+
+
Shares

कांग्रेस बदलिएको नयाँ हो, ठूलो पार्टी बन्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १९:५८

२९ माघ,बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपाली कांग्रेस मात्रै बदलिएर नयाँ नेतृत्वसहित आएको सांच्चै नयाँ दल भएको बताएका छन् । पार्टीले भैरहवामा गरेको चुनावी कार्यक्रममा शर्माले पार्टी बदलिएर आएकोले फागुन २१ गते हुने निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्ने दाबी गरे ।

देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त सूचना बमोजिम कांग्रेस पहिलो पार्टी बन्ने उनको भनाइ छ ।

‘कांग्रेस फेरि ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको छ’, शर्माले भने, ‘पुरानाका दिन गए भन्न मिल्दैन,यो धर्तीमा सबैभन्दा पूरानो धर्ती नै हो र नयाँ भनेको जन्ममितिले हुंदैन, नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको कांग्रेस नै हो ।’

जेन जी आन्दोलनमा भएको मानवीय र राष्ट्रिय सम्पदा तथा निजी सम्पत्तिको क्षतिले आम नेपालीको मन जलेको, मन भाँचिएको र विश्वास टुक्रिएको टिप्पणी गर्दै तर जेनजी विद्रोह सबै गलत र  भदौ २३ अघि सबै ठीक थियो भन्ने भाष्य सत्य नभएको शर्माले स्पष्ट पारे ।

जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको भन्दै उनले सोही मर्म र भावना अनुसार कांग्रेसले प्रतिकूल अवस्थामा समेत विशेष महाधिवेशन गरेर नयां नेतृत्व चयन गरेर कांग्रेसभित्र मात्र नभई अन्य दलमा समेत आशा र भरोसा दिलाएको बताए ।

उनले अहिले विशेष महाधिवेशन ठीक वा वेठीक भन्ने वहस गर्ने बेला नभएको उल्लेख गर्दै सिंगो कांग्रेस एकजुट भएर चुनावमा वहुमत ल्याउन खटिनुपर्ने निर्देशन दिए । ‘फागुनको चुनावपछि नियमित महाधिवेशन हुन्छ, त्यसपछि प्रदेश र स्थानीय तहको चुनाव हुन्छ ती चुनावमा उम्मेदवार हुन प्रारम्भिक चुनाव हुन्छ त्यसैले उम्मेदवार बन्न अब पार्टी केन्द्रतिर हेर्ने होइन, आफ्नो कार्यक्षेत्रमा इमान्दार भएर खटिनुस्’–उपसभापति शर्माले भने–‘अहिलेको चुनावमा वहुमत ल्याउन सकेनौं भने यसपछिका चुनावमा पनि पार्टी कमजोर हुनसक्छ भन्ने कुरा नभुलौं ।’

कार्यक्रममा  पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसको बहुमत आउन जरुरी रहेको र त्यसका लागि काँग्रेसका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?