+
+
Shares

दुई टुक्रा हुँदैछ अफ्रिका, बन्दैछ नयाँ महासागर

पृथ्वीको भित्री भागमा पग्लिएर रहेको म्याग्मा म्यान्टलमाथि ती प्लेटहरु बिस्तारै तैरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफ्रिका महादेशमा एक विशाल दरार फैलिँदै गएको छ जसले सोमालियन प्लेटलाई न्युबियन प्लेटबाट छुट्टाउँदै गएको छ।

अफ्रिका महादेश अहिले पृथ्वीभित्र चलिरहेको एक महत्वपूर्ण भूगर्भीय परिवर्तनको चपेटामा छ । उक्त हलचलका कारण अफ्रिका महादेश बिस्तारै दुई भागमा विभाजित हुँदै गएको छ।

यस असामान्य प्रक्रियाले विश्वभरका भूगर्भ वैज्ञानिकहरूको ध्यान तानेको छ । पछिल्ला अध्ययनहरूका अनुसार अफ्रिकाको भू-भागमा एक विशाल दरार फैलिरहेको छ । उक्च विशाल चिरा इस्ट अफ्रिकन रिफ्ट क्षेत्रमा देखिएको हो । यही दरारका कारण सोमालियन प्लेट रहेको पूर्वी अफ्रिका अर्को ठूलो न्युबियन प्लेटबाट क्रमशः छुट्टिँदै गएको छ। वैज्ञानिकहरूका अनुसार भविष्यमा यही दरारकै स्थानमा नयाँ महासागर निर्माण हुने सम्भावना छ ।

यो प्रक्रिया निकै सुस्त गतिमा अघि बढिरहेको भए पनि निरन्तर जारी छ । महादेश पूर्णरूपमा छुट्टिन लाखौँ वर्ष लाग्नेछ । हाल प्लेटहरू प्रत्येक वर्ष केही मिलिमिटरका दरले सर्दै गइरहेका छन्। न्युबियन र सोमालियन प्लेटहरू उत्तरतर्फको अरेबियन प्लेटबाट पनि अलग हुँदैछन् ।

जसका कारण वाइ-आकारको रिफ्ट प्रणाली बनेको छ । यी तीनवटा प्लेटहरू इथियोपियाको अफार क्षेत्रमा भेट हुन्छन् जसलाई ट्रिपल जंक्शन भनिन्छ । यो पृथ्वीका दुर्लभ स्थानहरूमध्ये एक हो, जहाँ इथियोपियन रिफ्ट, रेड सी रिफ्ट र गल्फ अफ अदन रिफ्ट एकै ठाउँमा मिल्छन्।

भर्जिनिया टेककी भूगर्भविद डा. सारा स्ट्याम्पसका अनुसार दरार फैलिने गति उत्तरतर्फ सबैभन्दा तीव्र छ । त्यसैले सबैभन्दा पहिले त्यही क्षेत्रमा महासागर बन्न सुरु हुनेछ।

वैज्ञानिकहरूको भनाइअनुसार अफार क्षेत्रमा पृथ्वीको माथिल्लो सतह पहिले नै पातलो भइसकेको छ । यहाँका केही भू-भाग समुद्री सतहभन्दा तल रहेका छन् र दरारका दुई शाखा पहिले नै रेड सी र अदनको खाडीमा पुगिसकेका छन् । जब यी दुईलाई जोड्ने उपत्यका अझ तल धसिनेछ अनि छुट्टिँदै गरेका प्लेटहरूको बीचमा समुद्रको पानी पस्नेछ । यस प्रक्रियाले नयाँ महासागरीय बेसिनको रूप लिनेछ ।

रिपोर्टअनुसार यी भौगर्भिक प्लेटहरू हरेक वर्ष करिब ०.२८ इन्चका दरले एक-अर्काबाट टाढिँदै गएका छन् । यही गतिमा महासागरको बेसिन पूर्णरूपमा बन्न दशौँ लाख वर्ष लाग्नेछ । तर उक्त दरारका कारण भूकम्प र ज्वालामुखीजन्य गतिविधि बढ्न सक्ने भएकाले मानव जीवनमा यसको असर भने अपेक्षाकृत चाँडै देखिने खतरा छ।

स्मरण रहोस् पृथ्वीको माथिल्लो सतह १५ देखि २० वटा टेक्टोनिक प्लेटहरूले बनेको छ । पृथ्वीको भित्री भागमा पग्लिएर रहेको म्याग्मा म्यान्टलमाथि ती प्लेटहरु बिस्तारै तैरिरहेका छन् । वैज्ञानिकहरूको अनुमान अनुसार अफार क्षेत्रको मुनि एक म्यान्टल प्लुम सक्रिय छ। यो अत्यन्त तातो पदार्थको माथितर्फ उठ्ने स्तम्भ हो जसले पृथ्वीको माथिल्लो सतहलाई कमजोर बनाउँदै चिरिरहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?