News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक बोलपत्र आह्वान गरेको छ।
- खरिद प्रक्रियामा सहभागी हुन इच्छुक विदेशी कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत विद्युतीय बोलपत्र पेस गर्न सक्नेछन्।
- पूर्वबोलपत्र बैठक २१ फागुन कुलेश्वरमा आयोजना गरिने र बोलपत्र पेस गर्ने अन्तिम मिति ६ चैत दिउँसो १ बजेसम्म तोकिएको छ।
२० माघ, काठमाडौं । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार टन युरिया मल खरिद प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीले आज मंगलबार सूचना जारी गर्दै ‘युरिया ४६–०–०’ रासायनिक मल आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको हो । यो खरिद प्रक्रिया कम्पनीको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गर्न लागिएको हो ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) को ‘सिंगल स्टेज टु इन्भेलोप’ प्रक्रिया मार्फत अगाडि बढाइने यस ठेक्कामा सहभागी हुने बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्ने छ ।
आपूर्तिकर्ताले खरिद गरिएको मल भारतको कोलकाता वा हल्दिया बन्दरगाह हुँदै नेपालका प्रमुख तीन व्यापारिक नाका विराटनगर, वीरगञ्ज र भैरहवास्थित कम्पनीका गोदाममा डेलिभरी गर्नुपर्ने छ ।
यसका लागि आपूर्तिकर्ताले नै अन्तिम गन्तव्यसम्मको बीमाको व्यवस्था गर्नुपर्ने सर्त राखिएको छ ।
खरिद प्रक्रियामा सहभागी हुन चाहने इच्छुक विदेशी कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट मार्फत विद्युतीय बोलपत्र पेस गर्न सक्नेछन् ।
बोलपत्र फारमको दस्तुर २० हजार नेपाली रुपैयाँ तोकिएको छ, जुन रकम नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कालीमाटी शाखामा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्ने छ ।
साथै, बोलपत्रको साथमा ४ लाख ३७ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी (धरौटी) पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार यो टेन्डर प्रक्रियाको पूर्वबोलपत्र बैठक आगामी २१ फागुन दिउँसो २ बजे कम्पनीको केन्द्रीय कार्यालय कुलेश्वरमा आयोजना गरिने छ ।
इच्छुक कम्पनीहरूले आगामी ६ चैत दिउँसो १ बजेसम्म आफ्नो प्रस्ताव दर्ता गरिसक्नुपर्ने छ भने सोही दिन दिउँसो २ बजे बोलपत्रदाताका प्रतिनिधिहरूको उपस्थितिमा बोलपत्र खोलिने छ ।
पछिल्लो समय मल आपूर्ति सहज बनाउन र किसानलाई समयमै मल उपलब्ध गराउन कम्पनीले यो महत्त्वपूर्ण खरिद प्रक्रिया सुरु गरेको हो ।
बोलपत्र पेस गर्ने अन्तिम दिन सार्वजनिक बिदा परे त्यसको भोलिपल्टलाई अन्तिम मिति मानिने कम्पनीले स्पष्ट पारेको छ ।
थप जानकारीका लागि इच्छुक कम्पनीले कृषि सामग्री कम्पनीको वेबसाइट भ्रमण गर्न वा सिधै कुलेश्वरस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
प्रतिक्रिया 4