कलाकार राजेश हमालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनाव चिह्न ताराको प्रचार गरेको जस्तो देखिने गरी फोटो राख्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा भोट मागेका पोस्टहरु सामाजिक सञ्जालमा फैलिएको छ। तर, हाम्रो तथ्य जाँचले भने हमालले लगाएको निलो रङ्गको क्यापमा रातो तारा सम्पादन गरिएको पुष्टि भएको छ।
के हो दाबी ?
प्रसाद रोहिणी गौतम नामक फेसबुक प्रयोगकर्ताले मंगलबार (फेब्रुअरी ३ तारिख) फेसबुकमा गरेको पोस्टमा कलाकार राजेश हमालले रातो तारा अङ्कित निलो रङ्गको क्याप लगाएको देखिन्छ। फोटोसहित उनले फेसबुकमा राजेश हमालले प्रचण्डको पक्षमा भोट मागेको दावी गरेका छन्।
१७ हजार फलोअर्स भएको गौतमको पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा १० हजार बढी लाइक, १८ सय कमेन्ट र ९ सय ५६ पटक शेयर गरिएको छ ।
हेर्नुहोस्, गौतमले फेसबुकमा राखेको सामाग्रीको स्क्रिन सट :

उक्त सामाग्रीको लिङ्क र अर्काइभ लिङ्क ।
त्यसैगरी ‘नेपाल न्युज’ नामक फेसबुक पेजले पनि राजेश हमालको सोही फोटो राख्दै नेकपा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मत मागेको दाबी गरेको छ। ‘नेपाल न्युज’ले फेसबुकमा राखेको उक्त पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा दुई हजार दुई सय लाइक, तीन सय ६० कमेन्ट र दुई सय ७७ पटक शेयर गरिरहेको छ ।
हेर्नुहोस्, नेपाल न्युजले फेसबुकमा राखेको पोस्टको स्क्रिन सट :

नेपाल न्युजले फेसबुकमा राखेको पोस्टको लिङ्क र अर्काइभ लिङ्क ।
के हो तथ्य ?
हामीले तथ्य जाँच गर्ने क्रममा कलाकार राजेश हमालले प्रचण्डको पक्षमा कुनै पनि प्रकारको सार्वजनिक अभिव्यक्ति र सन्देश व्यक्त गरेको फेला पार्न सकेनौँ । तर, हमालले लगाएको रातो तारा अङ्कित निलो रङ्गको क्याप टोपी भने सम्पादन गरिएको पायौँ ।
राजेश हमालको वास्तविक फोटो र सम्पादित फोटो :

राजेश हमालको वास्तविक फोटो उनले आफ्नो फेसबुकमा जापान भ्रमणको क्रममा २०२५ को नोभेम्बर १३ मा अपलोड गरेका हुन्। वास्तविक फोटो यहाँ क्लिक गरी हेर्न सकिन्छ।
हाल भाइरल भएको फोटो र वास्तविक फोटोको तुलना गर्दा क्यापमात्र सम्पादन गरी राखिएको प्रष्ट हुन्छ।
हामीले नेपाल न्युज नामको फेसबुक पेजको बारेमा पनि खोज्यौँ। यो पेजले अनलाइन न्युजपोर्टल नेपालन्युज डट कमको लिङ्क राखेको देखियो।
हेर्नुस् स्क्रिनसट-

तर यो पेजको ट्रान्सपरेन्सी हेर्दा भने अक्टोबर १९, २०२२ मा नेकपा माओवादी केन्द्र जिताउ अभियान नामबाट सुरु भएको पेजलाई नोभेम्बर १८, २०२४ मा मात्र नेपाल न्युज नाममा परिवर्तन गरेको देखिएको र सामाजिक सञ्जालका प्रयोगकर्तालाई स्थापित अनलाइन न्युजपोर्टलको भ्रम दिन खोजेको देखियो।
यो पेज बेलायतबाट सञ्चालनमा रहेको पनि देखियो।

तथ्य जाँच
दावी : कलाकार राजेश हमालले प्रचण्डको पक्षमा मत माग्दै तारा चुनाव चिह्नको प्रचार गरेको।
दावीकर्ता : प्रसाद रोहिणी गौतम, नेपाल न्युज फेसबुक पेज।
तथ्य : भ्रामक सूचना। कलाकार राजेश हमालले लगाएको रातो तारा अङ्कित निलो रङ्गको क्याप उनको वास्तविक फोटोमा सम्पादन गरी थपिएको पुष्टि भएको छ। उनले कसैको पक्षमा सार्वजनिक रुपमा मत मागेको हामीले भेट्न सकेनौँ।
– अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्य
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्।, हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।
प्रतिक्रिया 4