+
+
Shares

३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ३१ वटा क्षेत्रमा महिला उम्मेदवार नै छैनन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ २५ गते २१:४४

२४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमा निर्वाचन हुँदैछ । प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।

प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्य समूहका एक जना उम्मेदवार छन् । यो महिला उम्मेदवारीको संख्या ११.३९ प्रतिशत हो ।

१६५ वटा निर्वाचन क्षेत्रमध्ये ३१ वटा निर्वाचन क्षेत्रमा त महिला उम्मेदवार नै छैनन् ।

उम्मेदवारहरूको तथ्यांकअनुसार कोशी प्रदेश अन्तर्गतका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य छ । ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–१ र उदयपुर–२ मा महिला उम्मेदवार छैनन् ।

ताप्लेजुङ, पाँचथर, भोजपुरमा एउटा/एउटा निर्वाचन क्षेत्र छ । ताप्लेजुङमा १३ जना, पाँचथरमा १५ जना र भोजपुरमा १२ जना उम्मेदवार छन् । उनीहरू सबै दलीय उम्मेदवार हुन् । कसैले पनि महिलालाई उम्मेदवार बनाएनन् ।

धनकुटामा पनि एउटा निर्वाचन क्षेत्र छ । यहाँ १७ जना उम्मेदवार छन् । यसमा १४ जना दलीय र तीन जना स्वतन्त्र उम्मेदवार छन् । सबै पुरुष उम्मेदवार हुन् ।

मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये मोरङ–२ र मोरङ–३ मा पुरुष मात्रै उम्मेदवार छन् । मोरङ–२ मा १७ जना उम्मेदवार छन् । १३ जना दलीय र चार जना स्वतन्त्र उम्मेदवार छन् । मोरङ–३ मा रहेका १८ जना उम्मेदवारमध्ये १६ जना दलीय र दुई जना स्वतन्त्र उम्मेदवार हुन् ।

खोटाङमा पनि महिला उम्मेदवार छैनन् । यो जिल्लामा एउटै निर्वाचन क्षेत्र छ र १५ जना उम्मेदवार छन् । त्यसमध्ये १३ जना दलीय र दुई जना स्वतन्त्र उम्मेदवार हुन् ।

उदयपुरमा दुई वटा निर्वाचन क्षेत्र छ । उदयपुर–१ मा १८ र उदयपुर–२ मा १३ जना उम्मेदवार छन् । दुवै क्षेत्रमा एक/एक जना स्वतन्त्र छन् भने बाँकी दलीय उम्मेदवार हुन् । उनीहरू सबै पुरुष हुन् ।

समग्रमा कोशी प्रदेशमा पुरुष उम्मेदवार ४३६ र महिला उम्मेदवार केवल ५८ जना छन् ।

मधेशमा १, बागमती र गण्डकीमा ३/३

मधेश प्रदेशअन्तर्गत महिला उम्मेदवार शून्य रहेको एउटा मात्रै निर्वाचन क्षेत्र छ । त्यो हो– रौतहट–२ । यहाँ २६ जना उम्मेदवार छन् । यसमध्ये १४ जना दलीय र १२ जना स्वतन्त्र उम्मेदवार हुन् । सबै पुरुष उम्मेददवार हुन् ।

समग्रमा मधेश प्रदेशमा महिला उम्मेदवारको संख्या १०९ छ । पुरुष उम्मेदवार ९१८ जना छन् ।

बागमती प्रदेश अन्तर्गतका तीन वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । ती क्षेत्र हुन्– काभ्रे–१, सिन्धुली–१ र नुवाकोट–२ ।

काभ्रे–१ मा १८ जना उम्मेदवार छन् । उनीहरू सबै दलीय उम्मेदवार र पुरुष उम्मेदवार हुन् । सिन्धुली–१ मा १२ जना उम्मेदवार छन् । उनीहरूमध्ये एक जना स्वतन्त्र र बाँकी ११ जना दलीय उम्मेदवार हुन् । नुवाकोट–२ मा १२ जना उम्मेदवार छन् । उनीहरू सबै दलीय उम्मेदवार हुन् । अर्थात्, दलहरूको प्राथमिकतामा नपरेकै कारण महिलाहरू उम्मेदवार हुनबाट बन्चित भएको देखिन्छन् ।

समग्रमा बागमती प्रदेशमा महिला उम्मेदवारको संख्या १०८ छ । पुरुष उम्मेदवार ६२३ छ ।

गण्डकी प्रदेशअन्तर्गत पनि तीन वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य छ । पुरुष मात्रै उम्मेदवार रहेका क्षेत्रहरूमा स्याङ्जा–१, स्याङ्जा–२, म्याग्दी रहेका छन् ।

स्याङ्जा–१ मा २४ जना र स्याङ्जा–२ मा १२ जना उम्मेदवार छन् । यहाँ क्षेत्र नम्बर २ मा दुई जना र क्षेत्र नम्बर एकमा १ जना उम्मेदवार स्वतन्त्र छन् भने बाँकी दलीय उम्मेदवार हुन् ।

म्याग्दी एउटा निर्वाचन क्षेत्र छ । यहाँ ११ जना दलीय र एक जना स्वतन्त्र उम्मेदवार छन् । सबै पुरुष उम्मेदवार हुन् ।

समग्रमा गण्डकी प्रदेशमा पुरुष उम्मेदवार २०३ जना र महिला उम्मेदवार ३१ जना छन् ।

लुम्बिनी र कर्णालीमा ४/४, सुदूरमा ७

लुम्बिनी प्रदेश अन्तर्गतका कपिलवस्तु–३, रोल्पा, दाङ–१ र बाँके –२ मा महिला उम्मेदवार शून्य छ । कपिलवस्तु–३ मा ३६ जना उम्मेदवार छन् । उनीहरूमध्ये २३ जना स्वतन्त्र र बाँकी १३ जना दलीय उम्मेदवार हुन् ।

रोल्पामा एउटै निर्वाचन क्षेत्र छ जहाँ १० जना उम्मेदवार छन् । सबै दलीय उम्मेदवार र पुरुष उम्मेदवार हुन् ।

दाङ–१ मा १४ जना उम्मेदवार छन् । दुई स्वतन्त्र र १२ दलीय उम्मेदवारमा महिला छैनन् । बाँके–२ मा पनि महिला उम्मेदवार छैनन् । यो क्षेत्रमा २० जना उम्मेदवार छन् । उनीहरूमध्ये तीन जना स्वतन्त्र र बाँकी १७ जना दलीय उम्मेदवार हुन् ।

समग्रमा लुम्बिनी प्रदेशमा ५८२ जना उम्मेदवार छन् । त्यसमध्ये महिला उम्मेदवारको संखया ५३ र पुरुष उम्मेदवारको संख्या ५२९ छ ।

कर्णाली प्रदेशका चार वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् ।  मुगु, कालीकोट, जाजरकोट र सुर्खेत १ मा पुरुष उम्मेदवारहरू मात्रै प्रतिस्पर्धामा रहेका हुन् ।

मुगुमा सात जना, कालीकोटमा १० जना, जाजरकोटमा ११ जना र सुर्खेत–१ मा १३ जना उम्मेदवार छन् । उनीहरू सबै दलीय र पुरुष उम्मेदवार हुन् ।

यो प्रदेशमा कूल १३१ उम्मेदवार छन् । यसमध्ये महिला उम्मेदवार ११ जना र पुरुष उम्मेदवार १२० जना छन् ।

सुदूरपश्चिमका सात वटा निर्वाचन क्षेत्रमा पुरुष मात्रै उम्मेदवार छन् ।  बाजुरा, अछाम–१, अछाम–२, बझाङ, दार्चुला, बैतडी र डडेलधुरामा महिला उम्मेदवार छैनन् ।

बाजुरामा ८ जना, अछाम–१ मा ८ जना, अछाम–२ मा ९ जना, बझाङमा ७ जना, दार्चुलामा ११ जना, बैतडीमा ११ जना र डडेलधुरामा १३ जना उम्मेदवार छन् । उनीहरू सबै दलीय र पुरुष उम्मेदवार हुन् ।

यो प्रदेशमा कूल २०६ उम्मेदवार छन् । यसमध्ये महिला उम्मेदवार १८ जना र पुरुष उम्मेदवार १८८ जना छन् ।

दलीय प्राथमिकतामा परेनन् महिला

कूल महिला उम्मेदवार ३८८
स्वतन्त्र १५७
दलीय २३१
नेपाली कांग्रेस ११
नेकपा एमाले १०
नेपाली कम्युनिस्ट पार्टी १२
राष्ट्रिय स्वतन्त्र पार्टी १६
राष्ट्रिय प्रजातन्त्र पार्टी
जनता समाजवादी पार्टी नेपाल
श्रम संस्कृति पार्टी
उज्यालो नेपाल पार्टी
नागरिक उन्मुक्ति पार्टी नेपाल
राष्ट्रिय जनमोर्चा
नेपाल मजदुर किसान पार्टी ५४
मंगोल नेसनल अर्गनाइजेसन १५

तथ्यांकले राजनीतिक दलहरूको प्राथमिकतामा महिला उम्मेदवार नपरेको देखाउँछ । १६५ सिटका लागि कूल तीन हजार ४०६ जना उम्मेदवार छन् । यसमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्य समूहका एक जना उम्मेदवार छन् ।

३८८ जना महिला उम्मेदवारमा पनि स्वतन्त्र उम्मेदवारको संख्या १५७ छ । बाँकी २३१ जना महिला उम्मेदवार दलीय हुन् । यसमा पनि ठूला दलहरू महिलालाई उम्मेदवार बनाउन अनुदार देखिन्छन् ।

नेपाली कांग्रेसबाट ११ जना, नेकपा एमालेबाट १० जना, नेपाली कम्युनिस्ट पार्टीबाट १२ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आठ जना महिला उम्मेदवार रहेका छन् ।

कांग्रेसबाट प्रतिस्पर्धामा रहेका ११ जना महिला उम्मेदवार हुन्– सरिता प्रसाईं (झापा–२), मन्धरा चिमरिया (झापा ५), चन्द्रकला कुमारी यादव (सिरहा–४) सुशीला थिङ (सिन्धुली–२), किरण यादव (महोत्तरी–२), सपना राजभण्डारी ( काठमाडौं–८), नानुमैंया बास्तोला (काठमाडौं–९), महालक्ष्मी उपाध्याय डिना (मकवानपुर–१) मीनाकुमारी खरेल (चितवन–२), कुसुमदेवी थापा रुकुम (पूर्वी भाग) र बासना थापा (दैलेख) ।

एमालेबाट उम्मेदवार रहेका १० जना महिला उम्मेदवारमा भगवती चौधरी (सुनसरी–३), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा), जुलीकुमारी महतो (महासेठ) (धनुषा–३), निलम अधिकारी (महोत्तरी–४), ज्वालाकुमारी साह (बारा–३), रिमाकुमारी यादव (पर्सा–२), भगवती न्यौपाने (तनहुँ–१), मन्जु शर्मा (बागलुङ–२) र विमला विक (बर्दिया–२) रहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले १२ जना महिलालाई उम्मेदवार बनाएको छ । जसमा धर्माशीला चापागाईं (झापा–२), सरिता थापा (संखुवासभा), रामकुमारी चौधरी (सुनसरी–२), रुवीकुमारी कर्ण (सप्तरी–४), मेनुका भण्डारी (काठमाडौं–१), कल्पना शर्मा (काठमाडौं–५), रुपा महर्जन श्रेष्ठ (काठमाडौं–१०), पुनम देवी (रौतहट–३), रेणु दाहाल (चितवन–३), यशोदा गुरुङ सुवेदी (मनाङ), बिना मगर (कञ्चनपुर) र सिन्धु जलेसा बुढाथोकी (नवलपरासी बर्दघाट सुस्ता पश्चिम रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना महिला उम्मेदवार छन् । जसमा निशा डाँगी (झापा–१), इन्दिरा राना मगर (झापा–२), आशा झा (मोरङ–५), रुबिना आचार्य (मोरङ–६), गोमा तामाङ (सुनसरी–१), पुष्पाकुमारी चौधरी (सप्तरी–१), गौरीकुमारी (महोत्तरी–४), नितिमा भण्डारी कार्की (सर्लाही–१), आसिका तामाङ (धादिङ–१) र रन्जु न्यौपाने (काठमाडौं–१) रहेका छन् ।

यसैगरी रास्वपाबाट तोसिमा कार्की (ललितपुर–३), सोविता गौतम (चितवन–३), बिना गुरुङ (कास्की–३), बिनिता कठायत (जुम्ला), टासी ल्हान्जोम (हुम्ला) र कोमल ज्ञवाली (कैलाली–१) बाट उम्मेदवार छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ८ जना महिला उम्मेदवार रहेका छन् । जसमा ज्वाला नेपाल (इलाम), कुन्तीदेवी पोखरेल उपाध्याय (काठमाडौं–२), सजिना कार्की (ललितपुर–१), बिना जैसवाल (पर्सा–२), रुनकुमारी महतो (नवलपरासी बर्दघाट सुस्ता पूर्व), कमला लालचन (मुस्ताङ), अनिशा नेपाली (सल्यान) र बबिताकुमारी शाही (दैलेख)बाट उम्मेदवार रहेका छन् ।

जनता समाजवादी पार्टी नेपालले ८ जना, श्रम संस्कृति पार्टीले ७ जना, उज्यालो नेपाल पार्टीले ६ जना, नागरिक उन्मुक्ति पार्टी नेपालले ४ जना र राष्ट्रिय जनमोर्चाले ९ जना महिलालाई उम्मेदवार बनाएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट ५४ जना महिला उम्मेदवार छन् । मंगोल नेसनल अर्गनाइजेसनबाट १५ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?