+
+
Shares

दलहरूको घोषणापत्रमा खोजिंदै विदेशबाट मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १५:१८

२६ माघ, काठमाडौं । राजनीतिक दलहरू आगामी २१ फागुनको निर्वाचनकेन्द्रित चुनावी घोषणापत्र लेखनमा छन् । कतिपय दलले घोषणापत्र ल्याइसकेका छन् भने अधिकांश दलहरू घोषणापत्र लेखनकै कार्यमा रहेका छन् । यो बेला दलहरूका घोषणापत्रमा के कस्ता विषय आउनु आवश्यक छ भनेर नागरिक समाजका अगुवाहरू पनि सक्रिय छन् ।

‘नागरिक सहभागिता प्रवर्द्धन’ नामक संस्थाले दलहरूको घोषणापत्रमा समावेश गर्न भनेर ९ वटा विषय प्रस्ताव गरेको छ । जसमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रतिवद्धता लगायतका विषय खोजिएको छ ।

दलहरूले घोषणापत्रमा समेट्नुपर्ने भनेर ‘नागरिक साहभागिता प्रवर्द्धन’ले सार्वजनिक गरेको ९ बुँदे प्रस्तावमा भनिएको छ, ‘डिजिटल नागरिक सहभागिता प्रवर्द्धन विद्युतीय मतदान मार्फत सबै नेपाली (स्वदेश/विदेश) को मतदान, राइट टु रिजेक्ट, राइट टु रिकल को व्यवस्था गर्ने, हेट स्विप एण्ड डिसइन्फरमेसन नियन्त्रण प्रणाली विकास गर्ने, सामाजिक संजालको व्यवस्थित उपयोग गर्ने र डिजिटल र डिजिटल विभाजन घटाउने ।’

यो संस्थाको संयोजकमा पूर्वसांसद प्रकाश पन्थ छन् । राजनीतिक दलका प्रतिनिधिहरू, सांसदहरू र कर्मचारीहरू सम्मिलित यो संस्थाले दलहरूबाट नागरिकले के कस्ता विषय अपेक्षा गरेका छन् भनेर ९ बुँदामा विभिन्न विषय समेटेको हो । जसमा वाक स्वतन्त्रता, कानुन निर्माणमा नागरिक सहभागिता, पारदर्शी नागरिक वार्ता प्रणाली लगायतका विषय रहेका छन् ।

यस्ता छन् ९ बुँदा

१. वाक स्वतन्त्रताको अभ्यास : कुनै पनि संचार माध्यमबाट आफ्नो विचार व्यक्त गर्ने र सूचना प्राप्त गर्ने एवं विचार प्रवाह गर्न पाउने वातावरण बनाउने, अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड अनुसार कानुन बनाउने, त्रास मुक्त वातावरणमा संचार गर्न सक्ने वातावरण बनाउने, कुनै पनि अवस्थामा इन्टरनेट बन्द नगर्ने र सामाजिक संजाल व्यवस्थित गर्ने एवं व्यक्तिको गोपनियता भंग नगर्ने ।

२. शान्तिपूर्ण भेला एवं विरोध र प्रदर्शन: सुरक्षाकर्मीलाई मानव अधिकारको रक्षा र प्रवर्द्धनका लागि तालिम दिने र आचार संहिता जारी गर्ने, मानव अधिकार आयोग र अन्य आयोगको उजुरी सुनुवाई प्रक्रिया सशक्त बनाउने र ती निकायलाई स्वायक्त बनाउने ।

३. कानुन निर्माणमा नागरिक सहभागिता विधेयकमा सुझाव दिन पाउने नागरिक अधिकारको सुनिस्चितता गर्ने, विधायन सम्बन्धी कानुन संशोधन गर्ने, सूचना प्रविधिको माध्यमबाट सूचनारसुझाव प्राप्त गर्ने व्यवस्था गर्ने र संघ संस्था संचालन एवं व्यवस्थापन सम्बन्धी ऐन कानुन निर्माण गर्ने ।

४. सार्वजनिक निर्णयमा जनताको राय तथा सुझाव: संवैधानिक एवं सार्वजनिक नियुक्तिमा खुला प्रतिस्पर्धा गराउने, संवैधानिक एवं सार्वजनिक नियुक्तिमा सार्वजनिक सुनुवाई अनिवार्य गर्ने, संसदीय सुनुवाईमा जनताको सुझाव एवं उजुरी लिने व्यवस्था गर्ने र सरकारले निर्णय गर्नु अघि सार्वजनिक सूझाव लिने व्यवस्था गर्ने ।

५. डिजिटल नागरिक सहभागिता प्रवर्द्धन विद्युतीय मतदान मार्फत सबै नेपाली (स्वदेश/विदेश) को मतदान, Right to Reject / Right to Recall को व्यवस्था गर्ने, Hate speech and disinformationनियन्त्रण प्रणाली विकास गर्ने, सामाजिक संजालको व्यवस्थित उपयोग गर्ने र Digital divide  घटाउने ।

६. सिभिल डाइलग एग्रिमेन्ट : नियमित एवं पारदर्शी नागरिक वार्ता प्रणाली लागू गर्ने, खान, नाना र छानाको छनोट एवं देशभर भ्रमण गर्ने कुरामा बन्देज नलगाउने र माया प्रेम र विवाहमा निर्वाध स्वतन्त्रताको सुनिस्चितता गर्ने, सार्वजनिक निर्णयमा समावेशी सहभागिता सुनिश्चित गर्ने ।

७. सार्वजनिक संस्थामा सूचना प्रकाशन: नियमित प्रकाशनको व्यवस्था गर्ने, प्रवक्ता र सूचना अधिकारीबाट संस्थाको नियमित जानकरी प्रकाशन गर्ने गुनासो सुन्ने अधिकारीको व्यवस्था गर्ने, सार्वजनिक संस्थामा सुशासन एकाई गठन गर्ने, हेल्लो सरकारलाई सबै तहका सरकार र सार्वजनिक संस्थामा विस्तार गरी प्रभावकारी बनाउने ।

८. राष्ट्रिय सदाचार नीति जारी: राष्ट्रिय निष्ठा र सदाचार प्रवर्द्धन केन्द्र स्थापना गर्ने, सार्वजनिक एवं निजि क्षेत्रमा सदाचार प्रवर्द्धन गर्न आचार संहिता अनिवार्य गर्ने, सदचारिता शिक्षा अनिवार्य गर्ने, सांसद र सार्वजनिक पदाधिकारीको वार्षिक रिपोर्ट कार्ड जारी गर्ने, विगतका भ्रष्टाचारका फाइलको पुनरावलोकन गर्ने, र सबै ऐन कानुनलाई नागरिक सहभागिताका दृष्टिमा पुनरावलोकन गर्ने ।

९. नागरिक सहभागिता प्रवर्द्धन रणनीति जारी: कानुनको सरलीकरण गर्ने, सबै ऐन कानुन स्थानीय भाषामा प्रकाशन गर्ने,  Implementing Right to Reject (No Vote) and Right to Recall options  र रिपोर्ट कार्ड मार्फत बार्षिक रूपमा प्रतिज्ञा पुरा गरे नगरेको जानकारी सार्वजनिक गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?