२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागि सुरक्षा चुनौती बढाएको जिकिर गरे ।
नेपाली कांग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहेका रोकायले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेबारे आम नागरिकमा चासो र चिन्ता बढिरहेको बताए ।
उनका अनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न सुरक्षा चुनौतीका घटनाहरू सार्वजनिक भइरहेका छन् । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण भएको घटना गम्भिर भएको उनको भनाइ छ ।
‘माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रुपमा तस्करी गरी ल्याइएको समान बरामद गर्न पुगेको सशस्त्र प्रहरीमाथि नै आक्रमण भएको छ । आक्रमणबाट प्रहरीको सवारीसाधन तोडफोड हुनुको साथै व्यापारिक समूहको कुटपिटबाट ३ जना प्रहरी घाइते भएका छन् । उक्त आक्रमण कानुनी शासनमाथि गम्भीर चुनौती हो,’ उनले भने ।
प्रहरीमाथि भएको आक्रमण कानुनी शासनमाथिको गम्भीर चुनौतीका रूपमा देखा परेको उनको भनाइ छ ।
कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आए सर्वसाधारण नागरिकको सुरक्षा झन् कमजोर हुने खतरा बढ्ने उनको भनाइ छ ।
‘सुरक्षाकर्मी माथी नै आक्रमण हुनु सामान्य घटना होइन, कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आयो भने सर्वसाधारण नागरिक कति सुरक्षित होलान् ? यसतर्फ गम्भिर बन्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4