News Summary
Generated by OK AI. Editorially reviewed.- हारुकी मुराकामीले लेख्न बस्दा कुनै योजना नबनाई अनौठा कुराहरू आफैँ घट्ने बताएका छन् ।
- मुराकामीले आफ्नो सिर्जनात्मक प्रक्रियालाई संसारहरू बीचको यात्रा र वृत्तान्त सुनाउने क्षमता भनेका छन् ।
- उनले नयाँ उपन्यास अस्पताल बसाइपछि लेखेको र त्यो उपन्यास गर्मीयाममा जापानमा प्रकाशित हुने बताए ।
जब हारुकी मुराकामी लेख्न बस्छन्, उनलाई के हुन लागेको छ भन्ने केही थाहा हुँदैन ।
४० बढी पुस्तकहरू लेखिसकेका र दर्जनौँ भाषाहरूमा करोडौँ प्रतिहरू बिक्री गरिसकेका विश्वव्यापी साहित्यिक आइकनका लागि यो एक आश्चर्यजनक स्वीकारोक्ति जस्तो लाग्न सक्छ । तर, आफ्नो करियरको झण्डै आधा शताब्दी बितिसक्दा पनि मुराकामीको सिर्जनात्मक प्रक्रिया उनका लागि रहस्य नै छ ।
‘मसँग कुनै योजना हुँदैन । म मात्र लेखिरहेको हुन्छु । लेख्दालेख्दै अनौठा कुराहरू स्वाभाविक रूपमा आफैँ घट्छन्,’ डिसेम्बरमा न्युयोर्कमा भएको एक अन्तर्वार्तामा मुराकामीले भने ।
‘हरेक पटक जब म आख्यान लेख्छु, म अर्को संसारमा जान्छु । सायद तपाईं त्यसलाई अवचेतन भन्न सक्नुहुन्छ । त्यो संसारमा जे पनि हुन सक्छ । म त्यहाँ धेरै कुराहरू देख्छु, त्यसपछि म यो वास्तविक संसारमा फर्कन्छु र त्यसलाई लेख्छु’
मुराकामी आफूलाई गद्यका ठूला शैलीकार वा प्रतिभाशाली कथावाचक मान्दैनन् । उनको विचारमा उनको एउटै अद्वितीय सीप भनेको संसारहरू बीचको यात्रा गर्ने र त्यहाँको वृत्तान्त सुनाउने क्षमता हो ।
‘मलाई लाग्दैन कि म ठ्याक्कै एक कलाकार हुँ । मलाई लाग्छ म एक साधारण मान्छे हुँ’ उनले भने, ‘म कुनै जीनियस होइन । म त्यति धेरै बुद्धिमान् पनि छैन । तर म त्यो संसारमा जान सक्छु ।’
मुराकामी सार्वजनिक उपस्थिति मन पराउँदैनन् । आफ्नो बारेमा वा आफ्नो कामको अर्थको बारेमा बोल्न रुचाउँदैनन् । उनी टेलिभिजनमा जान जोगिन्छन् । तर डिसेम्बरमा उनले न्युयोर्कमा दुईवटा सार्वजनिक भाषणहरू दिएका थिए ।
‘म सामाजिकीकरणमा राम्रो छैन । त्यसैले मलाई पार्टीहरूमा जान वा भाषण दिन मन पर्दैन । तर कहिलेकाहीँ मैले त्यो गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘बाँकी वर्ष म घरमै हुन्छु । काम मात्र गरिरहेको हुन्छु । म एक प्रकारको वर्कहोलिक हुँ ।’
टाउन हलमा भएको कार्यक्रममा उनले जापानी साहित्यको विश्वव्यापीकरणको बारेमा बोलेका थिए । त्यसक्रममा उनले ५० वर्षभन्दा लामो समयदेखि साथ दिइरहेकी आफ्नी पत्नीलाई धन्यवाद दिए । मुराकामीका अनुसार उनको पहिलो पाठक र सबैभन्दा कठोर सम्पादक उनकी पत्नी हुन् ।
त्यस्तै उनले दशकौँ अघिको अमेरिकामा भएको पहिलो ‘बुक साइनिङ’ कार्यक्रममा सम्झे । त्यसबेला थोरै मात्र मान्छेहरू आएका थिए । अहिले त्यस्तो हुनु असम्भव छ ।
मुराकामीका नयाँ उपन्यासहरू मध्यरातमा रिलिज गरिन्छन् । फ्यानहरूले उनका उपन्यासमा उल्लेख गरिएका संगीतका प्लेलिस्टहरू र खानाका रेसिपीहरूका कुकबुकहरू समेत बनाएका छन् । मुराकामीले फ्रान्ज काफ्का प्राइज र जेरुसेलम प्राइज जस्ता ठूला पुरस्कारहरू जितेका छन् । नोबेल पुरस्कारका लागि समेत उनको सधैँ चर्चामा हुनेगर्छ ।
७७ वर्षको उमेरमा हिँडिरहेका यी लेखकका प्रेस गइसकेका केही नयाँ कीर्तिहरू अझै आउन बाँकी नै छ । त्यति हुँदा उनले भर्खरै एउटा नयाँ उपन्यास पूरा गरेका छन् । जुन सुरुमा गर्मीयाममा जापानमा प्रकाशित हुनेछ ।
उक्त उपन्यास उनले एक महिनाको अस्पताल बसाइ र ४० पाउण्ड तौल घटाएको गम्भीर बिरामीबाट निको भएपछि लेखेका हुन् ।
‘त्यो एक प्रकारको पुनर्जन्म हो’ उनले लेख्नुलाई भने ।
उपन्यासमा ‘काहो’ नाम गरेकी युवतीको दृष्टिकोणबाट कथा लेखिएको बताइएको छ । जो एउटा कलाकार र बाल पुस्तक चित्रकार हुन्छिन् ।
मुराकामीको कथा प्रायः सामान्य परिवेशबाट सुरु हुन्छ । त्यसपछि सपना जस्तो समानान्तर वास्तविकतामा प्रवेश गर्छ । तर, उनी लेखक बन्नै जन्मेका थिएनन् । कोबे र ओसाकाको छेउछाउमा दुई शिक्षकका एक्लो सन्तानका रूपमा हुर्केका उनलाई संगीतकार बन्न मन थियो । उनले आफ्ना आमाबुबाले जापानी साहित्य पढाउने भएकोले सुरुमा जापानी साहित्य पढ्न मन पराउँदैनथे । बरू उनले होमिङ्ग्वे र दोस्तोस्की जस्ता लेखकहरू पढे ।
आफ्नो २० को दशकमा उनले ‘पिटर क्याट’ नामको ज्याज क्लब चलाए । एक दिन बेसबल खेल हेर्दै गर्दा उनलाई अचानक उपन्यास लेख्ने इच्छा जाग्यो । सुरुमा लेख्न गाह्रो भएपछि उनले पहिले अङ्ग्रेजीमा लेखेर त्यसलाई जापानीमा अनुवाद गर्ने प्रयास गरे । परिणाममा उनको सरल र स्पष्ट शैली विकास भयो । त्यसरी लेख्दै जाँदा ‘हिल द विन्ड सिङ’ उनको पहिलो उपन्यासका रूपमा सन् १९७९ मा प्रकाशित भयो।
अहिले मुराकामी आफ्नो पुरानै दिनचर्यामा छन् । चाँडै उठेर लेख्छन् । भाँडा माँझ्छन् । सामान्य घरायसी काम गर्छन् ।
‘मलाई लाग्छ म अझै धेरै गर्न सक्छु, किनकि आख्यान लेख्नु धेरै अद्भुत कुरा हो । यो आफैँलाई खोज्नु जस्तै हो । म वृद्ध भएता पनि अझै खोज्नु पर्ने ठाउँ बाँकी नै छ,’ उनी भन्छन् ।
न्यू योर्क टाइम्सबाट
प्रतिक्रिया 4