१५ माघ, काठमाडौं । सातौं राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
यही शनिबार (माघ १७) गते काठमाडौंको दिक्षालय स्कूल, बूढानीलकण्ठमा नेपाल योगासन खेलकुदको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकारद्वारा मान्यता प्राप्त राष्ट्रियस्तरको प्रतियोगिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजयी खेलाडीहरूमध्ये उत्कष्टताको आधारमा प्राविधिक कमिटीको छनोट मूल्याङ्कनका आधारमा भारतमा आयोजना हुने पहिलो विश्व योगासन खेलकुद प्रतियोगिता २०२६ का लागि नेपालको तर्फबाट चयन गरिने बताइएको छ ।
प्रतियोगितामा सातै प्रदेशबाट ३३१ जना खेलाडीहरूले आफ्नो सहभागिता सुनिश्चित गरेका छन् ।
जसमा २१८ महिला र ११३ पुरुष खेलाडीहरू रहेका छन् ।
बागमती प्रदेशबाट ११९, कोशी प्रदेशबाट ४२, मधेश प्रदेशबाट २०, गण्डकी प्रदेशबाट १९, लुम्बिनी प्रदेशबाट १७, कर्णालीबाट १६ तथा सुदूरपश्चिम प्रदेशबाट १८ खेलाडी सहभागी हुँदैछन । पुरुष र महिलाको छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ प्रतियोगिता निम्न उमेर समूहमा सञ्चालन गरिने बताइएको छ।
विजेताहरूलाई स्वर्ण, रजत र कास्य पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।
साथै सबै उमेर समूहका स्वर्ण पदक विजेतामध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी पुरुषतर्फ ‘मिस्टर/ योगी’ र महिलातर्फ ‘मिस योगी’ उपाधिसहित ट्रफी प्रदान गरिनेछ ।
नेपाल योगासन खेलकुद संघले हालसम्म ३ वटा दक्षिण एसियाली योगासन खेलकुद प्रतियोगिता, ६ वटा राष्ट्रिय, २ वटा उपत्यका स्तरीय, १ माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आयोजना गरिसकेको छ ।
साथै संघले मलेसियामा सम्पन्न १६औं अन्तर्राष्ट्रिय योगासन खेलकुद प्रतियोगितामा सहभागिता जनाई २ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ ।
हालै भारतको नयाँ दिल्लीमा सम्पन्न दोस्रो एसियाली योगासन खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाई विभिन्न पदक समेत प्राप्त गरेको थियो ।


प्रतिक्रिया 4