१५ माघ , काठमाडौं । क्यानडाको केन्द्रीय बैंकका गभर्नर टिफ म्याक्लमले अमेरिकासँगको नियममा आधारित व्यापारको युग अब समाप्त भएको गम्भीर घोषणा गरेका छन्।
बुधबार ब्याजदर निर्धारण सम्बन्धी एक पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पका अनपेक्षित व्यापारिक नीतिहरूका कारण अब पुरानो कूटनीतिक र आर्थिक ढाँचामा फर्किन असम्भव रहेको बताए।
बैंक अफ क्यानडाले हालको प्रमुख व्याजदरलाई २.२५ प्रतिशतमा यथावत राखेको छ । यसको मुख्य कारण अमेरिकी भन्सार शुल्क र अनिश्चित व्यापार वातावरणलाई मानिएको छ।
गभर्नर म्याक्लमले प्रधानमन्त्री मार्क कार्नीको भनाइलाई समर्थन गर्दै भने कि क्यानडाले अब अमेरिकी संरक्षणवादको नयाँ वास्तविकतासँग जुध्न तयार हुनुपर्छ।
प्रधानमन्त्री मार्क कार्नीले भर्खरै विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै पुरानो मात्र याद गरेर रणनीति नबन्ने भन्दै क्यानडाजस्ता मध्यम शक्ति भएका राष्ट्रहरूलाई आफ्नो आर्थिक सुरक्षाका लागि नयाँ बाटो खोज्न आग्रह गरेका थिए।
क्यानडाको ७५ प्रतिशतभन्दा बढी निर्यात अमेरिकामा हुने भएकाले ट्रम्पको नीतिले क्यानडाको अटो, स्टिल, एल्युमिनियम र काठ उद्योगमा ठूलो धक्का पुऱ्याएको छ।
यसै वर्ष हुने अमेरिका-मेक्सिको-क्यानडा सम्झौता (यूएसएमसीए) को पुनरावलोकनले क्यानडाको अर्थतन्त्रमा थप अनिश्चितता थपेको छ । ट्रम्प प्रशासनले यस सम्झौतालाई पूर्ण रूपमा परिवर्तन गर्न वा खारेज गर्न सक्ने संकेत दिएको छ।
यसका साथै, गभर्नर म्याक्लमले अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (एफईडी ) को स्वतन्त्रतामाथि परिरहेको राजनीतिक दबाबप्रति पनि चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रपति ट्रम्पले फेडका गभर्नर लिसा कुकलाई पदमुक्त गर्ने प्रयास र अध्यक्ष जेरोम पावेलमाथि भइरहेको अनुसन्धानले विश्व बजारमै नकारात्मक असर पर्न सक्ने उनले चेतावनी दिए।
पावेलले पनि राजनीतिक दबाब वा धम्कीका आधारमा मौद्रिक नीति निर्देशित हुन नहुने भन्दै कडा प्रतिवाद गरेका छन्।
-जापान टाइम्सको सहयोगबाट
प्रतिक्रिया 4