक्षी रहेका कार्कीले प्रतिनिधि सभाको टिकट पाउन सफलल भएका छन् । ५५ वर्षीय कार्की कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थानीय हुन् । २०४३ सालबाट नेविसंघको राजनीति हुँदै उनी पार्टी राजनीतिमा प्रवेश गरेका थिए । २०५४ सालमा उनी वडाध्यक्ष बनेका थिए ।

गत निर्वाचनमा दोस्रो शक्ति बनेको एमालेबाट मजदुर नेता यस क्षेत्रमा उम्मेदवार बनेका छन् । एमालेको पूर्व पोलिटब्यूरो सदस्य समेत रहेका विनोद श्रेष्ठ पार्टीले गर्ने सभामा मञ्च व्यवस्थापनमा संयोजन गर्दै आएका व्यक्ति हुन् । पार्टी खुला राजनीतिमा आएदेखि महाधिवेशनको मञ्च निर्माणको संयोजन श्रेष्ठले गर्दै आएका छन् । ‘चौथो महाधिवेशन भूमिगत कालमा भयो । पार्टी खुला रूपमा आएपछि पाँचौंदेखि अहिलेसम्म मेरै नेतृत्वमा मञ्च बनाउने काम भइरहेको छ,’ ११ औं महाधिवेशनको बेला श्रेष्ठले अनलाइनखबरसँग भनेका थिए । नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष र दक्षिण एसियाली ट्रेड युनियन महासंघको उपाध्यक्ष पद श्रेष्ठले सम्हालेका छन् । ६१ वर्षीय श्रेष्ठ चन्द्रागिरी नगरपालिका निवासी हुन् ।

रास्वपाले अघिल्लोपटक प्रत्यक्षमा प्रतिस्पर्धा गरेका प्रतिस्पर्धा गरेका प्रदीप विष्टलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा रास्वपा प्रत्यक्षमा तेस्रो र समानुपातिकमा दोस्रो स्थानमा थियो । प्रत्यक्षतर्फ तेस्रो स्थानको मत सहित विष्टले ८ हजार ७३९ मत ल्याउँदा रास्वपाले समानुपातिकमा ११ हजार ५७६ मत प्राप्त गरेको थियो । ५१ वर्षीय विष्ट कीर्तिपुर नगरपालिकाका स्थानीय हुन् । केही समयअघि जिल्ला सभापतिबाट विष्टले राजीनामा दिएपनि पार्टीले पूर्ववत् रुपमा क्रियाशील हुन आग्रह गरेपछि सोही पदमा बसेर काम गर्न लागेका थिए ।

गत चुनावको आधारमा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो शक्ति हो । समानुपातिकमा कांग्रेसले ११ हजार ६१४, दोस्रो स्थानको रास्वपाले ११ हजार ५७६, तेस्रो स्थानको मत एमालेको पक्षमा १० हजार १८२ मत खसेको थियो ।

प्रचण्ड संयोजक रहेको नेकपाले काठमाडौं–१० मा रुपा महर्जन (श्रेष्ठ) लाई अघि सारेको छ । चन्द्रागिरी निवासी महर्जन तत्कालीन माओवादी केन्द्रका पुराना नेता दिलिप महर्जनको छोरी हुन् । संविधानसभा सदस्य महर्जनका पति युद्धकालमा बेपत्ता भएका थिए ।

दलीय र स्वतन्त्र गरी २५ जनाले काठमाडौं–१० बाट उम्मेदवारी दिएका छन् । तीमध्ये स्वतन्त्र उम्मेदवार हुने १० जना छन् ।

काठमाडौं–१० मा ८३ हजार ३०१ मतदाता छन् । कूल मतदाताको संख्यामा बहुमत महिलाको संख्या छ । महिला मतदाता ४२ हजार ७१६ रहेको यस क्षेत्रमा पुरुष मतदाताको संख्या ४० हजार ५८३ छ । निर्वाचन आयोगका अनुसार यस क्षेत्रका लागि मतदान स्थल ४७ र मतदान स्थल ९८ वटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?