२१ माघ, काठमाडौं । आठ वर्षअघि अर्थात २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौं उपत्यकाका १५ मध्ये ९ सिट जितेको थियो । एमाले र माओवादी केन्द्र एकीकरण हुने घोषणाका साथ चुनावी तालमेल गरेका थिए र त्यसको नतिजा निर्वाचनमा देखिएको थियो ।
त्यतिबेला उपत्यकामा कांग्रेसले ४, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले १/१ सिटमात्रै जिते । पाँच वर्षपछि २०७९ सालको निर्वाचनमा एमाले उपत्यकाका १५ मध्ये दुई ठाँउमा सीमित भयो ।
निर्वाचनको केही महिनाअघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँच ठाँउमा निर्वाचित भयो भने कांग्रेसले सातवटा सिट जित्यो ।
काठमाडौं उपत्यकामा कांग्रेस, एमाले र माओवादी केन्द्रको मत प्रत्यक्ष र समानुपातिक दुवैमा २०७४ को तुलनामा उल्लेख्य घटेको थियो । २०७४ को तुलनामा २०७९ सालमा पुराना नेताहरु अधिकांशले कि दोहोरिएन उम्मेदवारी दिएनन्, दिएकाहरु पनि पराजित भए ।
२०७४ सालमा विवेकशील साझा पार्टीमा व्यक्त भएको राजधानीबासीको असन्तुष्ट मत २०७९ मा आइपुग्दा त्यहाँबाट समेत सोहोरिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा पोखिएको थियो । रास्वपाले काठमाडौंमा पाँच सिटमात्रै जितेन, कयौं क्षेत्रमा समानुपातिकतर्फ पहिलो र दोस्रो नै बनेको थियो ।

२०७४ सालको तुलनामा २०७९ सालमा बढी मत पाएर निर्वाचित हुनेमा भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र ललितपुर–१ का उदयशम्सेर जबरामात्रै हुन् । काठमाडौं–४ मा निर्वाचित गगन थापाको मत सांकेतिक रुपमा भने घटेपछि स्थिर देखिन्थ्यो ।
समानुपातिकतर्फको प्रवृत्ति हेर्ने हो भने २०७४ को तुलनामा २०७९ मा सबैजसो निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रकै भोट उल्लेख्य रुपमा घटेको थियो ।
२०७४ सालमा विवेकशील साझा पार्टीले पाएको ‘वैैकल्पिक रुझानयुक्त मत’ २०७९ सालमा त्यो भन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेको थियो ।
कुनैकुनै ठाँउमा कांग्रेस, एमाले र माओवादीहरुको समानुपातिक भोट आधासम्मले घटेको थियो । र, कयांै निर्वाचन क्षेत्रहरूमा समानुपातिकतर्फ रास्वपा पहिलो दल नै बनेको थियो । अघिल्लोपटक काठमाडौंमा राप्रपाले पनि आफ्नो मत बढाएको थियो ।
जेनजी आन्दोलनका कारण साढे तीन वर्षमै हुन लागेको यो निर्वाचनमा यसअघि जस्तो कांग्रेस, माओवादी र एकिकृत समाजवादीको गठबन्धन छैन ।
कांग्रेस, एमाले आ–आफ्नै ढंगले प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका बाम घटकहरु मिलेर नेपाली कम्यूनिष्ट पार्टी(नेकपा) गठन गरेर उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर चुनावी अभियानमा छन् ।
काठमाडौं–१ : प्रकाशमान सिंहको ठाँउमा को ?
पहिलो र दोस्रो संविधानसभा निर्वाचनदेखि नै काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह निरन्तर निर्वाचित भइरहेका थिए । प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका र त्यागी नेताको पहिचान बनाएका गणेशमान सिंहको ‘लिगेसी’का कारण उनका छोरा प्रकाशमानलाई त्यहाँ सहजता थियो ।
तर त्यो सहजता सधैं कायम रहेन । २०७४ र २०७९ सालको निर्वाचनमा वैकल्पिक रुझानको नारा अघि सारेर आएका रवीन्द्र मिश्रले उनलाई खरो चुनौती दिए, पछिल्लोपटक त सिंहलाई निर्वाचित हुन हम्मेहम्मे नै परेको थियो ।

फलस्वरुप राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४१ सय, एमालेका किरण पौडेलले ३५ सय र सुशासन पार्टीको नाम खोलेका रमेश खरेलले ३१ सय मत पाए । त्यति हँुदाहँुदै पनि सिंह र मिश्रको खरो प्रतिस्पर्धामा अरु पस्न सकेनन् । किम्तमा पनि तीन हजार मतले पछाडी परे ।
फलस्वरुप राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४१ सय, एमालेका किरण पौडेलले ३५ सय र सुशासन पार्टीको नाम खोलेका रमेश खरेलले ३१ सय मत पाए । त्यति हुदाहुदै पनि सिंह र मिश्रको खरो प्रतिस्पर्धामा अरु पस्न सकेनन् । कम्तिमा पनि तीन हजार मतले पछाडि परे ।
काठमाडौं क्षेत्र नम्बर एकमा व्यक्त भएको समानुपातिक मत पनि उस्तै रोचक छ । २०७४ सालमा कांग्रेसले समानुपातिकमा ९२१२ भोट पाएको थियो ।
विवेकशील साझाले ६९११, एमालेले ६५०८ र माओवादी केन्द्रले १६ सय ८० मत पाएका थिए । २०७९ सालमा आइपुग्दा कांग्रेस, एमालेको मत उल्लेख्य घट्यो भने विवेकशील साझा पार्टीको नामनिसाना नै थिएन । बरु राष्ट्रिय स्वतन्त्र पार्टीले ५६१८ मत पाएको थियो ।
यसपालीको निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंह प्रतिस्पर्धामा छैनन् । उनको ठाँउमा युवा उद्यमी प्रवल थापा क्षेत्रीलाई कांग्रेसले उम्मेदवार बनाएको छ । राप्रपाका रवीन्द्र मिश्र तेस्रोपटक प्रतिस्पर्धामा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले रञ्जु दर्शनालाई उम्मेदवार बनाएको छ ।
मुख्यत: यी तिनै उम्मेदवारहरुबीच हुने प्रतिस्पर्धामा अघिल्लोपटक जस्तो धेरै उम्मेदवारहरुमा मत छरिने देखिदैन । निर्वाचित हुन चाहे उम्मेदवारले कम्तिमा पनि अघिल्लो निर्वाचनका प्रतिस्पर्धीहरुले भन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ ।
काठमाडौं–२ : सोविताले छाडेको ठाँउ
२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार झक्कु सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेदेखि नै काठमाडौं क्षेत्र नम्बर दुई निर्वाचनको बेलामा ज्यादा चर्चामा हुने गर्छ । २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएर नेपालले पुरानो पीडामा मल्हम लगाएका थिए ।
२०७४ सालमा प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिपक कुइकेलले भन्दा झण्डै दोब्बर मत ल्याएर नेपाल निर्वाचित भएका थिए । त्यतिबेलाको प्रतिस्पर्धामा एमाले नेता माधवकुमार नेपाल, कांग्रेस उम्मेदवार दिपक कुइकेल र विवेकशिल साझाका उम्मेदवार सूर्यराज आचार्यले चानचुन ५० हजार मत होल्ड गरेका थिए ।
२०७९ सालमा आइपुग्दा ती प्रमुख दलका उम्मेदवारहरू फेरिए । एमालेले मणिराम फुयाललाई उठायो । कांग्रेसले गठबन्धनका कारण आफ्नो उम्मेदवारी नै नदिएर माओवादी केन्द्रकी ओनसरी घर्तीलाई समर्थन गर्यो । तर, उनीहरूको सोचजस्तो नतिजा आएन ।
करिब ५० हजार त्यो भोटको एक तिहाई हिस्सा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सोविता गौतमको पोल्टामा पुग्यो, उनी १५ हजार २३८ मत सहित निर्वाचित भइन् । एमालेका मणिराम फुयाल ११५६६ मत सहित दोस्रो भए । राप्रपाका कुन्तादेवी पोखरेल तेस्रो भएर ११ हजार २४ मत बटुलेकी थिइन् ।
निर्वाचनको प्रतिस्पर्धा अंकगणितको जोडघटाउ जस्तो हुँदैन भन्नका लागि पाँच दलीय गठनबन्धनकी उम्मेदवार ओनसरी घर्तीले पाएको मत राम्रो उदाहरण हो । २०७४ सालको प्रत्यक्ष र समानुपातिक मतको औसत निकाल्दा अनि कांग्रेस माओवादीको मत एकठाँउमा पोखिँदा पनि ओनसरीले कम्तीमा पनि १६ हजार मत पाउनुपर्ने थियो । तर ९४५९ मत पाएर उनी चौथो स्थानमा पुगिन् ।

२०७४ पछिको पाँच वर्षमा काठमाडौं–२ मा एमाले, कांग्रेस र माओवादीको भोट स्वात्तै घटेको देखिन्छ । समानुपातिकमा २१ हजार मत पाएको एमाले २०७९ सालमा साढे ९ हजार मतमा खुम्चियो । ४१ सय मत पाएको माओवादीको करिब ११ सय भोटमात्रै खसेको थियो ।
१२ हजार मत पाएको कांग्रेसले चानचुन सात हजार मतमा सीमित रह्यो । २०७४ सालमा करिब आठ हजार मतदाताले विवेकशील साझा पार्टीलाई मत दिएर आफूहरूको वैकल्पिक रुझान प्रकट गरिसकेका थिए, त्यो संकेत नबुझ्नु त्यतिबेला ठूला दलहरूका लागि झड्का भइदियो ।
२०७९ सालको समानुपातिकमा काठमाडौं क्षेत्र नम्बर–२ मा रास्वपाले झण्डै १२ हजार मत पायो । र, अघिल्लो पटक ३३ सय मत पाएको राप्रपाले झण्डै १२ हजार मत बटुल्यो । त्यहाँ राप्रपा र रास्वपाको ६०/७० मतको फरक छ । एमाले फुटेर बनेको एकीकृत समानुपातिकले पाएको भोट जम्माजम्मी २६ सय मात्रै हो ।
अहिले काठमाडौं–२ मा रास्वपाबाट सुनिल केसी प्रतिस्पर्धामा छन्, जो राप्रपाबाट प्रदेशसभामा निर्वाचित निवर्तमान सांसद हुन् । उनले सांसद पदबाट राजीनामा दिए, अनि रास्वपा प्रवेश गरेर प्रतिस्पर्धामा होमिए । एमालेबाट मणिराम फुयाल नै प्रतिस्पर्धामा छन् । कांग्रेसबाट कबिर शर्माले प्रतिस्पर्धा गरिरहेका छन् ।
काठमाडौं–३ : स्थिर मत रहेको कांग्रेसलाई सीट जोगाउने चुनौती
काठमाडौं क्षेत्र नम्बर– ३ मा नेपाली कांग्रेसको मत स्थिर देखिन्छ । २०७४ सालमा उम्मेदवार अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाएकोमा २०७९ सालमा सन्तोष चालिस १५ हजार १५८ मत पाएर निर्वाचित भए । २०७९ सालमा अन्यत्र ठूला दलहरुको मत घट्दा काठमाडौं–३ कांग्रेसका लागि सुरक्षित बन्यो ।
माओवादीसँग मिलेर चुनाव लडेका एमालेका कृष्णबहादुर राईले २०७४ सालमा १९ हजार भोट पाएका थिए भने पछिल्लो चुनावमा ११ हजार भन्दा बढी भोट ल्याउन सकेनन् । एमालेबाट अन्यत्र सरेको त्यो भोट कहाँ गयो भन्नेवारे पनि स्पष्ट आँकडा देखिन्छ ।
पछिल्लो चुनावमा रास्वपाका दुर्गा बिक्रम थापाले ५८ सय मत पाए भने राप्रपाका गणेश गिरीले २२ सय ७९ मत पाए । रास्वपा र राप्रपाका उम्मेदवारहरुले अरु उम्मेदवारहरुबाट आठ हजारजति भोट काटिदिएका थिए ।

रामेश्वर फुयाल एमालेबाट, कांग्रेसबाट रमेश अर्याल र रास्वपाबाट राजुनाथ पाण्डे छन् ।
समानुपातिकतर्फ भने काठमाडौं–३ मा कांग्रेस, एमाले र माओवादीको भोट घट्दो क्रममा थियो । रास्वपा र राप्रपाले भोट बढाएका थिए । तुलनात्मक रुपमा पछिल्लो निर्वाचनमा कांग्रेसको करिव दुई हजार भोट घट्यो ।
एकिकृत समाजवादीले जम्माजम्मी ५७० भोट काट्दा एमालेको पाँच हजार घटेको देखिन्छ । माओवादीको भोट त ३११८ बाट आधाभन्दा बढी घटेर १३३३ मा सीमित भयो । रास्वपाले त्यहाँ ९२ सय मत पायो भने राप्रपाले ६७४ बाट झण्डै पाँच हजार भोट ल्यायो ।
काठमाडौं–३ मा अहिले एमालेले रामेश्वर फुयाल, कांग्रेसले रमेश अर्याल र रास्वपाले राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ । उज्यालो पार्टीका अध्यक्ष एवं निवर्तमान उर्जामन्त्री कुलमान घिसिङ त्यही क्षेत्रका उम्मेदवार हुन् ।
एमालेका फुयाल त्यो क्षेत्रमा पुराना नेता हुन्, कांग्रेसले युवा उम्मेदवारको रुपमा अर्याललाई अघि सारेको छ । राजुनाथ पाण्डे भने काठमाडौं महानगरका पूर्व नगरप्रहरी हुन्, बालेनको टिममा रहेका उनी राजीनामा दिएर प्रतिस्पर्धामा छन् ।
काठमाडौं–४ : गगनको ठाँउमा को ?
काठमाडौं क्षेत्र नं. ४ लाई कांग्रेस युवा नेता एवं नवनिर्वाचित सभापति गगन थापाले कब्जा जमाएको क्षेत्र भन्दा फरक पर्दैन । उनले २०७०, २०७४ र २०७९ त्यहीबाट ह्याट्रिक गरे । ललितपुर–१ बाहेक काठमाडौं उपत्यकाका सबै क्षेत्रमा कांग्रेसको मत घट्दा २०७४ र ७९ मा थापाले पाएको मत स्थिर थियो ।
अघिल्लो निर्वाचनमा माओवादीसँग मिलेर गठबन्धन बनाएका एमाले उम्मेदवार राजन भट्टराईले २०७९ सालमा करिब साढे ४ हजार कम मत पाएको देखिन्छ । २०७४ सालमा विवेकशीलकी उम्मेदवार सुबुना बस्नेतले तीन हजार मत पाएकी थिइन् । २०७९ सालमा चानचुन साढे सात हजार मत कता गयो त ?
त्यो मत राप्रपा र स्वतन्त्र उम्मेदवारहरुमा छरिएको देखिन्छ । राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले चार हजार मत पाए, स्वतन्त्र उम्मेदवार हेमबहादुर बम्जनले २३ सय मत पाए, हामी नेपाली पार्टी(हानेपा)का उम्मेदवारले चानचुन १२ सय मत पाएका थिए ।

तर समानुपातिकमा एमाले र माओवादी मात्रै होइन, कांग्रेसले पनि आफ्नो मत स्थिर राख्न सकेन । अघिल्लो तुलनामा कांग्रेसको करिब साढे चार हजार, एमालेको पाँच हजार र माओवादी केन्द्रको झण्डै एक हजार मत घट्दो देखिन्थ्यो ।
२०७४ मा विवेकशीललाई खसेको ६८ सय मत २०७९ मा उसलाई खस्ने कुरै भएन । काठमाडौं–४ मा रास्वपाले ९४ सय मत पाएको थियो, राप्रपाले अघिल्लो तुलनामा ६ हजार भोट थप्यो ।
अहिले काठमाडौं–४ बाट नियमित रुपमा निर्वाचित भइरहेका गगन थापा सर्लाही–४ मा गएका छन् भने उनको ठाँउमा युवा उम्मेदवार सचिन तिमल्सेना प्रतिस्पर्धामा छन् । एमालेले यसअघि नै राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । रास्वपाबाट पुकार बम प्रतिस्पर्धी छन् । राप्रपाले सुरेन्द्र भण्डारी नेकपाले इन्द्रकुमार भुसाललाई उम्मेदवार बनाएको छ ।
काठमाडौं–५ : सधैंको हेभिवेट प्रतिस्पर्धा
२०७४ सालमा एमाले उम्मेदवार ईश्वर पोखरेल २३ हजार मतसहित निर्वाचन जितेका थिए । उनका प्रतिस्पर्धी डा. प्रकाशशरण महत(नेपाली कांग्रेस)ले १० हजार कम अर्थात १३ हजार मतमात्रै पाएका थिए । तेस्रो स्थानमा विवेकशील साझाका उज्ज्वलबहादुर थापाले झण्डै सात हजार मत पाए ।
२०७९ सालमा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले महतको तुलनामा दुई हजार मतमात्रै बढाएका हुन् । पाँच वर्षको अन्तरालमा ईश्वर पोखरेलको मत यसरी घट्यो कि प्रतिस्पर्धीले अघिल्लो मत कायम मात्रै राखेको भए पनि उनी पराजित हुन्थे । पछिल्लो निर्वाचनमा पोखरेलले २०७४ को तुलनामा १३ हजार कम अर्थात १० हजार मतमात्रै पाए ।
२०७४ सालको तुलना गर्दा ईश्वर पोखरेलको करिब १३ हजार र विवेकशीलका उम्मेदवार उज्ज्वल बहादुर थापाको झण्डै हजार गरी कुल २० हजार मत अन्यत्र तितरवितर भएको देखिन्छ । त्यति तितरवितर मत कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुने कारक बन्यो ।
त्यसरी छरिएको मत रास्वपा र राप्रपाका उम्मेदवारहरुमा बाँडिएको देखिन्छ । २०७९ मा रास्वपाका प्रणयशम्सेर राणाले साढे पाँच हजार मत पाए । राप्रपाका रामप्रसाद उप्रेतीले करिब चार हजार मत पाए । स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले करिब २७ सय मत बटुलेका थिए ।

यसपटक ईश्वर पोखरेल, प्रदीप पौडेल अनवरत प्रतिस्पर्धामा छन् । कमल थापा राप्रपाबाट छन् भने सस्मित पोखरेल रास्वपाबाट छन् ।
काठमाडौं क्षेत्र नम्बर–५ को समानुपाति मत विश्लेषण गर्ने हो भने २०७४ सालको तुलनामा पछिल्लो पटक एमालेलाई प्रत्यक्ष र समानुपातिक दुवैमा आधाभन्दा बढी मत घाटा लागेको देखिन्छ ।
समानुपातिकमा कांग्रेसको करिब १८ सय मत घट्दा एमालेको मत १८ हजारबाट साढे ९ हजारमा सीमित भएको थियो । २०७४ सालमा काठमाडौं–५ मा विवेकशील साझाले आठ हजार मत पाएको थियो ।
त्यतिबेला कांग्रेस, एमाले, विवेकशील र माओवादीले पाएको करिब १९ हजार मत पछिल्लो पटक अन्यत्र तितरवितर भएको देखिन्छ । ११ सय मतबाट बढाएर पछिल्लो निर्वाचनमा राप्रपाले ७२ सय मत पायो भने रास्वपाले साढे ११ हजार मत पाएको थियो ।
अहिले त्यहाँ ठाँउमा एमाले नेता ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेल निरन्तर प्रतिस्पर्धामा छन् । रास्वपाका सस्मित पोखरेल पनि प्रतिस्पर्धामा छन् । अनि राप्रपाबाट पुराना नेता कमल थापा उम्मेदवार बनेर थपिएका छन् ।
काठमाडौं–६ : शिशिर खनालले सहजै जितेको ठाँउ
२०७४ सालको निर्वाचनमा साढे १५ हजार मत पाएका झक्कु सुवेदीको ठाँउमा माओवादीले कसैलाई उम्मेदवार बनाएन, कांग्रेसलाई समर्थन गर्यो । त्यत्रो साथसहयोगको बाबजुद कांग्रेस नेता भिमसेनदास प्रधानले आफूले अघिल्लोपटक पाएको झण्डै १७ हजार मतको झण्डै आधा पनि जोगाउन सकेनन् ।
एकातिर नयाँ दलको माहौल थियो, त्यसमाथि निर्वाचन जित्नका लागि यी दुई सबल पक्ष बाहेक के चाहियो ? काठमाडौं–६ मा रास्वपा उम्मेदवार शिशिर खनाल २०७९ मा १४ हजार २२१ मत सहित निर्वाचित भए ।
विवेकशीलका उम्मेदवार रमेश चिलुवालले पाएको करिव ४२ सय भोट पनि उनका लागि राम्रो सपोर्ट भयो । त्यतिञ्जेलसम्म एमाले र कांग्रेसका उम्मेदवारहरु सर्वेन्द्र खनाल र भिमसेनदास प्रधान करिब ८८/८९ सय मतमा खुम्चिएका थिए ।

यसपटक अमनकुमार मास्के एमालेबाट, कांग्रेसको कृष्ण बानियाँ, रास्वपाबाट शिशिर खनाल यथावत छन् ।
२०७४ सालको समानुपातिकमा एमाले, कांग्रेस र माओवादीका उम्मेदवारले करिब २९ हजार मत पाएका थिए । नयाँ उदाएको विवेकशील साझाले करिव ५ हजार बनाएको थियो ।
२०७९ मा पुग्दा तीन दल १७ हजार मतमा सीमित भए । विवेकशीलको साटो रास्वपाले त्यहाँ १२ हजार मत पाएको थियो । राप्रपाले ४६ सय मत पायो ।
अघिल्लो निर्वाचनमा एमाले, कांग्रेस र माओवादीबाट घटेको लगभग १२ हजार भोट स्पष्टसँग रास्वपामा ‘सिफ्ट’ भएको देखिन्थ्यो । अहिले काठमाडौं–६ मा रास्वपाबाट शिशिर खनाल यथावत छन् भने एमालेबाट अमनकुमार मास्के, कांग्रेसका कृष्ण बानिया प्रतिस्पर्धामा छन् ।
काठमाडौं–७ : मत घटेर पनि जितेको ठाँउ
२०७४ सालको चुनावमा एमाले उम्मेदवार रामबीर मानन्धरले १८ हजार भोट पाएका थिए । २०७९ सालमा पुग्दा एमालेका अर्का उम्मेदवार श्यामकुमार घिमिरे करिब एक तिहाई अर्थात ६८०० मतमा सीमित भए ।
कांग्रेसले त्यतिबेला राप्रपालाई समर्थन गरेर काठमाडौं–७ मा उम्मेदवार खडा गरेको थिएन । त्यसकै जगमा राप्रपा उम्मेदवार विक्रमबहादुर थापाले १० हजार भोट पाएका थिए । विवेकशीलकी उम्मेदवार अनुपा श्रेष्ठले करिब–करिब साढे ५ हजार भोट ल्याएकी थिइन् ।
२०७९ सालमा आइपुग्दा ८७ सय मत सहित रास्वपाका गणेश पराजुली निर्वाचित भए । २०७४ को तुलनामा उम्मेदवारहरु बढेको र मत बाँडिएकाले अघिल्ला निर्वाचित सांसद्को तुलनामा एक तिहाई मत नै उनका लागि निर्वाचित हुन पर्याप्त बनेको देखिन्छ । माओवादी केन्द्रकी मानुषी यमि भट्टराई ६ हजार मतसहित तेस्रो स्थानमा पुगेकी थिइन् ।
यहाँ एमालेबाट प्रकाश श्रेष्ठ, कांग्रेसबाट प्रमोदहरि गुरागाई, र रास्वपाबाट गणेश पराजुली नै छन् ।

नेपाली कम्युनिष्ट पार्टी (पहिले एसमा रहेका) बसन्त मानन्धर यो पहिले प्रदेश जितेका थिए । अहिले प्रतिस्पर्धामा छन् । प्रकाशले पनि प्रदेश जितेका थिए ।
काठमाडौं–७ मा पछिल्लो निर्वाचनमा समानुपातिकतर्फ रास्वपा साढे १० हजार मत सहित पहिलो भएको थियो । प्रत्यक्षभन्दा समानुपातिकमा कम मत ल्याएर पनि उम्मेदवार निर्वाचित हुने कम ठाँउमध्ये काठमाडौं–७ पनि एक हो ।
२०७४ को निर्वाचनमा ५७ सय मत जोडेको विवेकशील साझाप्रतिको झुकाव भएका मतदातालाई रास्वपाले २०७९ मा सहजै तान्यो र करिब त्यति नै मत थपेको पनि देखिन्छ ।
एमालेले अघिल्लो तुलनामा समानुपातिकमा आधा भोट घटाएको थियो, करिब साढे १२ हजार भोट पाएको उसले २०७४ मा ६३ सय मतमात्रै ल्यायो । कांग्रेसको मत पनि आधाआधी घटेको थियो ।
अहिले त्यहाँ रास्वपाका गणेश पराजुली प्रतिस्पर्धामा छन् । एमाले र नेकपाका प्रदेश सांसदहरु प्रकाश श्रेष्ठ र बसन्त मानन्धर पदबाट राजिनामा दिएर उम्मेदवार बनेका छन् भने कांग्रेसबाट प्रमोदहरि गुरागाई छन् ।
काठमाडौं–८ : छरिएको मत अब कहाँ पोखिएला ?
अघिल्लोपटक काठमाडौं–८ को जस्तो अनौठो मतआँकडा निकै कम ठाँउमा थियो । २०७४ सालका बिजेता होइन, उनका निकटतम प्रतिस्पर्धीले भन्दा झण्डै तीन हजार कम मत ल्याएर रास्वपाका विराजभक्त श्रेष्ठले चुनाव जितेका थिए ।
२०७४ मा एमालेका जीवनराज श्रेष्ठ १३३९७ मतका साथ निर्वाचित भए, कांग्रेसका नविन्द्रराज जोशीले १२९५३ मत पाएका थिए, विवेकशीलका उम्मेदवार पुकार बमले साढे ४ हजार पाएका थिए । २०७९ सालमा विराजभक्तले १० हजार मत ल्याउँदा उनले नपाएको करिब दोब्बर मत चार प्रतिस्पर्धीमा छरिएएको थियो । जसले गर्दा उनी सहजै निर्वाचित भए ।
पछिल्लो निर्वाचनमा हाम्रो नेपाली पार्टीको सुमन सायमीले ६१७९, एमालेबाट एकीकृत समाजवादीमा पुगेका जीवनराम श्रेष्ठले ४८८१, राप्रपाका प्रकाश रिमालले ४३८८ र एमालेका शिवसुन्दर राजबैद्यले ३८९१ मत पाएका थिए ।
अघिल्लो पटक एमाले फुटको गहिरो असरे निकै कम निर्वाचन क्षेत्रमा परेको थियो । त्योमध्ये काठमाडौं–८ पनि एक हो । जहाँ एमाले भन्दा एकिकृत समाजवादीका उम्मेदवारले दुई हजार भोट बढि ल्याएका थिए ।

यहाँ एमालेबाट राजेश शाक्य, कांग्रेसबाट सपना राजभण्डारी र नेकपाबाट सुमन सायमी छन् । विराजभक्त यथावत भइगए ।
२०७४ को निर्वाचनमा एमाले, कांग्रेस र विवेकशिल साझाले झण्डै ३५ हजार मत पाएका थिए । पछिल्लो निर्वाचनमा नयाँ उदाएका रास्वपा, हाम्रो नेपाली पार्टी(हानेपा) र राप्रपाले त्यसको आधा हिस्सा मत पाएका थिए । (माथि तालिका हेर्नुहोस्)
पछिल्लो निर्वाचनमा कांग्रेस, एमाले, एकिकृत समाजवादी र माओवादी केन्द्रको मत साढे १० हजारले सीमित भएको थियो । साढे १० हजार मत पाएको एमाले आधा भन्दा कममा खुम्चिएको थियो, तर उसको मत एकिकृत समाजवादीमा गएको थिएन, किनभने एमाले फुटेपछि बनेको नेकपा(एस)ले चानचुन साढे ११ सय मतमात्रै पाएको थियो ।
काठमाडौं–८ का निवर्तमान रास्वपा सांसद विराजभक्त श्रेष्ठ अहिले पनि प्रतिस्पर्धामा छन् । अघिल्लो पटकका निकटतम प्रतिस्पर्धी सायमी हानेपा समाहित बनेको दल नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार बनेका छन् ।
त्यहाँ कांग्रेसले सपना राजभण्डारीलाई टिकट दिएको छ, जो दिवंगत नेता नविन्द्रराज जोशीकी श्रीमती हुन् । एमालेले राजेश शाक्यलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं–९ : कृष्णगोपाल गए, अरु सबै नयाँ
२२८५२ मतले २०७४ सालको चुनाव जितेका एमालेका कृष्णगोपाल श्रेष्ठले पछिल्लोपटक पनि चुनाव त जिते, तर अघिल्लोको तुलनामा झण्डै ११ हजार कम मत पाए ।
एमाले विभाजित भएको र ऊ बाहेकका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका कारण २०७९ सालमा एमालेको आधाभन्दा बढी भोट घटेको तर्क हुनसक्ला । तर तथ्यांकले त्यसको पुष्टि गर्दैन ।
कांग्रेस र एमाले फुटेर बनेको एकीकृत समाजवादीको समर्थन पाएकी माओवादी केन्द्रकी कल्पना धमलाले जम्माजम्मी साढे ६ हजार मत मात्रै पाएकी थिइन् । जबकी २०७४ को निर्वाचनमा त्यहाँ कांग्रेस उम्मेदवार ध्यानगोविन्द रञ्जित एक्लैले १४८०४ मत पाएका थिए ।
२०७४ सालको तुलनामा पछिल्लो निर्वाचनमा त्यहाँ किन मतदाताहरु उथलपुथल बने त ? रास्वपा एक्लैले प्रत्यक्ष र समानुपातिक दुवैमा ल्याएको करिब ११ हजार मत त्यसको मुख्य कारण बनेको थियो ।
त्यसैले गर्दा २०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा कांग्रेस, एमाले र माओवादीको भोट स्वात्तै घटेको थियो । तरपनि रास्वपा उम्मेदवार टेकबहादुर पोखरेलले ११ हजार भोट पाउँदा पनि एमालेका कृष्णगोपाल श्रेष्ठसँग झण्डै एक हजार मतले पराजित बनेका थिए ।

एमालेले अजयक्रान्ति शाक्य, नेकाले नानुमैया बास्तोला र रास्वपाले डीपी अर्याललाई उठाएको छ ।
समानुपातिकमा साढे १७ हजार भोट पाएको एमाले २०७९ सालमा करिब साढे ९ हजारमा सीमित भयो । साढे ९ हजारभन्दा बढी मत पाएको कांग्रेसले ५ हजारमात्रै पायो । २२ सय मत पाएको राप्रपाले पनि दोब्बरले मत बढाएको थियो ।
अहिले काठमाडौं ९ मा प्रमुख दलहरुका नयाँ उम्मेदवार छन् । एमालेबाट कृष्णगोपालको साटो अजयक्रान्ति शाक्य उठेका छन् । रास्वपाले डीपी अर्यालाई उम्मेदवार बनाएको छ, कांग्रेसबाट नानुमैया बास्तोला प्रतिस्पर्धामा छन् ।
काठमाडौं–१० : दाहाललाई पराजित गरेका केसीको बहिर्गमन
काठमाडौं–१० अर्थात् किर्तिपुरबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेदेखि निरन्तर सांसद छन्, कांग्रेस नेता राजेन्द्रकुमार केसी । पाँच वर्षअघिको तुलनामा ३०७९ मा उनको मत करिब साढे ९ हजारले घटेको थियो ।
२०७४ सालमा एमालेले माओवादी केन्द्रलाई समर्थन गरेको थियो । पछिल्लोमा एकीकृत समाजवादीले कांग्रेसलाई समर्थन गरेको थियो । त्यति हँुदाहँुदै पनि अघिल्लो चुनावका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हितमान शाक्यले पाएको मत(२१९०८) भन्दा पनि कम मतका साथ २०७९ सालमा केसीले चुनाव जितेका थिए ।
२०७९ सालमा एमालेका हिमेश केसीले ११७९१ मत पाए, रास्वपाका प्रदीप विष्टले ८७३९ मत पाएका थिए । त्यसबाहेक राप्रपाका बलराम थापाले पाएको सात हजार मत उल्लेख्य नै मानिन्थ्यो ।
२०७२ सालमा कांग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा करिब ४५ हजार पुग्थ्यो । पछिल्लो निर्वाचनमा त्यो मत पाँचजना उम्मेदवारहरुमा छरिएको देखिन्छ ।

एमालेले विनोद श्रेष्ठ, कांग्रेसले हिमाल कार्की र रास्वपाले प्रदिप विष्ट उठाएको छ ।
ती दुई चुनावको नतिजा तुलना गर्दा समानुपातिकमा कांग्रेस, एमाले र माओवादी केन्द्रको भोट उल्लेख्य घटेको देखिन्छ । अघिल्लो तुलनामा कांग्रेसले साढे ६ हजार, एमालेले साढे ७ हजार र माओवादी केन्द्रले साढे २ हजार मत गुमाएको थियो ।
कांग्रेससँग झिनोले अंकले कम मत ल्याई समानुपातिकमा रास्वपा दोस्रो बनेको थियो । किर्तिपुरमा कांग्रेस, रास्वपा र एमालेले १०–११ हजार हाराहारीमा मत पाएका थिए । त्यतिबेला राप्रपाले झण्डै साढे सात हजार पुर्याएको थियो ।
निवर्तमान सांसद राजेन्द्र केसीले अब उम्मेदवार नबन्ने घोषणा गरेपछि कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । एमालेले विनोद श्रेष्ठलाई अघि सारेको छ । रास्वपाबाट अघिल्लोपटक झंै यसपाली पनि प्रदिप विष्ट उम्मेदवार छन् ।
ललितपुर–१ : गढमा पकड राख्ने कांग्रेस र एमाले दाऊ
२०७४ र पछिल्लो निर्वाचनको तुलना गर्दा राजधानीको ललितपुर–१ मा कांग्रेस, एमाले र माओवादीको जनमतमा कम क्षति पुगेको देखिन्छ । पछिल्लोपटक निर्वाचन जितेका कांग्रेस उम्मेदवार उदयशम्सेर जबराको भोट अघिल्लोभन्दा करिब ३ हजारले बढेको थियो ।
२०७९ सालको चुनाव अघिल्लो तुलनामा बढी भोट ल्याएर निर्वाचित हुने उपत्यकाका निकै कम सांसदमध्ये उनी पनि हुन् । एमाले उम्मेदवार नवराज सिलवालको सात हजार भोट घटेको थियो । त्यो भोट कांग्रेसका जबरा, रास्वपाका सचिनकुमार घिमिरे र राप्रपाका सन्दिप आचार्यले पाएका थिए ।
दक्षिणी ललितपुरको दुई तिहाई भूगोलमा रहेको ललितपुर–१ मा दुई तिहाई मतदाता भने चापागाँउ र वरपरका क्षेत्रमा छरिएका छन् । अघिल्लो निर्वाचनमा रास्वपा लहरको निकै कम प्रभाव परेको निर्वाचिन क्षेत्र ललितपुर–१ नै हो ।

एमालेले चेतनाथ सञ्जेल, कांग्रेसका उदयशम्सेर राणा यथावत छन् र रास्वपाले बुद्धरत्न महर्जनलाई उठाएको छ ।
त्यतिबेला समानुपातिकमा पनि कांग्रेस र एमालेले दुई/तीन हजारको दरले भोट गुमाएका थिए । त्यो मत पनि रास्वपा र राप्रपाले पाएका थिए । रास्वपाले करिव सात हजार मत पाएको थियो, अरु क्षेत्रको तुलनामा कांग्रेस–एमाले र माओवादीको त्यो क्षति नगन्य हो ।
ललितपुर–२: घट्दो मतबाट निर्वाचित महर्जनलाई भारी चुनौती
२०७४ को तुलनामा करिब साढे १२ हजार मत गुमाउँदा पनि पछिल्लो निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका थिए ।
एमालेबाट प्रतिस्पर्धा गर्दा २७७१३ को लोकप्रिय मत पाएका कृष्णलाल महर्जनले २०७९ सालमा एकीकृत समाजवादीबाट प्रतिस्पर्धा गर्दा ८३ सय मत कटाउन सकेनन् । एमालेकै अर्का उम्मेदवार प्रेमबहादुर महर्जन १५ हजार मत पाएर निर्वाचित भए ।
त्यतिबेला कांग्रेस र एमालेका उम्मेदवारको मत अन्तर झण्डै ११ हजार थियो । पछिल्लो निर्वाचनमा मत कतिसम्म छरिएको थियो भने फराकिलो मतान्तरले पराजित निकटतम प्रतिस्पर्धीले भन्दा कम मत पाएर एमाले उम्मेदवार महर्जन निर्वाचित भएका थिए ।
ललितपुर–२ मा २०७४ मा कांग्रेस उम्मेदवार चन्द्र महर्जनले झण्डै १७ हजार मत पाएका थिए । कांग्रेसले समेत समर्थन गरेका एकिकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले २०७९ मा त्यसको आधा पनि पाउन सकेनन्, ८२६४ मतमात्रै ल्याए ।

एमालेका प्रेमबहादुर महर्जन र कांग्रेसका प्रेमकृष्ण महर्जन छन् । रास्वपाबाट पूर्वमन्त्री जगदीश खरेल पनि छन् ।
मत विश्लेषण गर्दा के देखिन्छ भने, समानुपातिकमा कांग्रेस, एमाले र माओवादीले पाएको मत रास्वपा र हाम्रो नेपाली पार्टी(हानेपा)मा पोखिएको थियो ।
कांग्रेस, एमाले, माओवादी र विवकेशील नेपालीले पाएको करिव २४ हजार भोट २०७९ सालमा अन्यत्र छरिएको छ । विवेकशील साझाले २०७४ सालमा ललितपुरको पुरानो नेवारी बस्ती समेत रहेको क्षेत्रमा ९ हजार मत पाएको थियो ।
त्यो सहित कांग्रेस, एमाले र माओवादीले पाएको एकमुष्ट १५ हजार भोट नयाँ दलहरुमा पुग्यो । हाम्रो नेपाली पार्टी(हानेपा)का सुदिन शाक्य र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बुद्धरत्न महर्जनले करिव साढे १७ हजार मत पाएका थिए ।
अहिले ललितपुर–२ मा एमालेबाट प्रेमबहादुर महर्जन नै प्रतिस्पर्धामा छन् भने कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएका जगदीश खरेललाई टिकट दिएको छ ।
ललितपुर–३ : प्रतिस्पर्धीबिनाको तोसिमाको प्रतिस्पर्धा
एमाले र माओवादी केन्द्रको समर्थनमा २०७४ सालमा पम्फा भुसाल(२४०३६)ले पाएको मतभन्दा बढीले २०७९ सालमा निर्वाचित भएकी थिइन, रास्वपा उम्मेदवार डा. तोसीमा कार्की(३११३६ मत) ।
कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा माओवादी उम्मेदवार पम्फा भुसालको उम्मेदवारीको गठबन्धनको अवस्था निकै नाजुक देखिन्थ्यो । कतिसम्म भने आफूले अघिल्लोपटक पाएको भोटको आधा हिस्सा र अघिल्लोपटक कांग्रेसले पाएको भोटको आधा हिस्सामात्रै पाएको भए भुसाल सजिलै निर्वाचित हुने थिइन् । अघिल्लोपटक २४ हजार मत पाएकी भुसाललाई २२ हजार मत पाएको दलले समर्थन गर्दा समेत जम्माजम्मी ८७६९ मत आएको थियो ।
शुरुमा उजुरी, त्यसपछि उम्मेदवारी खारेजी र सर्वोच्च अदालतसम्म पुग्दा डा. कार्कीप्रति समर्थन र सहानुभुतीको भोट मिसिएको थियो । प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १३ हजार मतमात्रै पाएका थिए ।
——–
यहाँ एमालेले सन्दन थापा मगर, कांग्रेसले जितेन्द्रकुमार श्रेष्ठ र रास्वपाले तोसीमा कार्की अनि नेकपाले राजकाजी महर्जनलाई उठाएको छ ।
त्यहाँ प्रत्यक्षमा मात्रै होइन, रास्वपाले समानुपातिकमा पनि पहिलो भएर साढे १६ हजार मत पाएको थियो । एमालेले समानुपातिकमा करिब दुई हजार भोट गुमाउँदा कांग्रेस आधा भएर ८२४७ मतमात्रै पाएको थियो । माओवादीको करिब ४ हजार मत घटेको थियो । जहाँ अघिल्लो पटक विवेकशीलले ९ हजार समानुपातिक मत पाएको थियो ।
अहिले निवर्तमान सांसद तोसीमा कार्की नै रास्वपाकी उम्मेदवार छिन् । एमालेले अमृत खड्काको साटो सन्दन थापा मगरलाई उम्मेदवार बनाएको छ । नेकपाले भुसालको ठाँउमा राजकाजी महर्जन र कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ उम्मेदवार छन् ।
भक्तपुर–१ : नेमकिपाको लालकिल्ला
मतदाताको रोजाईका हिसाबले हेर्दा ओह्रालो नझरेका नेता हुन्, भक्तपुर–१ का नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल । २०७४ सालको निर्वाचनमा ३३ हजार मत पाएका सुवालले पछिल्लोमा साढे ४२ हजार मत ल्याए ।
कुल खसेको मतको आधाभन्दा बढी मत पाएकाले अरु सबै प्रतिस्पर्धीहरुको मत जोड्दा पनि उनको बराबर मत पुग्दैन ।
प्रतिस्पर्धीको अवस्था कतिसम्म नाजुक थियो भने अघिल्लोपटक प्रत्यक्षमा झण्डै १८ हजार मत पाएको कांग्रेसले समर्थन गर्दा समेत माओवादी केन्द्रका सुनिल गोठेले ५२८३ मत पाएका थिए । त्यहाँ राप्रपा उम्मेदवार भरतबहादुर खड्काले पाएको ९३ सय मत अर्को उल्लेखनीय हो, बाँकी अरुले त हजार भोट पनि कटाएका थिएनन् ।

यहाँ एमालेले सोमप्रसाद मिश्र र कांग्रेसले किरण न्यौपानेलाई उठाएको छ । नेमकिपाका प्रेम सुवाल छन् । रास्वपाका रुकेश रञ्जित छन् ।
समानुपातिकमा पनि नेमकिपाले पुगनपुग ३४ हजार मत पाएको थियो, दोस्रो स्थान बनाएको रास्वपाले ११३१० मतमात्रै पाएको थियो ।
त्यहाँ अरु ठूला दलहरुको समानुपातिक मत १० हजारभन्दा तल छ । कांग्रेसले करिब ९ हजार, एमालेले ८२ सय र राप्रपाले ६ हजार भोट पाएको थियो । माओवादी केन्द्र १४ सय मतमा सीमित थियो ।
नेमकिपाले त्यहाँ प्रेम सुवाललाई नै उम्मेदवार बनाएको छ भने एमालेले सोमप्रसाद मिश्र र कांग्रेसको किरण न्यौपानेलाई अघि सारेको छ । अघिल्लो नतिजा हेर्दा भक्तपुर–१ मा अरु दलहरुले प्रतिस्पर्धा गर्नु ‘फलामको च्यूरा’ जत्तिको कठिन हुने देखिन्छ ।
भक्तपुर–२ : इपिसेन्टर गुण्डु
जेनजी आन्दोलनविरुद्ध सबैभन्दा मुखर र खरो रुपमा उत्रिएका एमाले नेता महेश बस्नेतको गाँउठाँउ हो गुण्डु, जहाँ उनले बालकोटबाट अलपत्र परेका पार्टी अध्यक्ष केपी ओलीलाई संरक्षण गरेर राखेका छन्, त्यही निवास बनाइदिने घोषणा गरेका छन् ।
कांग्रेस नेता दुर्लभ थापा क्षेत्री (२४२३९ मत) अघिल्लो निर्वाचनमा एमाले नेता बस्नेत (२३२८३ मत) लाई एक हजार भन्दा कम मतान्तरले पराजित निर्वाचित भएका थिए ।
तेस्रो स्थानमा रहने नेमकिपाकी अनुराधा थापामगरको ७१ सय मत थियो । रास्वपाका उम्मेदवार साजन विश्वकर्माले चार हजार मतमात्रै पाएका थिए ।

एमालेका महेश बस्नेत, अनि नेकाका कविर राणा प्रतिस्पर्धामा छन् भने रास्वपाका राजीव खत्री छन् ।
करिव आठ हजार भोट घाटा लागेपछि एमालेले अघिल्लोपटक १७८७६ मत पाएर समानुपातिकमा पहिलो दल बनेको थियो । कांग्रसले झण्डै १५ हजार मत पायो भने रास्वपाले १२ हजार पाएको थियो ।
समानुपातिकमा भने कांग्रेस र एमालेको भोट घट्दो क्रममा देखिन्थ्यो भने रास्वपा, नेमकिपा र राप्रपाले भोट बढाएका थिए । अहिले त्यहाँ एमालेबाट महेश बस्नेत नै प्रतिस्पर्धामा छन् । कांग्रेसमा दुर्लभ थापा प्रतिस्पर्धामा छैनन, कविर राणा उम्मेदवार बनेका छन् । अनि रास्वपाका राजीव खत्री नयाँ उम्मेदवारहरु हुन् ।
प्रतिक्रिया 4