+
+
Shares

अनलाइनखबरको चुनाव विशेष डाटा पोर्टल सार्वजनिक, ३४०० बढी उम्मेदवारका विवरण

५०० भन्दा बढी  प्रमुख प्रतिस्पर्धा हुन सक्ने उम्मेदवारहरूका छुट्टाछुट्टै प्रोफाइल कथाहरू पनि पोर्टलमा समावेश छन् । यो प्रोफाइल पढेर उम्मेदवारको राजनीतिक जीवन, पेशागत पृष्ठभूमिदेखि सामाजिक–आर्थिक परिवेशहरू समेतको जानकारी प्राप्त गर्न सकिनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते ७:०२

२ फागुन, काठमाडौं । अनलाइनखबरडटकमले  ‘आम निर्वाचन-२०८२’ सम्बन्धी चुनाव विशेष डाटा पोर्टल  election.onlinekhabar.com सार्वजनिक गरेको छ ।

पोर्टलमा निर्वाचन शुरु भएदेखि अन्तिम मत परिणाम प्राप्त भएसम्मका सबै तथ्यांकहरू उपलब्ध हुनेछन् । डाटा पोर्टलमा मतदान भएपछि नतिजाको लाइभ अपडेट पनि हुनेछ ।

प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका ३४०० भन्दा बढी उम्मेदवार र मुख्य राजनीतिक दलका समानुपातिक उम्मेदवारहरूका विवरणहरू पोर्टलमा छन् ।

उम्मेदवारका प्रोफाइल, मतदाता र अघिल्ला चुनावको नतिजा

उम्मेदवारहरूको सूचीमा राजनीतिक दल, चुनाव चिह्न, उमेर सहितको जानकारी समावेश छ । ‘डाटा पोर्टल’ मा यसअघि चुनावी प्रतिस्पर्धामा भाग लिएर सिट जितेका र केही नयाँ खुलेका राजनीतिक दलहरूका प्रोफाइल, चुनाव चिह्न र अघिल्लो चुनावमा प्राप्त गरेको मत लगायतका विवरण पनि समावेश छन् ।

यसैगरी निर्वाचन क्षेत्रअनुसार मतदान केन्द्र, कुल मतदाता, महिला-पुरुष मतदाता र उमेर समूहअनुसारका मतदाता कति छन् भन्ने विशेष विवरण पनि छ । जसका कारण कस्ता उमेर समूहका मतदाताले कुन निर्वाचन क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने विश्लेषणका लागि मद्दत गर्ने अपेक्षा छ ।

२०७२ सालमा संविधान जारी भएपछि तय भएका चुनाव क्षेत्रहरूमा तेस्रोपटक चुनाव हुन लागेको हो । त्यसैले २०७४ र २०७९ का चुनावी परिणामहरू पनि यो पोर्टलमा उपलब्ध छन् । जसका कारण तीनवटा चुनावको प्रवृत्ति र जित-हारको अवस्था बुझ्न सकिन्छ ।

६२ हटसिटदेखि नेताको टाइमलाइनसम्म

५०० भन्दा बढी  प्रमुख प्रतिस्पर्धा हुन सक्ने उम्मेदवारहरूका छुट्टाछुट्टै प्रोफाइल कथाहरू पनि पोर्टलमा समावेश छन् । यो प्रोफाइल पढेर उम्मेदवारको राजनीतिक जीवन, पेशागत पृष्ठभूमिदेखि सामाजिक–आर्थिक परिवेशहरू समेतको जानकारी प्राप्त गर्न सकिनेछ । उम्मेदवारहरूको शिक्षा, उमेरदेखि अनुभवसम्मका विवरणहरू पोर्टलमा छन् ।

पोर्टलमा राजनीतिक नेतृत्व, युवा उमेर वा अन्य विभिन्न कारणले आम मानिसहरूले चासोमा राखेका ६२ वटा क्षेत्रहरूलाई हटसिटको रुपमा राखिएको छ । त्यसबाहेक ७० भन्दा बढी चर्चित अनुहारहरूलाई पनि छुट्टै सेगमेन्टमा राखिएको छ ।

५० बढी नेताहरूको राजनीतिक जीवनको टाइमलाइन सहित उनीहरूको राजनीतिक डीएनए पनि विश्लेषण गरिएको छ । जसका कारण कुनै चर्चित उम्मेदवार कस्तो छ भन्न बुझ्न सकिन्छ ।

राजनीतिक दलको डीएनए

प्रत्येक निर्वाचन क्षेत्रको राजनीतिक डीएनए पनि समावेश छ । यसले निर्वाचन क्षेत्रको अवस्था बुझ्न सहयोग पुग्ने अनलाइनखबरले जनाएको छ ।

उम्मेदवारहरूका तस्बिर र प्रत्येक  निर्वाचन क्षेत्रसँगका गतिविधि समेटिएका अनलाइनखबरमा प्रकाशित समाचारहरू पनि यो पोर्टलमा पढ्न सकिनेछ ।  राजनीतिक दलहरूको स्थापनादेखि अहिलेसम्मका इतिहाससँग सम्बन्धी कथाहरू पनि पोर्टलमा पढ्न सकिन्छ ।

पठनमैत्री पोर्टल

पाठकहरूलाई पठनमैत्री बनाउनका लागि उम्मेदवारका अनुकूलता र प्रतिकूलताका बुँदाहरू पनि समावेश छन् ।

सर्चबारमा गएर जिल्ला, निर्वाचन क्षेत्रका उम्मेदवारहरू छुट्याएर हेर्न पनि सकिन्छ ।

‘अघिल्ला प्रतिनिधिसभा चुनाव र स्थानीय चुनावमा पनि हामीले डाटा पोर्टल बनाएका थियौं, पहिलेको भन्दा यसपालि अझै विशेष र विस्तृत विवरणसहितको बनाएका छौं’ अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले भने, ‘युजरमैत्री बनाउनका लागि प्रत्येक सेगमेन्ट क्लिकएबल बनाइएको छ ।’

पोर्टलका तथ्यांकको स्रोत निर्वाचन आयोग, संसद् सचिवालय र संसद् सचिवालयद्वारा प्रकाशित आधिकारिक दस्तावेजहरू रहेका छन् ।

पोर्टलमा रहने कमी–कमजोरीलाई पाठकहरूबाट प्राप्त सुझावका आधारमा सुधार गर्दै लगिने प्रधानसम्पादक बसन्त बस्नेतले बताए ।

कुनै निर्वाचन क्षेत्र र उम्मेदवारको विवरण, तस्बिर लगायत कुनै पनि तथ्यांकमा गल्ती भए हामी तुरुन्त सच्याउने छौं । त्यसका लागि election@onlinekhabar.com मा इमेल वा अनलाइनखबरको टेलिफोन नम्बर ०१-४७९०१७६  वा ०१-४७९६४८९ मा सिधै सम्पर्क गरी सुझाव दिन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?