News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपमा तेस्रोपटक भाग लिनेछ।
- नेपालले विश्वकपमा समूह चरणका सबै खेलहरू मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ र इंग्ल्यान्ड, इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
- नेपाली टोलीमा १५ खेलाडी छन् जसमा सोमपाल कामी मात्र सन् २०१४ को पहिलो विश्वकपबाट छन् भने ९ खेलाडी दोस्रो र ५ खेलाडी पहिलोपटक विश्वकप खेल्दै छन्।
काठमाडौं । नेपाली क्रिकेट टोलीले तेस्रोपटक आईसीसी टी-२० विश्वकप खेल्दै छ । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपका लागि नेपालको १५ सदस्यीय टोली घोषणा पनि भइसकेको छ ।
युवा तथा अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टोलीमा सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको टोलीबाट सोमपाल कामी मात्र छन्। बाँकी खेलाडीहरू कोही पहिलोपटक अनि कोही दोस्रोपटक विश्वकप खेल्दै छन् ।
कप्तान रोहित पौडेलसहित ९ खेलाडीहरू दोस्रोपटक विश्वकप खेल्दै छन् । रोहितसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र गुल्शन झाले सन् २०२४ को विश्वकपमा खेलेका थिए ।
यस्तै पाँच खेलाडीले भने पहिलोपटक विश्वकप खेल्ने मौका पाएका छन् । राष्ट्रिय टिममै पहिलोपटक परेका शेर मल्लसहित बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादव पहिलोपटक विश्वकप सहभागिता हुनेछ ।
नेपालले विश्वकपमा समूह चरणका सबै खेलहरू मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ । नेपाल इंग्ल्यान्ड, इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाली टोलीमा रहेका १५ खेलाडीबारे आज चर्चा गर्नेछौं ।
रोहित पौडेल

रोहित पौडेलले लगातार दोस्रोपटक नेपाली टोलीको कप्तानी गर्दै टी-२० विश्वकप खेल्न लागेका छन् । रोहित गत विश्वकपमा सबैभन्दा कान्छा कप्तान समेत थिए ।
२३ वर्षीय रोहित अलराउन्डर हुन् । उनले दाँयाहाते ब्याटिङ अनि पार्ट टाइम स्पिन बलिङ गर्छन् । रोहितले सन् २०१९ जनवरीमा यूएईसँगको खेलमार्फत नेपालका लागि टी-२०आईमा डेब्यू गरेका थिए ।
त्यसयता रोहितले नेपालका लागि ७६ टी-२०आई खेलमा ८ अर्धशतकसहित १६३७ रन बनाएका छन् । उनको उच्च स्कोर ६१ रहेको छ ।
बलिङमा उनले १३ विकेट लिएका छन् । रोहितले साढे ६ को इकोनोमीमा बलिङ गर्छन् ।
रोहितले गत विश्वकपमा नेपालका लागि ३ खेलमा ३६ रन बनाएका थिए भने २ विकेट पनि लिएका थिए ।
लगातार दोस्रोपटक विश्वकपमा टिमको नेतृत्व गर्न पाउँदा रोहित उत्साहित छन् । ‘टिमका सबै खेलाडी उत्साहित छन् । टिम पनि राम्रो छ । हाम्रो तयारी पनि राम्रो भएको छ, विदेशी प्रशिक्षकहरू पनि आउनुभएको छ’ कप्तान रोहितले भनेका छन्, ‘बिल्डअप पनि राम्रो भएको छ । एक्सपोजर पनि पाइएको छ।’
कप्तान रोहितले मैदानमा ११० प्रतिशत दिएर प्रदर्शन गर्ने र नेपाली समर्थकहरूलाई खुसी प्रदान गर्ने बताएका छन् ।
दीपेन्द्रसिंह ऐरी

नेपाली टोलीका उपकप्तान रहेका दीपेन्द्रले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।
२६ वर्षीय दीपेन्द्र नेपालका स्टार अलराउन्डर हुन् । उनले दाँयाहाते ब्याटिङ तथा स्पीन बलिङ गर्छन् ।
दीपेन्द्रले नेपालका लागि सन् २०१८ जुलाईमा लर्ड्समा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत टी-२०आईमा डेब्यू गरेका थिए ।
आईसीसी टी-२०आई वरियतामा दोस्रो स्थानसम्म पुग्न सफल भइसकेका दीपेन्द्रले नेपालका लागि ९० खेलमा १ शतक र १० अर्धशतक सहित १९५६ रन बनाएका छन् ।
दीपेन्द्रको उच्च स्कोर ११० नटआउटको छ । उनी नेपालका लागि टी-२०आईमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् । २००० रन पूरा गर्नबाट उनी ४४ रन मात्र टाढा छन् ।
दीपेन्द्रले बलिङमा ५८ विकेट पनि लिएका छन् । ६ को इकोनोमीमा बलिङ गरेका दीपेन्द्रले २ पटक ४-विकेट प्रदर्शन गरेका छन् ।
दीपेन्द्रले नेपालका लागि विभिन्न कीर्तिमानहरू पनि बनाएका छन् । सबैभन्दा कम बलमै अर्धशतक बनाएर नतोडिने विश्व कीर्तिमान बनाएका दीपेन्द्रले एकै ओभरमा ६ छक्का समेत प्रहार गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका छन् ।
गत टी-२० विश्वकपमा दीपेन्द्रले ३ खेलमा ३२ रन बनाएका थिए भने बलिङमा ६ विकेट लिएका थिए ।
दीपेन्द्रले नेपालको टोली पहिलेभन्दा अनुभवी भएर आएको र त्यसले अवसरसँगै चुनौती पनि खडा गरेको बताएका छन् । ‘हामी विश्वकपमा ठूला राष्ट्रसँग खेलेका छौं, सिरिज पनि खेलिरहेका छौं, अनुभव बटुल्न धेरै मद्दत पुगेको छ’ दीपेन्द्रले भनेका छन् । दीपेन्द्रले यसपटकको विश्वकपमा सुपर ८ मा पुग्ने लक्ष्य राखेको बताएका छन् ।
सोमपाल कामी

सोमपाल कामी नेपालका लागि तीनवटै विश्वकप खेल्ने एकमात्र खेलाडी हुन् । यो हिसाबले उनी टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् ।
२९ वर्षीय सोमपाल दाँयाहाते पेस बलर हुन् । उनले तल्लोक्रममा ब्याटिङबाट पनि योगदान दिन सक्छन् ।
सोमपालले सन् २०१४ को टी-२० विश्वकपअन्तर्गत हङकङसँगको खेलमा नेपालका लागि टी-२०आई डेब्यू गरे । त्यो नेपालको पहिलो टी-२०आई खेल थियो ।
सोमपालले नेपालका लागि ८६ खेलमा ८१ विकेट लिएका छन् । ७.१४ को इकोनोमीमा बलिङ गर्ने सोमपालको औसत २३ को छ ।
ब्याटिङमा सोमपालले ४० को उच्च स्कोरसहित ३६५ रन बनाएका छन् ।
सोमपालले सन् २०१४ को टी-२० विश्वकपमा ३ खेलमा ४ विकेट लिएका थिए । ब्याटिङबाट कुनै योगदान हुन सकेन ।
यस्तै सन् २०२४ को टी-२० विश्वकपमा सोमपालले ३ खेलमा ३ विकेट लिए । ब्याटिङमा ८ रन मात्र बनाएका थिए ।
सोमपालले पहिलोपटक विश्वकप खेल्दा क्षण सम्झिँदै त्यसबेला सारा विश्वलाई नेपाली क्रिकेटबारे चिनाउन महत्वपूर्ण रहेको बताए । ‘हामी पहिलोपटक विश्वकप खेलेर विश्वलाई चिनायौं नेपालमा पनि क्रिकेट हुन्छ भनेर । दोस्रोपटक चाहिँ हाम्रो कडा मेहेनतको प्रतिफल थियो, तेस्रोपटक खेल्दा चाहिँ अब यसलाई सधै निरन्तरता दिनुपर्छ भन्ने सोच नै हो’ सोमपालले नेपालबाट जानुअघि भनेका थिए ।
कुशल भुर्तेल

कुशल भुर्तेलले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।
२९ वर्षीय भुर्तेल दाँयाहाते ओपनिङ ब्याटर हुन् । पछिल्लो समय भुर्तेलले लेगस्पीन बलिङ समेत गर्दै आएका छन् ।
भुर्तेलले नेपालका लागि सन् २०२१ मा कीर्तिपुरमा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत टी-२०आई डेब्यू गरेका थिए । त्यसबेला उनले लगातार तीन खेलमा अर्धशतक समेत बनाएका थिए ।
भुर्तेल टप अर्डरमा खेल्दा पावरप्लेमा आक्रामक ब्याटिङको क्षमता राख्छन् । उनले नेपालका लागि ७० खेलमा १ शतक र १३ अर्धशतकसहित १८०७ रन बनाएका छन् ।
उनको उच्च स्कोर १०४ नटआउट रहेको छ । फिलिपिन्सविरुद्ध भुर्तेलले उक्त शतक बनाएका थिए ।
भुर्तेलले बलिङमा ३० विकेट पनि लिएका छन् ।
गत संस्करणको विश्वकपमा ३ खेलमा २४ रन बनाएका थिए भने ४ विकेट पनि लिएका थिए ।
आसिफ शेख

२४ वर्षीय विकेटकिपर ब्याटर आसिफ शेखले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् । दाँयाहाते ब्याटिङ गर्ने आसिफले पनि टप अर्डरमा खेल्ने गर्छन् ।
आसिफले नेपालका लागि भुर्तेलसँगै डेब्यू गरेका थिए । आसिफले पनि डेब्यू सिरिजमा राम्रो लय देखाएका थिए ।
आसिफले नेपालका लागि ६८ खेलमा १० अर्धशतकसहित १६३९ रन बनाएका छन् ।
गत विश्वकपमा आसिफले ३ खेलमा ३ खेलमा ६३ रन बनाएका थिए । उक्त विश्वकपमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी आसिफ थिए ।
करण केसी

करण केसी पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।
३४ वर्षीय करण दाँयाहाते बलर हुन् भने उनले पनि सोमपालजस्तै तल्लोक्रममा ब्याटबाट योगदान दिन सक्छन् ।
करणले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत टी-२०आई डेब्यू गरेका थिए ।
करणले नेपालका लागि ८५ टी-२०आई खेलमा १०६ विकेट लिएका छन् । उनले ३ पटक ४-विकेट प्रदर्शन गर्दा एकपटक ५-विकेट प्रदर्शन पनि गरेका छन् ।
ब्याटिङमा करणले ४५ को उच्च स्कोरसहित ४६८ रन बनाएका छन् ।
सन् २०२४ को टी-२० विश्वकपमा करणले २ खेलमा १७ रन बनाए भने कुनै विकेट लिन सकेनन् ।
सन्दीप लामिछाने

सन्दीपले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् । २५ वर्षीय सन्दीप दाँयाहाते लेग स्पीन बलर हुन् ।
सन्दीप नेपालका लागि टी-२०आईमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले ६७ खेलमा १२९ विकेट लिएका छन् ।
६ को इकोनोमीमा बलिङ गर्ने सन्दीपले आफ्नो करियरमा ३ पटक ४-विकेट प्रदर्शन अनि २ पटक ५-विकेट प्रदर्शन गरेका छन् । उनको बलिङ औसत पनि नेपालीमध्येकै उत्कृष्ट (१२) छ ।
गत संस्करणको टी-२० विश्वकपमा दुई मात्र खेल खेलेका सन्दीपले २ विकेट लिएका थिए ।
विश्वका धेरै फ्रेन्चाइज लिगमा खेलिसकेका सन्दीपले अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर प्राप्त गरेका छन् ।
ललित राजवंशी

ललित राजवंशी नेपाली टोलीका अर्का स्पीन बलर हुन् । उनी पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।
२६ वर्षीय ललितले लेफ्ट आर्म स्पिन बलिङ गर्छन् । ललितले पनि सन् २०१८ मा लर्ड्समा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत डेब्यू गरेका थिए ।
उनले नेपालका लागि ३७ खेलमा ३६ विकेट लिएका छन् । ६.३७ को इकोनोमीमा बलिङ गर्ने ललितले २१ को औसत राखेका छन् ।
गत संस्करणको टी-२०आई विश्वकपमा नेपालको टोलीमा रहेको भएपनि ललितले कुनै पनि खेल खेलेनन् ।
पछिल्लोपटक ललितले टी-२० विश्वकप छनोटअन्तर्गत सामोआसँगको खेल खेलेका थिए ।
गुल्शन झा

गुल्शन झा नेपाली क्रिकेट टोलीमा युवा अलराउन्डर हुन् । गुल्शनले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।
१९ वर्षीय गुल्शनले बाँयाहाते ब्याटिङ तथा दाँयाहाते मिडियम पेस बलिङ गर्छन् । उनले सन् २०२२ को विश्वकप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमार्फत टी-२०आईमा डेब्यू गरेका थिए ।
गुल्शनले टी-२०आई क्रिकेटमा ५१ खेलमा एक अर्धशतकसहित ६२९ रन बनाएका छन् । यस्तै गुल्शनले बलिङमा २९ विकेट पनि लिएका छन् । उनको बलिङ इकोनोमी ७ को रहेको छ ।
गत संस्करणको टी-२० विश्वकपमा गुल्शनले ३ खेलमा २० रन बनाएका थिए भने १ खेलमा २ ओभर बलिङ गर्दा कुनै विकेट भने लिएनन् ।
दक्षिण अफ्रिकाविरुद्धको बहुचर्चित खेलमा नेपाललाई जितको निकै नजिक पुर्याएका गुल्शन त्यसबेला दुर्भाग्यपूर्ण रूपमा बेहोरेको १ रनको हारपछि भावुक बनेका थिए ।
सन्दीप जोरा

सन्दीप जोराले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् । २४ वर्षीय जोरा दाँयाहाते ब्याटर हुन् । उनले मिडल अर्डरमा खेल्ने गर्छन् ।
जोराले सन् २०१९ मा दुबईमा भएको यूएईसँगको खेलमार्फत नेपालका लागि डेब्यू गरेका थिए ।
जोराले नेपालका लागि ३८ खेलमा चार अर्धशतकसहित ४८९ रन बनाएका छन् ।
गत संस्करणमा जोराले १ खेल खेल्दा १ रन मात्र बनाएका थिए ।
शेर मल्ल

शेर मल्ल नेपाली राष्ट्रिय टोलीमा पूर्ण रूपमा नयाँ अनुहार हुन् । २३ वर्षीय शेर मिस्ट्री स्पीनर हुन् भने तल्लोक्रममा ब्याटिङको पनि क्षमता राख्छन् ।
गत संस्करणको एनपीएलमा शानदार प्रदर्शन गरेका शेरले त्यसकै आधारमा राष्ट्रिय टोलीको ढोका खोल्न सफल भएका हुन् । उनले नेपालका लागि विश्वकपमै डेब्यू गर्ने मौका बनाएका हुन् ।
पहिलो संस्करणमा पनि उपाधि विजेता टोली जनकपुर बोल्ट्सबाट खेलेका शेरले यसपटक लुम्बिनी लायन्सबाट खेलेर दोस्रोपटक उपाधि पनि जिते । उपाधि मात्रै नभएर यो सिजन गज्जबको प्रदर्शन पनि गरेका थिए ।
लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मुख्य पात्रमध्येका शेरले मिस्ट्री स्पीनमार्फत १० खेलमा १७ विकेट लिएर संयुक्त रूपमा शीर्षस्थानमा रहेका थिए ।
उनको मिस्ट्री स्पिन वाङ्खडे स्टेडियमको पिचमा सहयोगी पनि बन्न सक्छ ।
शेर मल्लले पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्न पाउनु सौभाग्य रहेको बताउँछन् । ‘देशको लागि खेल्न पाउँदा आफूलाई धेरै भाग्यमानी ठानेको छु, अब आगामी दिनका लागि मानसिक रूपमा पनि आफूलाई तयार गरिरहेको छु’ शेरले भनेका छन् ।
बसिर अहमद

नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका बसिर पनि टी-२० विश्वकपमा पहिलोपटक सहभागी हुँदै छन् ।
२२ वर्षीय बसिर अलराउन्डर हुन् । बाँयाहाते स्पीन बलिङ तथा बाँयाहाते ब्याटिङ गर्छन् ।
उनले सन् २०२२ अगस्टमा भएको केन्याविरुद्धको खेलमार्फत नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए ।
बसिरले ७ खेलमा एक अर्धशतकसहित १२३ रन बनाएका छन् । उनको औसत ६१.५० को छ । बलिङमा २ विकेट लिएका छन् ।
बसिरले टी-२० विश्वकप छनोट नखेलेको भएपनि नेपाल प्रिमियर लिग (एनपीएल) मा गरेको प्रदर्शनबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । एनपीएलमा उनले ९ खेलमा १९१ रन बनाएका थिए ।
टिमलाई संकटबाट पार लगाउने क्षमता भएका बसिरले त्यस क्षमताअनुसारको प्रदर्शन पनि गरिसकेका छन् र मध्यक्रममा भरपर्दो ब्याटरका रूपमा आफूलाई प्रमाणित गरेका छन् ।
नेपालले हङकङमा भएको चारदेशीय टी-२० शृंखलाको फाइनलमा कुवेतविरुद्ध ९२-८ को अवस्थामा पुगेपछि बसिरले नन्दन यादवसँग मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए तर नेपाल ३ रनले पराजित हुन पुग्यो ।
आरिफ शेख

आरिफ शेख पहिलोपटक टी-२० विश्वकप खेल्न लागेका खेलाडीमध्येका एक हुन् । २८ वर्षीय आरिफ दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् ।
आरिफले सन् २०१८ मा लर्ड्समा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत टी-२०आई डेब्यू गरेका थिए ।
उनले नेपालका लागि टी-२०आईमा ३९ को उच्च स्कोरसहित ५५३ रन बनाएका छन् । बलिङमा आरिफले ४ विकेट मात्र लिएका छन् ।
पछिल्लो समय टी-२० क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेका आरिफ विश्वकपका लागि टोलीमा परेका हुन् ।
नन्दन यादव

नन्दन यादव पनि पहिलोपटक टी-२० विश्वकप खेल्ने टोलीमा परेका खेलाडी हुन् ।
२५ वर्षीय नन्दन दाँयाहाते पेस बलिङ गर्छन् । यस्तै तल्लोक्रममा उनको ब्याटबाट पनि योगदानको अपेक्षा राख्न सकिन्छ ।
नन्दनले सन् २०२५ मा हङकङमा भएको चारदेशीय शृंखलाअन्तर्गत कतारसँगको खेलमार्फत टी-२०आई डेब्यू गरेका थिए ।
नन्दनले नेपालका लागि १२ टी-२०आई खेल्दा १५ विकेट लिएका छन् । ७.२९ को इकोनोमी राखेका छन् ।
नन्दनले गत वर्ष स्कटल्यान्डमा भएको टी-२०आई शृंखलामार्फत नेपाली टोलीका लागि डेब्यू गरेका थिए ।
पछिल्लोपटक नन्दनले टी-२० विश्वकप एसिया-इएपी छनोटअन्तर्गत सामोआसँगको खेल खेलेका थिए ।
लोकेश बम

लोकेश बमले पनि पहिलोपटक टी-२० विश्वकप खेल्दै छन् । २५ वर्षीय लोकेश दाँयाहाते ब्याटर हुन् । उनी नेपाली टोलीमा दोस्रो रोजाइका विकेटकिपर समेत हुन् ।
लोकेशले सन् २०२२ मा ओमानमा भएको चारदेशीय शृंखलामा यूएईविरुद्धको खेलबाट नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए ।
उनले १८ खेलमा ३९* को उच्च स्कोरसहित १६० रन बनाएका छन् ।
पछिल्लोपटक लोकेशले टी-२० विश्वकप एसिया-इएपी छनोटअन्तर्गत सामोआसँगको खेल खेलेका थिए ।
प्रतिक्रिया 4