News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा १८ औं मिस तामाङ प्रतियोगितामा साम्राज्ञी मोक्तानले ताज जितिन्।
- मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाएका छन्।
- मोक्तानले नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकको रुपमा प्रस्तुत गर्ने बताइन्।
१८ माघ, काठमाडौं । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८ औं मिस तामाङको ताज पहिरेकी छिन् । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै साम्राज्ञीले मिस तामाङको ताज जितिन् ।
विजेता मोक्तानलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिराएकी थिइन् । मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पारेकी छिन् ।
मिस कन्फिडेन्ट, भ्युअर चोइस टाइटलसमेत हात पारेकी मोक्तानले नेपाललाई सँस्कृतिक रुपमा संसारमा चिनाउन चाहनुहुन्छ भने के–के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मोक्तानले निर्णायकको मन जितेकी थिइन् ।
उनले नेपाल विविधतायुक्त देश भए पनि एकताको धनी देश भएको बताएकी थिइन् । ‘म नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकको रुपमा प्रस्तुत गर्छु । हाम्रो विविधताभित्रको एकता र धर्मनिरपेक्षताले हामीलाई निकै गर्व महसुस गराउँछ । हाम्रो सेलोको धड्कन र साकेलाको धुनले एक बनाएको छ । १२० भन्दा बढी भाषाहरु विना कुनै अवरोध बोलिन्छ । हामी एकअर्कालाई माया आदरसाथ बोल्छौं । हाम्रो पहिरनको सुन्दरता र लालित्यले सांस्कृतिक महत्व बोकेको छ,’ मोक्तानले जवाफमा भनेकी थिइन्, ‘यसै विषयलाई प्रस्तुत गरी नेपाललाई संसारमा चिनाउन चाहन्छु ।’
इन्जिनियर बन्ने सपना बोकेकी १८ वर्षीया मोक्तानले परिवारको माया र साथले यो सफलता पाएको र अबका दिन महिला सशक्तीकरणमा काम गर्ने बताइन् ।
प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप बनिन् भने सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप बनिन् । त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनर अप बनिन् ।
फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले बताइन् । विजेताहरुलाई प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ र नायक अमिर दोङले टाइटल तथा पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि ऐश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनालिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पुजा जिम्बा तामाङले जिते ।
ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि स्वर्णिमा थिङ तामाङले जितिन् ।
प्रतिक्रिया 4