+
+
Shares

चुनाव लड्न छाडेर ‘बर्लिन फिल्म फेस्टिभल’ को जुरी बनेका मीनबहादुर भाम

विष्णु शर्मा विष्णु शर्मा
२०८२ माघ १४ गते २१:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मीनबहादुर भामले कांग्रेसबाट चुनाव नलड्ने निर्णय गर्दै सन् २०२६ को बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जुरी सदस्य बन्ने भएका छन्।
  • मीनले चुनाव र जुरी सदस्यताबीचको द्विविधामा परेर तीन महिना निर्णय टर्दा कांग्रेस सभापति र उपसभापतिसँग परामर्श गरेका थिए।
  • बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बन्नुलाई मीनले व्यक्तिगत र नेपाली सिनेमा क्षेत्रको लागि महत्वपूर्ण अवसर भनेका छन्।

काठमाडौं । कांग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्ने अन्तिम तयारीमा थिए मीनबहादुर भाम । यसका लागि सबै तयारी भैरहेको थियो ।

३ महिनाअघि अचानक बर्लिन फिल्म फेस्टिभलबाट इमेल आयो । त्यो इमेल बर्लिनको २०२६ को संस्करणमा मीनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फको जुरी बनाउनेबारे थियो ।

चुनाव लड्ने कि फेस्टिभलको जुरी सदस्य बनेर जर्मनीतिर लाग्ने । ठूलो दोधारमा परे मीन । उनले बर्लिनको उक्त प्रस्तावलाई झन्डै ३ महिना ‘होल्ड’ मा राखे ।

यसबीच उनले कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग समेत परामर्श गरे । टिकट दिने अन्तिम दिनको बेलुकासम्म भाम सभापति थापा र उपसभापति शर्मासँग काठमाडौंको १, २, ३, ४ र १० मध्ये कुन निर्वाचन क्षेत्रबाट लड्ने बारे छलफल गर्दै थिए ।

‘त्यसपछि मैले अन्तिम निर्णय गरेर अर्कोपाली चुनावमा उठ्छु । बरु, संगठन बनाउन देशभरि जान्छु र नेपाली कांग्रेसको केन्द्रीय कमिटीमा बसेर काम गर्छु भन्ने अठोट भएर बर्लिनमा जाने निर्णय गरेको थिएँ’ उनले भने ।

यी परामर्श र मनको कुरा सुनेपछि मीनले निर्णय गरे- चुनाव नलड्ने, बर्लिन फिल्म फेस्टिभलको जुरी बन्ने ।

‘लास्ट आवरसम्म पनि बर्लिनको प्रस्ताव स्वीकारेको थिइँन । किनकी म उम्मेदवार बन्ने तयारी थियो । चुनाव लडेपछि जान नपाइएला कि भन्ने थियो’ मीनले भने, ‘मलाई दुईमध्ये एक छान्नुपर्ने थियो । सारा चीजलाई एक ठाउँमा राखेर हेरेपछि फेस्टिभलमा जाने निधो गरेँ ।’

मीनले बर्लिनको जुरी सदस्य बन्नुलाई आफ्नो करिअरकै ठूलो उपलब्धिको रुपमा चर्चा गरे । ‘रुस, अमेरिका, अस्ट्रेलियाका फेस्टिभलको जुरी त बनेको थिएँ तर, कान्स बर्लिन भेनिसको जुरी बन्ने बारे कहिल्यै सोचेको थिइँन’ मीनले भने, ‘बर्लिन कान्स भेनिसको प्रतिस्पर्धामा जाने कुरा नै गाह्रो र सपनाको कुरा थियो । कहिल्यै पनि मैले यसरी सोचेकै थिइँन ।’

आफू बर्लिनको जुरी सदस्य बन्नुलाई मीनले व्यक्तिगत र नेपाली सिनेमा क्षेत्रको लागि महत्वपूर्ण अवसरको रुपमा चर्चा गरे । ‘प्रतिस्पर्धाको जुरी भएर जान पाउँदा मलाई त हुने नै भयो । ग्लोबल फिल्ममा नेपालको उपस्थिती पनि बलियो हुनेछ’ मीन सुनिए ।

‘इमेल पाउँदा खुसी लाग्यो । नेपाली भएर त्यसरी त्यहाँ जान पाउनु व्यक्तिगत र सामूहिक खुसी र गर्व महसुस भएको छ’ उनले भने । रोचक कुरा के छ भने, सन् २०११ मा दक्षिण एसियाबाट बलिउड अभिनेता आमिर खान बर्लिनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका जुरी थिए ।

आमिरपछि ‘कालोपोथी’ र ‘शाम्बाला’ फेम्ड मीनले त्यो मौका पाएका छन् । ‘शाम्बाला’ गतवर्ष बर्लिनकै मुख्य विधाको प्रतिस्पर्धामा थियो । बर्लिनमा सहभागी हुन मीन ९ फेब्रुअरीमा त्यता जाँदैछन् ।

‘म जुन बेला जाँदैछु, त्यतिबेला देश निर्वाचनमा होमिएको बेला हुनेछ । यतिबेला म आफू आबद्ध दललाई सघाउन जिल्लामा जानुपर्ने थियो । दललाई सघाउनुपर्ने थियो’ मीन भन्छन्, ‘कता कता मनमा नरमाइलो लाग्या छ । चुनावको माहोलमा सहभागी हुन नपाउने कुराले मन अलि खिन्न भएको छ ।

बर्लिनको सन् २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यानलको अध्यक्षमा जर्मनीका विम वेन्डर्स छन् । सदस्यहरूमा नेपालका भामसहित दक्षिण कोरियाकी बे डुना, शिवेन्द्र सिंह डुंगरपुर (भारत), रेनाल्डो मार्कस ग्रीन (अमेरिका) र हिकारी (जापान) र इवा पुस्ज्चिन्स्का (पोल्याण्ड) छन् ।

मीनले सामाजिक सञ्जालबाट समेत यो खबर बाहिरिएपछि खुसी जनाएका छन् । मीन लेख्छन् :

७६औँ बर्लिनालेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सदस्यका रूपमा सेवा गर्न पाउँदा म निकै भावुक र गौरवान्वित छु । विम वेन्डर्स जस्ता दिग्गज व्यक्तित्व, जसको काम हामी धेरैका लागि एउटा मार्गदर्शन बनेको छ, उहाँसँगै उभिन पाउनु मेरा लागि सपनाभन्दा परको सम्मान हो । सन् २०११ मा मेरा प्रिय आदर्श आमिर खानले कोर्नुभएको ऐतिहासिक बाटोलाई स्मरण गर्दै, म यो पवित्र जिम्मेवारीलाई निकै विनम्रताका साथ स्वीकार गर्दछु । आज मेरो हृदय कृतज्ञताले भरिएको छ । यो प्रतिष्ठित विश्वमञ्चमा उभिँदै गर्दा, म आफूसँगै हाम्रा पहाडका सुसेली, नेपाली जनताको धैर्यता र नेपालको आत्मा बोकेर जाँदैछु । यो यात्रा मेरो मात्र होइन; यो हाम्रो साझा यात्रा हो । मलाई विश्वास गर्नुभएकोमा बर्लिनाले, महोत्सव निर्देशक ट्रिसिया टटल र मेरा आदरणीय सह-निर्णायकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । सिनेमाको परिवर्तनकारी शक्तिलाई उत्सवका रूपमा मनाउने यस गहन यात्राको लागि म निकै उत्साहित छु । बर्लिनमा भेटौँला !’

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?