+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा कार्यसम्पादन मूल्यांकन हिस्सा बढाउने तयारी

आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङका अनुसार आगामी आवका लागि हुने सिफारिसमा कार्यसम्पादनतर्फ बजेट हिस्सा बढाउने तयारीमा आयोग छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ फागुन ३ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन मूल्यांकन अनुदानको हिस्सा ५ देखि ७ प्रतिशतसम्म बढाउने तयारी गरेको छ।
  • आयोगले चालु आवको कार्यसम्पादन मूल्यांकनमा कुनै पनि प्रदेशले ५० प्रतिशत अंक पनि नपाएको र स्थानीय तथा प्रदेश सरकारहरूमा लापरबाही देखिएको जनाएको छ।
  • कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँची पाणिनि गाउँपालिका ८३.८४ अंकसहित देशभरि पहिलो स्थानमा रहेको छ भने मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर आएको छ।

३ फागुन, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वित्तीय समानीकरण अनुदान लिन सरकारलाई सिफारिस गर्दा कार्यसम्पादन मूल्यांकन बापत पाउने रकमको हिस्सा बढाउने तयारी गरेको छ ।

आयोगले २९ माघमा कार्यसम्पादन मूल्यांकन बापत स्थानीय र प्रदेश सरकारहरूले पाएको नतिजा सार्वजनिक गरेको छ । चालु आवको बजेट निर्माणका बेला कार्यसम्पादन मूल्यांकनका लागि कुल वित्तीय समानीकरण अनुदानको ४ प्रतिशत बजेट छुट्याएर बढी अंक ल्याउने प्रदेश तथा स्थानीय तहले बढी बजेट पाउने गरी बाँडफाँट गरिन्छ ।

आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङका अनुसार आगामी आवका लागि हुने सिफारिसमा कार्यसम्पादनतर्फ बजेट हिस्सा बढाउने तयारीमा आयोग छ ।

‘५, ६ या ७ प्रतिशतसम्म कार्यसम्पादन मूल्यांकनको हिस्सा पुर्‍याउनु पर्छ भन्नेमा केन्द्रित भएर छलफल गरिरहेका छौं,’ उनले भने, ‘अन्य सूचकमा असर नपर्ने गरी कार्यसम्पादन मूल्यांकन हिस्सा बढ्छ ।’

यसले स्थानीय र प्रदेशलाई कार्यसम्पादनमा अझ जिम्मेवार बनाउने अपेक्षा आयोगको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कार्यसम्पादन मूल्यांकनमा कुनै पनि प्रदेशले ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन् ।

यसबाट सरकारहरूले कार्यसम्पादनका बेला लापरबाही गरिरहेको देखिन्छ । यसलाई सच्याउन समेत कार्यसम्पादन तर्फको बजेट वृद्धि गर्नुपर्ने निष्कर्षमा आयोग पुगेको हो ।

नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा तीन आधारमा बजेट सिफारिस गरिन्छ । त्यसमा पहिलो, न्यूनतम अनुदान हो । दोस्रो, सूत्रमा आधारित अनुदान हो र तेस्रो, कार्यसम्पादनमा आधारित अनुदान हो ।

न्यूनतम अनुदान सिफारिस गर्दा चालु आवका लागि प्रदेशका हकमा कुल वित्तीय समानीकरण अनुदानको २५ प्रतिशत र स्थानीय तहका हकमा ३४.३५ प्रतिशत बजेट सिफारिस गरिएको छ ।

स्थानीय र प्रदेशलाई बजेट कार्यान्वयनमा जिम्मेवार बनाउन कार्यसम्पादन हिस्सा बढाउनुपर्ने सिफारिस भइरहेका छन् । संघीयता विज्ञ खिमलाल भट्टराई नेतृत्वको एक समितिले यस वर्ष सरकारलाई बुझाएको एक प्रतिवेदनमा प्रदेशसँग सहकार्य गरी स्थानीय तहमा जाने अनुदानमध्ये कार्यसम्पादनलाई कम्तीमा ५० प्रतिशतसम्म हिस्सा दिनुपर्ने सिफारिस गरिएको थियो ।

‘कार्यसम्पादन मूल्यांकनले विनियोजन, कार्यान्वयन र मूल्यांकन तीन वटै पक्षमा तल्लो सरकारहरूलाई सक्षम बनाउने लक्ष्य लिएको छ, तर एकै पटक हामी ठूलो हिस्सा कार्यसम्पादनलाई मात्र भने दिन सक्दैनौं,’ कार्यवाहक अध्यक्ष गुरुङ भन्छन् ।

तल्ला सरकारहरूमा कर्मचारी अभाव र नेतृत्वमा रहनेको दक्षता अभिवृद्धिको आवश्यकता रहेको भन्दै अब त्यसतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्ने देखिएको उनी बताउँछन् ।

‘स्थानीय तहका प्रमुख, उपप्रमुख कम्तीमा ५ वर्षका लागि निर्वाचित भएर आउँछन्, त्यसकारण उनीहरूलाई कम्तीमा १ महिना बराबर बजेट विनियोजन, खर्च र मूल्यांकन कसरी प्रभावकारी बनाउने भन्नेमा तालिम नै दिनुपर्ने आवश्यकता महसुस भएको छ,’ गुरुङले भने ।

त्यसो नगरेसम्म अहिले स्थानीय तह र प्रदेशमा कार्यसम्पादनमा देखिएका कमजोरी सुधार्न नसकिने आयोगको मूल्यांकन छ । नतिजाले समेत त्यस्तै संकेत गरेको छ ।

७ प्रदेशमध्ये आव २०८१/८२ को नतिजा अनुसार पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश छ । उसले ४५.७० अंक पाएको छ । दोस्रोमा कोशी छ । उसले ४४.२९ अंक पाएको छ । तेस्रो स्थानमा रहेको बागमतीले ४२.४६ अंक पाएको छ ।

त्यस्तै चौथो स्थानमा रहेको गण्डकीले ३७.९१ अंक पाएको छ भने सबैभन्दा कमजोर मधेस प्रदेशले २७.२८ अंकमात्र पाएको छ ।

आयोगले प्रदेशका हकमा कुल ११ सूचक आधार मानेर अंक दिने गर्छ । पहिलो सूचकमा २०८०/८१ को कुल लेखा परीक्षणबाट देखिएको बेरुजुको अवस्थालाई लिइएको छ । दोस्रो सूचक प्रदेशले स्थानीय तहलाई कानुन अनुसार ससर्त अनुदान दिए/नदिएको आधार मानिएको छ ।

तेस्रो सूचक २०८१/८२ मा सवारीसाधन करबापत बाँडफाँट गरिएको ४० प्रतिशत रकम प्रदेशले मासिक स्थानीय सञ्चित कोषमा दिए/नदिएकोलाई मानिएको छ ।

चौथो सूचकमा सोही आवमा विनियोजन गरिएको बजेट खर्चको अवस्थालाई लिइएको छ । पाँचौंमा सोहीे आवमा राजस्व परिचालन अवस्थालाई लिइएको छ ।

यसबाहेक स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान विवरण चैतसम्म दिए/नदिएको, आगामी आवको आयव्यवयको प्रक्षेपित विवरण पुस मसान्तसम्म अर्थ मन्त्रालयमा दिए/नदिएको, गत आवको बजेटको वार्षिक समीक्षा गरे/नगरेको, स्थानीय तहमा वायुको गुणस्तर, वन क्षेत्रले ढाकेको क्षेत्रफल वृद्धि प्रतिशत र अनलाइन पोर्टलमा सूचक समयमै राखे/नराखेको विषयलाई समेत मूल्यांकन सूचक मान्ने गरिन्छ ।

७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँची पाणिनि गाउँपालिका देशभरिकै अब्बल सावित भएको छ । उक्त गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा छ । ८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक गाउँपालिका छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।

त्यसैगरी आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।

यसैगरी २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकन सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।

यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ । कार्यसम्पादन मूल्यांकनमा मधेसका अधिकांश स्थानीय तहको अंक कमजोर आएको छ ।

धनुषा धनौजी गाउँपालिकाले ३१.८१ अंक पाएको छ । महोत्तरी सोनमा गाउँपालिकाले ३५ अंक पाएको छ । सर्लाही चन्द्रनगर गाउँपालिकाले ३५.१६ अंक पाएको आयोगले जनाएको छ ।

त्यस्तै रौतहट फतुवा विजयपुर नगरपालिकाले ३५.४१ अंक पाएको देखिन्छ । सोही जिल्लाको वृन्दावन नगरपालिकाले ३१.६९ अंक पाएको छ भने देवाही गोनाही नगरपालिकाले ३०.९१ अंक पाएको छ । पर्सा धोबिनी गाउँपालिकाले ३२.८८ अंक पाएको देखिन्छ ।

देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको छ । काठमाडौं महानगरले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो । सबैभन्दा अब्बल भने यस वर्ष मोरङ विराटनगर महानगरपालिका रहेको छ । विराटनगर ७८.११ अंक पाएर पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अंक पाएको छ । तेस्रो स्थानमा चितवन भरतपुर छ । भरतपुरले ६८.०४ अंक पाएको छ । चौथोमा रहेको पोखराले ५८.०४ अंक पाएको छ । पाँचौंमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । काठमाडौं छैटौं स्थानमा छ ।

देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल सबैभन्दा अगाडि देखिएको छ । उसको ६४.४४ अंक छ । सबैभन्दा कमजोर रहेको इटहरीले ३८.९६ अंकमात्र पाएको छ ।

दाङका दुई उपमहानगरमध्ये तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक पाएको तथ्यांक छ । धरान उपमहानगरले ४९.७६ अंक पाएको देखिन्छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?