+
+
Shares

आयोगले तोकेको समयसीमा भित्र ठुला दलले नै ल्याएनन् घोषणापत्र

हालसम्म कुन-कुन दलले ल्याए घोषणापत्र ?

यसअघि माघ २७ गते निर्वाचन आयोगले आइतबार (फागुन ३ गते) भित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १९:१९

३ फागुन, काठमाडौं । फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन बाँकी छन् । तीन साता भन्दा कम समय बाँकी रहँदा सबैजसो दलहरूले अझैसम्म पनि घोषणापत्र ल्याएका छैनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जस्ता ठुला दलले नै आइतबारसम्म घोषणा पत्र ल्याएका छैनन् । ती दलहरूले अझै केही दिनभित्र पनि घोषणा पत्र ल्याउने सम्भावना देखाएका छैनन् ।

हालसम्म नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय जनमोर्चालगायतका दलले भने घोषणापत्र ल्याइसकेका छन् ।

आइतबार मात्रै प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा), उज्यालो नेपाल पार्टी (उनेपा), नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले घोषणा पत्र सार्वजनिक गरेका छन् ।

यसअघि माघ २७ गते निर्वाचन आयोगले आइतबार (फागुन ३ गते) भित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको थियो । आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम निर्वाचनमा सहभागी हुने दल र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फका उम्मेदवारहरूलाई त्यस्तो निर्देशन गरेको थियो ।

तर, प्रमुख दलहरूले आयोगको सो निर्देशन नै उलंघन गरेका छन् । आयोगको निर्देशनबमोजिम दल र उम्मेदवारले घोषणापत्र बुझाउन भने थालेको आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले बताए । ‘दल तथा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्ने र आयोगमा बुझाउने क्रम चलिरहेको छ । आजसम्म झन्डै पाँच सय वटा (दल र उम्मेदवारका) जति घोषणापत्र आइसकेका छन्,’ उनले भने, ‘आयोगको निर्देशन र निर्वाचन आचारसंहिता पालन गर्न आयोगले निरन्तर निर्देशन दिने काम भइरहेको छ ।’

उनका अनुसार हालसम्म निर्वाचन आयोगमा २८ वटा दलले घोषणापत्र बुझाएका छन् । आयोगले सोमबार दलहरूसँग छलफल पनि बोलाएको छ । त्यहाँ पनि केही दलले घोषणापत्रसहित उपस्थित हुनसक्ने आयोगले जनाएको छ ।

‘आयोगले भोलि(फागुन ४) देखि फागुन १८ गतेसम्म सक्रिय प्रचारप्रसारको अवधि तोकेको छ । त्यसैले घोषणा पत्रमार्फत मुद्दा बोकेर जनतामा जाने वातावरण बनोस् भनेर त्यो निर्देशन जारी गरिएको थियो,’ सह प्रवक्ता जिसीले भने ।

हालसम्म घोषणापत्र सार्वजनिक नगरेका दलमध्ये कांग्रेसले फागुन ६ गते मधेश प्रदेशबाट सार्वजनिक गर्ने जनाएको छ । यसअघि आइतबारै काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्ने भनेको कांग्रेसले प्राविधिक कारण देखाएर पूर्व तयारी स्थगत गरेको थियो ।

एमालेले फागुन ७ गतेभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

रास्वपाले कर्णाली प्रदेशबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?