२७ माघ, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको सहकार्यलाई दिगो, दीर्घकालीन र पारस्परिक रूपमा लाभदायक बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार मन्त्री शर्मासँग कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भेटवार्तामा उनले आजको विश्व परिवेशमा एक्लै अघि बढेर लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गरे ।
त्यसका लागि आपसी सहकार्य अपरिहार्य रहेको मन्त्री शर्माको भनाइ छ । उनले निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन भएको पनि बताए ।
‘आजको संसारमा, यदि हामी सँगै अघि बढेनौँ भने, एक्लै हिँडेर धेरै टाढा पुग्न सकिँदैन । निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन हो । हामीले यसलाई सही रूपमा अघि बढ्न दिएनौँ भने, देश विकास गर्न सकिँदैन । हामीले गर्ने प्रत्येक गतिविधि दिगो र बलियो आधारमा टेकेर अघि बढ्नुपर्छ, ताकिपछि यसले समस्या नल्याओस्,’ मन्त्री शर्माले भनेका छन् ।
मन्त्री शर्माले कतारी निजि क्षेत्रका प्रतिनिधिहरुलाई नेपालमा लगानीको लागि पनि आग्रह पनि गरे । कतारको विकास अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गर्दै दुवै देशका लागि लाभदायक र दीर्घकालीन सहकार्यका क्षेत्र पहिचान गरी संयुक्त रूपमा लगानी गर्न सकिने उनले बताए ।
‘हामीसँग एक पटक बनाएको संरचना भत्काएर फेरि नयाँ बनाउने विलासिता छैन । हामी कतारको विकास अनुभवबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । साथै अब, कुन–कुन क्षेत्रहरूमा सहकार्य गर्न सकिन्छ भनेर खोजौँ, त्यस्ता क्षेत्रहरू खोजौँ, जुन पारस्परिक रूपमा लाभदायक र दीर्घकालीन हुन्,’ उनले भनेका छन्, ‘ती क्षेत्रहरू जनशक्ति र स्रोत दुवैको हिसाबले दिगो हुनुपर्छ र दुवै पक्षका उद्देश्य पूरा गर्न सक्ने खालका हुनुपर्छ । हामी यस्ता दिगो क्षेत्रहरू अवश्य पहिचान गरेर ती क्षेत्रमासँगै अघि बढ्न सक्छौँ ।’
प्रतिक्रिया 4