२८ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म २ हजार ५२५ वटा उजुरी दर्ता भएको छ । त्यसमध्ये ८१२ वटा उजुरी फर्छ्यौट भइसकेको कार्यालयका उपसचिव प्रकाश पोखरेलले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा क्षेत्रीय कार्यालय बर्दिबासले जनकपुरधाममा आयोजना गरेको समारोहमा प्रस्तुत गरिएको तथ्यांकमा चालु आवमा परेकामध्ये १ हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका छन् ।
उपसचिव पोखरेलका अनुसार दर्ता भएका उजुरीमध्ये ७२.६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन् ।
जिल्लागत रूपमा सबैभन्दा बढी धनुषाको ७८० वटा दर्ता भएका छन् । त्यसपछि क्रमश: महोत्तरीबाट ५१४, सिरहाबाट ४८१, सर्लाहीबाट ३९७ र सबैभन्दा कम सोलुखुम्बु जिल्लाबाट ३९ वटा उजुरी दर्ता भएका छन् ।
आयोगमा दर्ता भएका उजुरीहरू स्क्रिनिङ, प्रारम्भिक तथा विस्तृत छानबिनमार्फत तामेली गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउने गरिएको उपसचिव पोखरेलले बताए ।
चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ६०५ उजुरी तामेली गरिएको, १० सुझावसहित तामेली, ७९ उजुरी आवश्यक कारबाहीका लागि लेखी पठाइएको र ११८ उजुरी एकीकरण गरिएको आयोगले जनाएको छ ।
कार्यालयका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रण गर्न आयोग सदाचार, निष्पक्षता र निर्भीकता कायम गर्न प्रतिबद्ध रहेको बताए ।
बर्दिबास क्षेत्रीय कार्यालय अन्तर्गत मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु तथा बागमती प्रदेशका सिन्धुली र रामेछाप जिल्लाहरू पर्दछन् ।
प्रतिक्रिया 4