News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डले साम करनको ह्याट्रिकसहित बलिङ प्रदर्शनमा श्रीलंकाविरुद्ध टी–२० सिरिजको पहिलो खेल ११ रनले जितेको छ।
- साम करनले १६औं ओभरमा लगातार तीन विकेट लिएर इंग्ल्यान्डका लागि दोस्रो पटक टी–२० ह्याट्रिक पूरा गरेका थिए।
- श्रीलंका १३३ रनमै आउट भयो भने इंग्ल्यान्डले वर्षाले रोकिएको खेल डीएलएस प्रणालीअनुसार १५ ओभरमा ४ विकेट गुमाएर जित्यो।
१७ माघ, काठमाडौं । साम करानको ह्याट्रिकसहित उत्कृष्ट सामूहिक बलिङ प्रदर्शनमा इंग्ल्यान्डले श्रीलंकाविरुद्ध टी–२०आई सिरिजको पहिलो खेल जित्दै १–० को अग्रता बनाएको छ। पालेकेलेमा वर्षाले प्रभावित खेलमा इंग्ल्यान्डले डीएलएस प्रणालीअनुसार इंग्ल्यान्डले ११ रनको जित निकाल्यो।
१३४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १५ ओभरमा ४ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। सो समयमा इंग्ल्यान्ड डीएलएस पार स्कोरभन्दा अगाडि रहेपछि जित हात पार्यो।
यसअघि ब्याटिङ गरेको श्रीलंकाको इनिङ्समा साम करन निर्णायक बने। उनले १६औं ओभरमा दासुन शनाका, माहिश थिक्शाना र मथिशा पथिरानालाई लगातार तीन बलमा आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनी इंग्ल्यान्डका लागि टी-२०आईमा ह्याट्रिक लिने दोस्रो खेलाडी हुन् ।
१७ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले आक्रामक सुरुआत गरेको भएपनि इंग्ल्यान्डले श्रीलंकालाई १३३ रनमै सीमित गरेको थियो । पथुम निसान्का र कमिल मिशाराले तीव्र गतिमा रन जोडे। मिशाराले दुई चौका र एक छक्का हानेपछि आउट भए भने निसान्का र कुसल मेन्डिसले इनिङ्स अघि बढाउँदै पाँच ओभरमै स्कोर ५०/१ पुर्याए।
सातौं ओभरमा मेन्डिसले करनविरुद्ध २० रन जोडे पनि आदिल राशिदले निसान्कालाई आउट गरेसँगै खेलको लय बदलियो। त्यसपछि लियाम डसन र आदिल राशिदले लगातार विकेट झार्दै श्रीलंकालाई दबाबमा राखे।
श्रीलंका ७६/१ बाट १००/६ मा झर्यो। अन्त्यतिर शनाका र वानिन्दु हसरंगाले केही रन जोडे पनि करनको ह्याट्रिकले इनिङ्स धरासायी बनायो। ओभरटनले हसरंगालाई बोल्ड गर्दै इनिङ्स टुंग्याए। श्रीलंकाले अन्तिम ९ विकेट ५७ रनमै गुमायो।
करानसँगै आदिल राशिदले ३ विकेट लिए भने लियाम डसन र जेमी ओभरटनले २–२ विकेट लिए। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका जोफ्रा आर्चर विकेटविहीन रहे।
जवाफमा इंग्ल्यान्डले जोस बटलर र फिल साल्टमार्फत तीव्र सुरुआत गर्यो। दुवैले मिलेर ३ ओभर भित्रै ३६ रन जोडेका थिए । इशन मालिङ्गाले स्लोअर बलमा बटलर र जेकब बेथेललाई आउट गरे।
टम बान्टनले २९ रनको उपयोगी इनिङ्स खेले भने फिल साल्टले ३५ बलमा ४६ रन बनाउँदै इनिङ्स सम्हाले। वर्षाका कारण खेल रोकिँदा इंग्ल्यान्ड डीएलएस स्कोरभन्दा अगाडि रहेर विजयी बन्यो।
प्रतिक्रिया 4