+
+
Shares

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका एक मजदुर बेपत्ता

दमन राई दमन राई
२०८२ माघ २५ गते १७:०१

२५ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा खोटाङका एक मजदुर बेपत्ता भएका छन् । माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई हराएका हुन् ।

रत्न खानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताए । मेघालयमा सँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तले आफूलाई जानकारी दिएको राउतले बताएका छन् ।

खानीमा भेटिएका शवहरू आगोले डढेर चिनिने अवस्था नभएको सँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् । उनका अनुसार, रत्नको नागरिकता, डायरी र मोबाइल भने कोठामै छ । राई रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय गएका थिए ।

विस्फोटमा हालसम्म खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भइसकेको छ । गम्भीर घाइते नरबहादुरको उपचारको क्रममा माघ २३ गते मृत्यु भएको हो । पूर्णबहादुर र सुरेन्द्र एकैघरका दाजुभाई हुन् । मेघालयबाट शव घरमा ल्याउन भने परिवारलाई कठिनाइ भइरहेको छ ।

विस्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङगी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् । मेघालय पुगेका बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल छन् ।

उनीहरू रोजगारी खोज्दै गत पुस ३ गते मेघालय गएका थिए । विस्फोटमा हालसम्म २७ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

दर्जनौं कामदार कोईलाखानीको प्वालभित्रै फसेको अनुमान छ । फसेका कामदारको उद्धार कार्य जारी छ ।

सम्पत्ति कमाउन गएका आफन्त अवैध कोइलाखानीको विस्फोटमा परेपछि बराहपोखरीको सालघारी गाउँ शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?