२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभइ नहुने बताउने गरेको दाबी गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवार समेत रहेका उनले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सो जिकिर गरेका हुन् । बुढापाकाहरू भन्दा पनि बढी युवाहरूले देशमा हिन्दू राष्ट्र र राजसंस्थाको चाहना राखेको समेत वरिष्ठ नेता थापाको भनाइ थियो ।
‘जहाँ हामी भोट माग्न गएका छौं । अधिकांशले हामी हिन्दू राष्ट्र चाहन्छौं भन्छन् । अधिकांंशले अब राजा नभई हुँदैन भन्छन् । केवल बुढापाकाले मात्रै होइन, हिन्दू राष्ट्र र राजसंस्थाको चाहना अहिले सबैभन्दा बढी युवाहरूले खोजिराखेका छन् । अब हामीले मेहनत गर्नुपर्छ । घरघरमा पुग्नुपर्दछ,’ थापाले भने ।
उनले भ्रष्ट नेता र भ्रष्ट पार्टीलाई मतदान नगर्नका लागि आम मतदातालाई अपिल गर्न पनि पार्टीको सिंगो पंक्तिलाई अपिल गरे । जनताको घरघरमा पुगेर भ्रष्टाचारको अन्त्यका लागि आफूहरूलाई मत दिन आग्रह गर्न आवश्यक रहेको वरिष्ठ नेता थापाले बताए ।
‘हामी रातदिन भ्रष्टाचारको विरोध गर्दछौं । २४ घण्टा नै भ्रष्टाचार भएको गुनासो गर्दछौं । तर चुनावको बेला यी सबै कुरा बिर्सेर त्यही भ्रष्ट, भ्रष्ट दललाई नै भोट हाल्ने काम गर्दछौं,’ नेता थापाले भने, ‘त्यसकारणले गर्दा यस पटक कमसेकम यो चुनावमा भ्रष्ट नेता र देशमा भ्रष्टाचारको महारोग भित्र्याउने पार्टीलाई भोट हाल्दैनौं भन्ने संकल्प गराऔं । हामीले जनतालाई यही भनिराखेका छौं । जनताले पनि सकारात्मक रेसपोन्स गरिरहेका छन् ।’
प्रतिक्रिया 4