+
+
Shares

आगामी फिल्म ‘प्रवासी जीवन’ बारे के भन्छन् राजेश हमाल ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ले प्रवासी नेपालीको संघर्ष र उज्वल भविष्यको कथा मर्मस्पर्शी रुपमा चित्रण गर्ने बताउनुभयो।
  • निर्देशक श्याम क्षेत्रीले फिल्मले प्रवासी नेपालीको मानसिक यातना र त्यसपछिको सुन्दर भविष्यलाई देखाएको उल्लेख गर्नुभयो।
  • फिल्म १५ फागुनदेखि प्रदर्शन हुने छ र यसमा राजेश हमाल, सरिता लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथालाई मर्मस्पर्शी रुपमा चित्रण गर्ने बताएका छन् । १५ फागुनदेखि प्रदर्शन हुने फिल्मको विषयमा जानकारी दिँदै उनले यसमा जोडिनुको कारण विषयवस्तु र त्यसले दिने सन्देश रहेको बताए ।

उनले भने, ‘म अमेरिका गएको समयमा यसका निर्देशक तथा अभिनेता श्यामजीसँग भेट भयो । उहाँको अभिनयप्रतिको लगावले गर्दा म अभिनय गर्न तयार भएँ । यसमा देखिएको विषयले कहीँ कतै प्रवासमा रहेका नेपालीको विषयलाई सम्बोधन गरेको छ ।’

उज्वल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने संघर्षसहितको प्रवासी जीवनको कथा बोकेको फिल्मलाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् ।

निर्देशकमध्येका क्षेत्रीले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई बेवास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’

मानसिक स्वास्थ्य समस्या र समाधानको विषयमा केन्द्रित भएर फिल्म तयार भएकाले प्रवासी जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने उनले बताए । फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एन्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै निर्देशक क्षेत्रीले अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ ।

‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ फिल्म निर्माण गरेका छायाँकार रविन आचार्यले यस फिल्मलाई निर्माण गरेका हुन् ।

‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ । यो प्रवासमा रहेका आफ्नो परिवारको बारेमा बुझ्न पनि हेर्नु पर्ने एउटा फिल्म बनेको छ’, निर्माता आचार्यले भने ।

फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्वसङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् ।

प्रमोद खरेल र प्रताप दासले स्वर दिएका छन् । उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?