झापामा नेकपा (एमाले)ले पैसा बाँड्ने क्रममा प्रहरीको छापा परेपछि दुई समूहबीच गोली हानाहान भएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
तर, हाम्रो तथ्य जाँचले उक्त भाइरल भिडियो नेपालको नभई ग्रीसको भएको पुष्टि गरेको छ।
के हो दाबी ?

७३ हजार फलोअर भएका दीपक (Deepak) नामक फेसबुक प्रयोगकर्ताले बुधबार (फेब्रुअरी ११) बिहान ८ : १५ बजे आफ्नो फेसबुक पेजमा एउटा भिडियो राखे। ‘झापामा चल्यो गोली’ शीर्षकसहित उक्त फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा लेखिएको छ, ‘झापामा गोली हानाहान, झापा बन्यो रणमैदान’
१८ सेकेन्डको उक्त भिडियोको ९ सेकेन्डसम्म प्रहरी र केही मानिसहरूबीच गोली हानाहान भएको दृश्य देखाइएको छ। ९ सेकेन्डपछि भने एक पुरुषले ‘झापामा एमालेले पैसा बाँड्ने क्रममा पुलिसको छापा परिसकेपछि दुई समूहबीच गोली हानाहान भएको छ साथीहरू’ भनेका छन्।
हामीले तथ्य जाँच गर्दैगर्दा यो पोस्ट ३५ हजार बढी रियाक्सन, १ हजार १ सय कमेन्ट र ३ हजारभन्दा बढी पटक शेयर गरिएको छ। साथै, उक्त भिडियो १४ लाखभन्दा बढी पटक हेरिएको छ। हेर्नुस् स्क्रिनसट-
भिडियोको स्क्रिन रेकर्ड हेर्न यहाँ क्लिक गर्नुस्। भिडियोको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
हामीले तथ्य जाँच गर्ने क्रममा उक्त भिडियो अपलोड गर्ने फेसबुक पेज स्पेनबाट सञ्चालन भएका पाइयो। सन् २०१९ जुलाई ३१ मा panday7101 नाम राखेर खोलिएको उक्त फेसबुक पेजको सन् २०२५ डिसेम्बर २३ मा नाम परिवर्तन गरेर दीपक (Deepak) बनाइएको पेज ट्रान्सपरेन्सीले देखाउँछ ।
हेर्नुहोस्, स्क्रिनसट :

हामीले थप खोज्ने क्रममा झापामा एमालेले पैसा बाँडेको र प्रहरीले गोली चलाएको भन्ने समाचार कुनै पनि विश्वसनीय मिडियामा फेला पार्न सकेनौँ।
त्यसपछि हामीले यो भिडियोलाई नियालेर हेर्यौँ। भिडियोमा फक्स न्यूजको लोगो देखिन्छ । फक्स न्यूज अमेरिकी न्युज च्यानल हो ।
हेर्नुहोस् स्क्रिनसट :
हामीले भाइरल भिडियोबाट स्क्रिनसट लिएर गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। खोज्ने क्रममा फक्स न्यूजले आफ्नो आधिकारिक फेसबुक पेजमा सन् २०२५ डिसेम्बर ७ मा बिहान ७ः५९ मा उक्त भिडियो अपलोड गरेको फेला पार्यौँ। त्यसमा भिडियो ग्रीसको एथेन्समा भएको एक सडक प्रदर्शनको भएको उल्लेख गरिएको छ ।
हेर्नुहोस्, उक्त भिडियोको स्क्रिनसट :

फक्स न्यूजको फेसबुक पेजमा अपलोड गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
दीपक नामका यही प्रयोगकर्ताले यसअघि पनि धनगढीमा महेश बस्नेतले कुटाइ खाएको भन्दै पुरानो भिडियो भ्रामक बनाउँदै राखेका थिए जसको तथ्य जाँच हामीले गरिसकेका छौँ। पढ्नुस्- धनगढीमा महेश बस्नेतले कुटाइ खाएको भन्दै भाइरल भिडियो भ्रामक
तथ्य जाँच
दावी : झापामा नेकपा (एमाले)ले पैसा बाँड्ने क्रममा प्रहरीको छापा परेपछि दुई समूहबीच गोली हानाहान भएको भन्दै भाइरल भिडियो ।
दावीकर्ता : दीपक नामक फेसबुक पेज ।
तथ्य : मिथ्या सूचना। झापामा नेकपा (एमाले)ले पैसा बाँड्ने क्रममा प्रहरीको छापा परेपछि दुई समूहबीच गोली हानाहान भएको छैन। यस्तो दावी गर्दै भाइरल बनाइएको भिडियो झापाको नभई ग्रीसको भएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ।
अनलाइनखबर र nepalfactcheck.orgको सहकार्य
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।
(अनलाइनखबर र नेपाल फ्याक्ट चेकको सहकार्य)
प्रतिक्रिया 4