News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा प्रतिवेदनमा राजस्व संकलन र विविध प्राप्तिको संशोधित अनुमान १२ खर्ब ९८ अर्ब रुपैयाँमा झारिएको बताएको छ।
- सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर आम्दानीको लक्ष्य राखेकोमा पुस मसान्तसम्म कर राजस्व ५ खर्ब १६ अर्ब मात्र उठेको छ।
- आवको बाँकी अवधिमा निर्वाचनले आर्थिक क्रियाकलाप बढाउने र त्यसले राजस्व संकलन बढाउने अर्थ मन्त्रालयले अपेक्षा गरेको छ।
२७ माघ, काठमाडौं । कर राजस्व, गैरकर र विविध प्राप्तिबाट हुने सरकारको आम्दानीले लक्ष्य नभेट्ने प्रक्षेपण गरिएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार राजस्व संकलन र विविध प्राप्तिको संशोधित अनुमान १२ खर्ब ९८ अर्ब रुपैयाँमा झारिएको छ ।
यसअघि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर आम्दानीको लक्ष्य राखेको थियो । जसमा कर राजस्व १३ खर्ब २५ अर्ब उठ्ने अनुमान थियो । पुस मसान्तसम्म ५ खर्ब १६ अर्बमात्र कर राजस्व उठेको छ ।
बाँकी ६ महिनामा ६ खर्ब ५० अर्ब कर राजस्व उठ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । गैरकर राजस्व १ खर्ब २७ अर्ब बराबर मात्र उठ्ने अनुमान अर्थको छ ।
आवको बाँकी अवधिमा निर्वाचन हुनेछ । यसले निर्वाचन लक्षित खर्च र आर्थिक क्रियाकलाप बढाउने र त्यसले राजस्व संकलन बढाउने अपेक्षा अर्थको छ ।
वैदेशिक व्यापारमा आएको सुधारले आयातबाट हुने राजस्व संकलन लक्ष्य अनुसार हुने समेत अर्थले बताएको छ । १५ जेठमा आगामी आवको बजेट आउने भएकाले बजेट लक्षित आर्थिक गतिविधिले समेत राजस्व बढाउने अर्थको विश्लेषण छ ।
प्रतिक्रिया 4