+
+
Shares

स्पर्श : प्रेम, अहम र सामाजिकताको त्रिभुज

अनिरुद्धको यो निर्णय अनिरुद्धप्रति प्रेमको अभाव भएर होइन, आफ्नो आत्म-सम्मानसँग सम्झौता गर्न नसकेर गरिएको हो, जुन एकदमै हृदयविदारक छ ।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ माघ २६ गते ८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९८० मा नसीरुद्दीन शाहका दुई निर्णायक फिल्महरू \'अल्बर्ट पिन्टोको गुस्सा क्यों आता है\' र \'स्पर्श\' रिलिज भएका थिए।

नसीरुद्दीन शाहका लागि सन् १९८० निकै महत्वपूर्ण वर्ष थियो । यो त्यस्तो वर्ष थियो, जतिबेला उनको करियरका दुई निर्णायक फिल्महरू केही महिनाको अन्तरालमा रिलिज भए । यी फिल्महरू हुन् सइद मिर्जाको ‘अल्बर्ट पिन्टोको गुस्सा क्यों आता है’ र साई पराञ्जपेको ‘स्पर्श’ ।

सइद मिर्जाको चलचित्रमा नसीरले अल्पसंख्यक समुदायको क्रोधित र आवेगी चरित्रको निर्वाह गरेका थिएद । ‘स्पर्श’मा पनि नसीरले अल्पसंख्यक समुदायकै, दृष्टिविहीन चरित्रको भूमिका निर्वाह गरेका छन् तर उनी तुलनात्मक रूपमा कम आवेगी र आक्रोशित देखिन्छन् । दुवैको अभिव्यक्तिमा भने फरक छ । ‘स्पर्श’मा नसीरले आफ्नो आक्रोशलाई बौद्धिक आकार दिएका छन् भने ‘अल्बर्ट पिन्टोको गुस्सा क्यों आता है’मा उनको आक्रोशलाई प्राकृतिक तवरले व्यक्त गरेका छन्।

‘स्पर्श’ फिल्म भने फिल्मको उच्च दर्जाको कलाकारितासहित अन्य कुराले पनि प्रसिद्ध छ । विश्वविख्यात हलिउड अभिनेता अल प्याचिनोले आफ्नो फिल्म ‘सेन्ट अफ अ वुमन’मा दृष्टिविहीन कर्नेल स्लेडको भूमिका निर्वाह गर्नका लागि यो फिल्म हेरेका थिए । अल प्याचिनोले यस फिल्मबाट सर्वश्रेष्ठ अभिनेताको ओस्कार अवार्ड जितेका थिए ।

प्रेमको बेग्लै आयाम

फिल्मको सबैभन्दा सशक्त पक्ष भनेको नै कथामार्फत हाम्रै आँखा वरपरको प्रेमको बेग्लै आयामको संकेत गर्नु हो ।

संसारको परिधिमा रहेर गरिने प्रेम निरिन्द्रीय हुन सक्दैन । प्रेमका लागि आँखा प्राथमिक इन्द्रीय हो । आँखाले प्रेमको मूर्त प्रस्थापना खोज्छ । आँखाबाट संवाद प्रकारान्तरले प्रेम स्थापित हुन्छ । तर आँखाको ज्योति गुमाएकाहरूको संवाद र प्रेम कसरी स्थापित हुन्छ ? यसलाई कलात्मक तरिकाले देखाउनु आफैँमा कम कठिन कार्य होइन ।

‘स्पर्श’ यस्तै प्रकारको प्रेमको कथा हो । दृष्टिको आधारबाट होइन, स्पर्शको आधारबाट कोरिएको प्रेमको कथा हो । अनि यस प्रेमकथाका पात्रहरू समाजका असामान्य अस्तित्वका शिराहरूमा उभिएका छन् ।

जसमा एकजना दृष्टिविहीन र अर्को सामान्य दृष्टि भएको हुन्छ । कविताले दृष्टिविहीन केटालाई बढी प्रेम गरेको देखेपछि उनीहरूबीच मनमुटाव हुन्छ ।

समाजद्वारा तिरस्कृत भएकी एक जवान विधवा कविता (शबाना आजमी) आफ्नो भावनात्मक रिक्ततासँग जुधिरहेकी छिन् जब उनको भेट दृष्टिविहीन विद्यालयका प्रधानाध्यापक अनिरुद्ध परमार (नसीर शाह) सँग हुन्छ । उनीहरूको यो भेट बिस्तारै भावुक र गहिरो सम्बन्धमा परिवर्तन हुँदै जान्छ । तर दृश्यमा आधारित होइन, स्पर्शमा आधारित सम्बन्ध ।

कविता आफूलाई बिस्तारै अनिरुद्धको अनुकूलताको आकारमा ढाल्न थाल्छिन् । उनी त्यस्ता साडीहरू किन्छिन् जो अनिरुद्ध स्पर्श गरेर महसुस गर्न सकून् । यस्तै साना-साना क्रिया र क्षणहरूबाट उनी अनिरुद्धलाई आफ्नो प्रेमिल समर्पणहरूको संकेत देखाइरहन्छिन् । पात्रहरूको प्रवृतिगत भिन्नताले गर्दा समयक्रममा बिस्तारै द्वन्द्व बढ्दै जान्छ । अनिरुद्ध शारीरिक रूपमा असामान्य भए पनि उनी स्वाभिमानी र स्वावलम्बी छन् । उनी दया र मायाको भेदलाई राम्रोसँग छुट्याउन सक्छन् । त्यसकारण उनी कसैप्रति आश्रित बन्न चाहँदैनन् ।

यसरी पराश्रित हुनुको भयले अनिरुद्धको शान्ति र चयन हरण गरेर लैजान्छ । उनी कवितामाथि निर्भर रहनुपर्ने भावनाले मनका पत्रहरूमा डस्न थाल्छ । यही विन्दुबाट कथाले साना-साना कुराहरू मार्फत द्वन्द्वको रूप लिन थाल्छ । अनिरुद्धको यस अलगावलाई घुम्ती दिने नियन्ता एक दृष्टिविहीन सहकर्मी (ओम पुरी) की पत्नीको मृत्यु हुन जान्छ ।

आफ्नो सहकर्मीको असहाय मन्तव्य र जीवन देखेर अनिरुद्ध यति भयाक्रान्त हुन्छन् कि उनले कवितासँगको इन्गेजमेन्ट तोड्ने निर्णय गर्छन् ।

समाजको स्वाभाविक जीवनप्रवाह भन्दा भिन्न बग्ने मानिसहरूको भयको चित्रण यस क्षणमा विस्मयप्रद तरिकाले गरिएको छ । तर अनिरुद्धको असुरक्षा भावको तीव्रता त्यति बेला देखिन्छ जब उनी कवितालाई विद्यालयसँगको सम्बन्ध तोड्न भन्छन् । कविता उक्त अपमानबोधको तीतो घुट्कोलाई समेत निलेर उनको निर्णयलाई असफल हुन दिन्नन् । यस कथामा कविताको यस्तो कदमलाई लिएर अनेक व्याख्या गरिएका छन् । तर हरेक व्याख्याको आ-आफ्नो आलोक र आधार हुन सक्छन् ।

अनिरुद्धको यो निर्णय अनिरुद्धप्रति प्रेमको अभाव भएर होइन, आफ्नो आत्म-सम्मानसँग सम्झौता गर्न नसकेर गरिएको हो, जुन एकदमै हृदयविदारक छ । र जब उनी अन्ततः भावुक बन्दै कविताको ‘स्पर्श’लाई दानको रूपमा नभई बराबरीको प्रेमको रूपमा स्वीकार गर्छन्, तब त्यो क्षण इमानदार र मर्मस्पर्शी भावनाले परिपूर्ण भएको महसुस हुन्छ ।

कविताको उपस्थिति फिल्मभरि नै सौन्दर्ययुक्त देखिन्छ। कुनै बाह्य सजावटले होइन, बरू उनको शान्त आँखा, उष्णता र धैर्यताले । उनको त्यो सुन्दरता मनपर्छ जुन समानुभूतिबाट आउँछ । उनको उपस्थिति सुखद र बलियो महसुस हुन्छ । उनी मायाको पछि लाग्दिनन्, उनी पर्खिन्छिन्, बुझ्छिन् र अझै पनि अडिग रहन्छिन् । त्यस्तो प्रकारको शालीनता साँच्चै नै सौन्दर्ययुक्त हुन्छ।

को हो त दृष्टिविहीन ?

अनिरुद्ध दृढ चरित्रका छन् । उनलाई प्रतिवाद गर्ने चरित्र फिल्ममा भेट्टाउन गाह्रो छ । तर एउटा सूक्ष्म, महत्वपूर्ण नदेखिने चरित्रले भने अनिरुद्धको अहममन्यता माथि प्रश्न उठाउँछन् । यहाँ कविताकी एक मात्र साथी (सुधा चोपडाद्वारा अभिनित) ले हस्तक्षेप गर्छिन् र अनिरुद्धलाई कविताको भावनाप्रतिको उनको अन्धोपनको सत्यता हेर्न सङ्केत गर्छिन् । ‘तिमीहरू दुईजनामा वास्तवमा को अन्धो छ म छक्क पर्छु । उसलाई तिम्रो आवश्यकता परेको होइन, तिमीलाई उसको आवश्यकता छ’ साथीले सम्झाउँछिन्।

प्रेमको प्रतिकथा

अनिरुद्ध कविताको प्रेमबाट भाग्न खोजिरहेको कथामा भने अर्को प्रतिकथा छ, जहाँ सरल बालबच्चाहरू प्रेम पाउन लालायित छन् । दृष्टिविहीन विद्यालयका दुई केटाहरूबीचको प्रतिस्पर्धाको एउटा रोचक उप-कथा छ, जसमा एकजना दृष्टिविहीन र अर्को सामान्य दृष्टि भएको हुन्छ । कविताले दृष्टिविहीन केटालाई बढी प्रेम गरेको देखेपछि उनीहरूबीच मनमुटाव हुन्छ । दृष्टियुक्त केटाले आफू पनि अन्धो हुन चाहन्छ ताकि उसलाई पनि दृष्टिविहीन केटासरह व्यवहार गरियोस्।

यो गौण कथामार्फत के देखाउन खोजिएको छ भने असामान्य व्यक्तिहरूको वरिपरि सामान्य हुनुको अपराधबोध पनि असहनीय हुन सक्छ । विशेष शारीरिक वा भावनात्मक असामान्यता भएका व्यक्तिवरिपरि सामान्य हुनु पनि अनौठो क्रिया हुन जान्छ । समाजमा सामान्य र असामान्यको अवधारणा कसरी सङ्ख्यासँग जोडिएको हुन्छ भन्ने कुरा परोक्ष रूपमा फिल्ममा देखाउन खोजिएको छ । अनिरुद्ध जुन प्रेम र संगतबाट उम्किन खोजिरहेका छन्, कसैका लागि त्यही कारण कविताको प्रेम प्राप्तिको सूत्रझैँ हुन पुगेको छ ।

फिल्मका दोषहरू

फिल्मका दोषहरू के आधारले पहिचान गर्ने ! भारतीय फिल्म उद्योगका सिनेमाहरूमा दुई किसिमका फिल्महरू छन् – मूलधार र समानान्तर। ‘स्पर्श’ स्वतः समानान्तर फिल्मको वर्गमा पर्न आउँछ । समानान्तर फिल्महरूमा आर्थिक अभाव हुनु एउटा वैश्विक चरित्र हो भन्दा फरक नपर्ला । सायद यही आर्थिक अभावको कारणले हुनुपर्छ, प्रस्तुति उत्कृष्ट हुँदाहुँदै पनि छायाङ्कनको गुणस्तर राम्रो छैन।

शबाना र नसीरुद्दीनको प्रतिभाको ओज र प्रस्तुतिले गर्दा सूक्ष्म चरित्रहरू भने दर्शकको आँखामा नछापिन सक्छन् ।

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?